कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रपति भण्डारी पलाञ्चोक भगवतीमा

नगेन्द्र अधिकारी

काभ्रे — राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पाँचखाल ९ साठीघरमा रहेको पलाञ्चोक भगवती मन्दिर पुगेर दर्शन र पूजापाठ गरेकी छन् । बिहान १० बजेर २७ मिनेटमा मन्दिर प्रवेश गरेर उनले १५ मिनेट विशेष पूजा अर्चना गरेकी थिइन् । 

राष्ट्रपति भण्डारी पलाञ्चोक भगवतीमा

छोरी निशाकुसुमको साथमा आएकी उनलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, पनौतीका भीम न्यौपाने, बनेपाका लक्ष्मीनरसिं बादे, पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेल, पाँचखाल–९ का अध्यक्ष किरण श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । हेलिकोप्टरबाट नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा अवतरण गरेपछि स्कर्टिङमा मन्दिर पुगेकी हुन् ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण दर्शनको लागि आएकी थिइनन् । मुलुक संघीय गणतन्त्रात्मक व्यस्थामा गएपछि राष्ट्रप्रमुख आएको यो चौथो पटक हो । २०३१ जेठ र २०३२ मंसिरमा तत्कालीन राजा वीरेन्द्रले मन्दिर दर्शन गरेर पूजापाठ गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र २०५८ भदौमा मन्दिर दर्शनका लागि आएका थिए । २०७१ कात्तिकमा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले मन्दिर दर्शन गरेको समितिले जनाएको छ ।

वि. सं ४२५ मा राजा मानदेवको पालामा बनेको मन्दिर २०७२ सालको भूकम्पमा क्षति भएपछि २०७३ पुसमा पुरातत्व विभागमार्फत जीर्णोदार गरिएको मन्दिर क्षेत्र निर्माण तथा व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका वडाअध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोटमा रहेको शिला तिब्बततर्फ लाने क्रममा आफै पलाञ्चोकमा आएर रहेको र भरियालाई राति सपनामा मेरो स्थान त्यही हो भनेपछि सो स्थानमा शिला स्थापना भएको किवंदन्ती छ । पछि सोही शिलाका आधारमा मूर्तिको रुप दिएर मन्दिर स्थापना भएको थियो । अन्त बनाउन नसकोस् भनेर कलाकारको दाहिने हात काटिएको किवंदन्ती रहेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार, सोही कलाकारले शोभा, नाला र नक्साल भगवतीको मूर्ती बनाएका थिए । मन्दिर दर्शन गरे मनोकामना पूरा हुने, सुख शान्ति हुने धार्मिक विश्वास छ ।


प्रकाशित : आश्विन २७, २०७८ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?