परदेशी फर्केपछि गाउँ धपक्कै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परदेशी फर्केपछि गाउँ धपक्कै

धेरै वर्षपछि घरमा दसैं मान्ने मेसो मिलाएकाहरु बस्तीमा पिङ हाल्दै, सरसफाइसहितका सामूहिक काममा जुट्दै
आश गुरुङ

लमजुङ — जागिरको सिलसिलामा टाढा रहेकाहरू गाउँघर फर्केर आएपछि लमजुङका गाउँहरूमा दसैंको रौनक छ । भारतीय सेनाका कार्यरत क्व्होलासोंथर गाउँपालिका–४ भुजुङ कमागाउँका विशाल गुरुङ दुई साताअघि भारतको कश्मीरमा थिए । 

दसैं मान्नकै लागि यसपटक बिदा मिलाएर उनी घर आएका छन् । ‘गाउँ आएर साथीसंगीसँग रमाइलो गरिएको छ । पिङ राख्ने, नाचगान गर्ने, भोजभतेरमा सहभागी भएको छु,’ उनले भने, ‘वर्ष दिनमा एकपल्ट आउने चाडमा गाउँ आउनै पर्‍यो । अर्को साल के हुन्छ थाहा छैन ।’

उनका अनुसार गाउँमा रोटे पिङ, लिंगे पिङ थापिएको छ । गाउँघर र बाटोघाटो सरसफाइ गरिएको छ । कमेरोले लिपपोत गरिएको छ ।

दोर्दी गाउँपालिका ६, ताँजे घर भई भारतीय सेनामा कार्यरत सुजन घले दसैंमा गाउँघर नै रमाइलो हुने गरेको बताउँछन् । उनी मंगलबारमात्रै गाउँ आएका छन् । सोमबार बेंसीसहरमा आफ्ना क्याम्पसका साथीसंगी भेटेर सुखदुःख साटासाट गरेको उनले बताए ।

‘दसैंमा परदेशभन्दा गाउँ नै रमाइलो हुन्छ । सकेसम्म पल्टनबाट सबै गाउँ आउन खोज्छन् । धेरैको बिदा मिल्दैन । हामीलाई भने मिल्यो । दसैंमा गाउँ आउन पाएकामा निकै खुसी छु,’ उनले भने ।

माइलो छोरा धनबहादुर तामाङ अबुधाबीबाट दसैं मनाउन गाउँ फर्केपछि दोर्दी गाउँपालिका–८, हिलेका उदबहादुर तामाङ निकै खुसी छन् । नेपाली सेनामा कार्यरत जेठो छोरा करण तामाङ पनि भाइसँगै दसैं मनाउन गाउँ आएको उनले बताए ।

‘छोरो ३ वर्षपछि दसैं मनाउन गाउँ फर्किंदा निकै खुसी लागेको छ । अब सबै परिवार मिले दसैं मनाइन्छ,’ उनले भने, ‘परदेश भएका छोराहरू गाउँ फर्किए मात्रै चाडबाड आएजस्तो हुँदो रहेछ ।’

अबुधाबीबाटै शिवजंग गुरुङ दसैं मनाउन क्व्होलासोंथर गाउँपालिका–३ खोगुम आइपुगेका छन् । ‘लामो समयपछि आफ्ना परिवार, आफन्त, इष्टमित्र, छरछिमेकसँग भेट्न पाउँदा, भलाकुसारी गर्न पाउँदा निकै खुसी छु,’ उनले भने ।

क्व्होलासोंथर गाउँपालिका–७ कुमलुमका चन्द्र गुरुङ बहराइनबाट दसैं मनाउन गाउँ आएका छन् । ‘दसैंमा गाउँघर निकै रमाइलो हुन्छ । धान झुलेको बेला, मौसम खुलेको बेला गाउँघरको मुहार नै धपक्कै बलेको हुन्छ । त्यसैले दसैं मनाउन गाउँ फर्किन मन लाग्यो,’ उनले भने ।

