कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चाडपर्वमा सडक छिचोल्नै मुस्किल

सुवास विडारी

मकवानपुर — काठमाडौंबाट हेटौंडा हुँदै तराईका विभिन्न जिल्लामा जानेहरूले छोटो बाटोको रुपमा बल्खु–सिस्नेरी–भीमफेदी–हेटौंडा सडक प्रयोग गर्छन् ।

चाडपर्वमा सडक छिचोल्नै मुस्किल

तर, यही सडकको भैंसे–भीमफेदी खण्ड स्तरोन्नति हुन नसक्दा यात्रु सास्ती बेहोर्न बाध्य छन् । एक वर्षअघि सडक चौडा पार्दै स्तरोन्नति थालिए पनि काम तीव्र गतिमा नहुँदा चाडपर्वमा हजारौं यात्रु मर्कामा परेका हुन् ।

भैंसे–भीमफेदी सडक खण्डको करिब ११.५ किलोमिटर सडक स्तरोन्नति पूरा हुन सकेको छैन । काठमाडौंबाट हेटौंडा हुँदै तराईका विभिन्न जिल्लामा आवतजावतका लागि यो सडक प्रयोग गरिन्छ । दसैंको समयमा घर फर्कने झन् बढेका छन् । हाल दैनिक करिब सात सयभन्दा बढी साना सवारीसाधनले यो सडक प्रयोग गर्छन् ।

३ घण्टा ३० मिनेटमा काठमाडौं–हेटौंडा यात्रा गर्न सकिने भए पनि सडक अलपत्र हुँदा हाल ५ घण्टा लाग्ने गरेको सुमो चालकहरूले बताउँछन् । बीचबीचमा जाममा पर्नुपर्ने समस्या भएको उनीहरूको भनाइ छ ।

‘एक वर्षअघि सडक पुनर्निर्माण नहुँदा भैंसेबाट भीमफेदी पुग्न २० मिनेट लाग्थ्यो, अहिले सडक भत्काइएको र डाइभर्सनबाट यात्रा गर्नुपर्ने बाध्यताका कारण १ घण्टा बढी समय लाग्ने गरेको छ,’ टाटासुमो चालक उमेश लामाले भने, ‘अघिल्लो दसैंमा हामीले दैनिक तीन पटकसम्म हेटौंडा–काठमाडौं आउजाउ गर्थ्यौं । यस पटक दुई पटकभन्दा बढी गर्न सकिएको छैन ।’

सडक पुनर्निर्माणका लागि यातायात पूर्वाधार निर्देशनालय वाग्मती प्रदेशले एक वर्षअघि ३२ करोडमा डिएस कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । दुई वर्षमा सडक चौडासहित पुनर्निर्माण सकाउने सर्तमा निर्देशनालयले डीएसलाई ठेक्का दिएको निर्देशक सहदेवबहादुर भण्डारीले बताए ।

अन्य स्थानमा काम तीव्र गतिमा अघि बढे पनि भीमफेदी गाउँपालिका–४ का स्थानीयले सार्वजनिक सडकमा समेत काम गर्न रोक लगाउँदा समयमै सोचेअनुसार काम हुन नसकेको भण्डारीले प्रतिक्रिया दिए । उनले ३.५ किमि सडक सहज भए पनि बाँकी यात्राका लागि सडक अलपत्र भएको स्विकारे ।

‘सरकारले आवश्यकताअनुसार बजेट विनियोजन गरे पनि स्थानीयबाट सहयोग भएन । जसले गर्दा काम अलपत्र देखियो,’ भण्डारीले भने ।

डीएस कन्स्ट्रक्सनका सञ्चालक ध्रुव कार्कीले आफ्नोतर्फबाट काममा कुनै ढिलाइ नगरेको बताए । उनले सार्वजनिक जग्गामा समेत स्थानीय र जनप्रतिनिधिले काम गर्न नदिँदा समस्या खडा भएको बताए ।

‘सडक स्तरोन्नतिका क्रममा भएका खाल्डाखुल्डीसमेत पुर्न दिइएको छैन,’ उनले भने, ‘हामी समयमै काम सक्ने प्रयासमा छौं ।’ डिभिजन सडक कार्यालय हेटौंडाले दसैंलगायत चाडपर्वलाई लक्षित गरेर हाल यस सडकमा सवारी गुड्न सक्ने बनाइएको दाबी गरेको छ ।

‘हामीले यस सडकमात्र होइन । हेटौंडामा रहेको कार्यालयले आफ्नो कार्य क्षेत्रभित्र पर्ने मकवानपुर, बाराअन्तर्गत पूर्व–पश्चिम राजमार्गका समेत खाल्डाखुल्डी मर्मतसम्भार कार्य गरेका छौं,’ कार्यालयका सूचना अधिकारी लोमश उपाध्यायले भने, ‘दसैंलगायत चाडपर्व लक्षित गर्दै धेरै यात्रुवाहक सवारी साधन चल्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि सडक मर्मत गरेर भए पनि सवारी सञ्चालन गर्न सक्ने बनाएका छौं ।’

बाराको धनसारदेखि पथलैयासम्म, मकवानपुरको हेटौंडादेखि लोथरसम्म र हेटौंडाको भैंसे हुँदै दामचौरसम्मका सडकका खाल्डाखुल्डी मर्मत गरिएको र त्यसका लागि संघीय सरकारबाट एक करोड बजेट प्राप्त भएको सूचना अधिकारी उपाध्यायले बताए ।


प्रकाशित : आश्विन २७, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?