कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बाढीपीडितको दसैं खल्लो

नवीन पौडेल

परासी — सुनवल नगरपालिका–४ का सूर्यबहादुर श्रेष्ठको घर साउन १ को बाढीले क्षतविक्षत बनायो । शारीरिक रूपमा अशक्त श्रेष्ठ अहिले भत्किएको घर मर्मत गर्न लागिपरेका छन् । गाउँघरमा दसैंको रौनक छाएको छ । घरनजिकैको बस्तीमा पिङमा स्थानीय मच्चिएका छन् । तर उनलाई यो दसैं निकै खल्लो महसुस भएको छ । ‘भएको अन्नपात बाढीले बगायो, रोजगारी पनि छैन,’ उनले भने, ‘छाक टार्ने र छोराछोरीलाई नयाँ लुगा र मीठो खानेकुरा किन्ने उपाय छैन ।’ दसैंका बेला खुसीभन्दा आँखामा आँसु भरिएको उनले बताए ।

सुनवल–४ खकरीबारीकै बाढीपीडित सुकमाया विकलाई पनि यो दसैं नरमाइलो लागेको छ । वर्षौं मजदुरी गरेर बनाएको उनको घर पनि बाढीले भत्कायो । मर्मत गर्ने रकम नहुँदा जसोतसो गुजारा चलाइरहेकी छन् । गाउँमा दसैंको रौनक छ । तर उनी भने छोराछोरीको मुहार देखेर मन थाम्न सक्दिनन् । ‘अघिल्लो वर्ष त जसोतसो मजदुरी गरेर जम्मा गरेको रकमले दसैं मनाइयो,’ उनले भनिन्, ‘यस वर्ष बाढीले खुसी चुँडेर लगेको छ । अरूले दिएको कपडा लगाउनुपरेको छ ।’

जिल्लाको प्रतापपुर–६ स्थित कठहवाको मुसहर बस्तीमा पनि दसैंको कुनै रौनक छैन । बाढीले उराठ बनाएको बस्ती अहिलेसम्म राम्ररी तङ्ग्रिन सकेको छैन । संघसंस्थाले खाद्यान्न ल्याइदेलान् र दसैंमा मीठो खाऊँला भन्ने आशामा स्थानीय छन् । ‘हामी गरिबलाई केको दसैं र केको तिहार ? काम गरेर कमाएको दिनमा मीठै खान्छौं । काम नभएको दिनमा यत्तिकै भोकै बस्छौं,’ कलावती मुसहरले भनिन्, ‘यो वर्ष त झन् बाढीले जम्मा गरेको अन्नपात पनि बगायो, खुसीभन्दा पीडा धेरै छ ।’

साउन र भदौमा आएको बाढीले १ हजारभन्दा बढी घर डुबानमा परेका थिए । दुई जनाले ज्यान गुमाए । त्यसैले बाढीग्रस्त क्षेत्रका स्थानीयलाई दसैंमा नरमाइलो भएको हो । बस्तीमा बाढी पसेको केही दिन स्थानीय तह र संघसंस्थाले दिएको खाद्यान्नले गर्जो टारेका बाढीपीडितलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको छ । बाढीपीडितका लागि भने स्थानीय तहले एक चरणको राहत वितरण गरे पनि अहिले केही गरेका छैनन् । ‘घर भत्किएका स्थानीयलाई १५ देखि ३० हजार रुपैयाँसम्म राहत रकम प्रदान गर्ने हाम्रो नीति छ,’ सुनवलका नगर प्रमुख भीमबहादुर थापाले भने, ‘दसैंका लागि भनेर त्यस्तो कुनै सहयोग गर्न सकिएन ।’

प्रकाशित : आश्विन २७, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?