लमजुङ समाज यूएईका अध्यक्ष बाबुराम सापकोटा दसैं मनाउन गाउँ फर्केका छन् । यूएईमा रहेर आफ्नो ‘ड्युटी’ पनि पूरा गर्ने र दुःख, आपत्मा परेका लमजुङेको परोपकारी कार्यमा संलग्न उनी यसपटक दसैं मनाउन गाउँ आएका हुन् । ‘चाडबाडका बेला परदेशभन्दा गाउँ रमाइलो हुन्छ । जन्मिएको, हुर्किएको, खेलेको ठाउँ कर्मभूमिभन्दा निकै प्यारो लाग्छ,’ उनले भने ।

उनका अनुसार दसैंमा धरै परदेशी गाउँ आउन खोज्छन् । तर, सबैको बिदा मिल्दैन । ‘गाउँ आउन नपाउनेहरू गाउँ सम्झेर रुन्छन् । परदेश भनेको यस्तै हो । अर्को साल आउने भनी चित्त बुझाउँछन्,’ उनले भने ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले दसैंको समय धेरै परदेशी गाउँ फर्केको बताए । ‘परदेशी गाउँ फर्किएपछि गाउँमा छुट्टै रमाइलो हुन्छ,’ उनले भने ।

उनका दसैं मनाउन पोखरा, काठमाडौं, चितवन रहेका वा बेंसीसहर नै बस्दै आएका कतिपय गाउँ फर्केका छन् । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वैदेशिक रोजगारमा रहेका, सैनिकमा सेवारत नागरिक दसैंतिहार मनाउन आफ्नो गाउँघर फर्केको बताए । ‘विदेशबाट दसैंतिहार मनाउन कति फर्किए

भन्ने तथ्यांक छैन । कोही हवाईमार्गबाट आएका छन् । भारतलगायत मुलुकुबाट स्थलमार्ग भएर आएका छन्,’ उनले भने ।

प्रकाशित : आश्विन २७, २०७८ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्

नाकामा लर्को

कान्तिपुर संवाददाता

कञ्चनपुर — पिठ्युँमा ठूलो भारी । हातमा सानोतिनो झोला । कतिपयका काखमा दूधे बालक पनि । सबैलाई गाडी चढ्ने हतारो ।

फूलपातीका दिन मंगलबार बिहान गड्डाचौकी नाकामा दसैंका लागि घर फर्किनेको भीड थामिनसक्नु थियो । यस्तै भीडमा भेटिए कैलाली टीकापुरका दीपक महतो । दुई महिनाअघि मात्रै भारतको सिमला गएका उनी दसैंका लागि घर फर्किएका हुन् ।

‘सिमला पूरै खाली भइसक्यो, नेपाली कामदार घर फर्किसके,’ उनले भने, ‘दसैं–तिहारमा त उता उराठ नै लाग्छ, नआऊँ भने पनि मनले मान्दैन ।’

महतो हरेक वर्ष रोपाइँ सकेर सिमला पुग्छन् । एक महिनाजति स्याउ टिप्छन् । एक महिना घाँस काट्छन् । ‘अब अर्को वर्ष मात्रै जान्छु,’ महतोले भने, ‘दसैं–तिहार खर्च अहिलेको कमाइले पुगिहाल्छ, हिउँदमा त्यहाँ चिसो धेरै हुन्छ काम गर्नै गाह्रो हुन्छ ।’

असोज सुरुदेखि नै गड्डाचौकी नाकामा घर फर्किनेको भीड बढेको छ । दिनमा दुई हजारभन्दा बढी नेपाली यो नाकाबाट फर्किने गरेका हुन् । घटस्थापनादेखि भने भीड अझै बढेको छ । दिनमा तीन हजारभन्दा बढी यो नाकाबाट फर्किन थालेका छन् ।

प्रकाशित : आश्विन २७, २०७८ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×