चीनको चाहना : एमाले र माओवादी संयुक्त रुपमा कम्युनिष्ट आन्दोलन अघि बढाउन्- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनको चाहना : एमाले र माओवादी संयुक्त रुपमा कम्युनिष्ट आन्दोलन अघि बढाउन्

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले यहाँका दुई ठूला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन् भन्ने चाहेको बताएकी छन् । राजदूत होउले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १०० वर्ष पुगेको अवसरमा नेपाली नेताहरुको विचारसहितको किताबको भर्चुअल विमोचनका दौरान मंगलबार यस्तो धारणा राखेकी हुन् ।

‘मैले देखेको छु कि एमालेले भर्खरै आफ्नो प्रथम विधान अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ र पार्टी निर्माणलाई सुदृढ पार्न नयाँ निर्णयहरु गरेको छ । माओवादीले पार्टीको नेतृत्व सुदृढ पार्न र पार्टीको संगठन सुधारमा केन्द्रित धेरै बैठकहरु पनि गरेको छ,’ राजदूत होउले सम्बोधनको क्रममा भनेकी छन् ।

राजदूत होउले ती क्रियाकलापहरुले दुई पार्टीहरुद्वारा पार्टी निर्माणसँग सम्बन्धी कामलाई महत्व दिएको देखाएको बताइन् । ‘म चाहन्छु कि एमाले र माओवादी आफ्नो मौलिक आकांक्षामा साँचो रहन र आफ्नो मिसन दृढतासँग राख्नको लागि संयुक्त रूपमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सक्छ,’ उनले भनेकी छन् ।

भर्चुअल कार्यक्रममा एमालेका तर्फबाट पूर्वपरराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र माओवादीका तर्फबाट पूर्वमन्त्री शक्ति बस्नेत थिए । चीनकै ‘सहजीकरण’ मा चार वर्षअघि एमाले र माओवादीबीच चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्म पुगेको समाचार आएका थिए ।

तर पार्टीको आन्तरिक द्वन्द्व र निर्वाचन आयोगमा रहेको अर्को नामसँग जुधेपछि सर्वोच्च अदालतले एकीकृत प्रक्रियालाई अवैध भन्दै नयाँ रुपमा एकीकरण अघि बढाउन आदेश दिएको थियो । आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको समयमा आएको अदालतको फैसलाले एमाले र माओवादीको फरक दलको रुपमा रहँदैआएका छन् । अध्यक्ष केपी शर्मा ओलीसँगको विवादको कारण एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ राजनीतिक दल नेकपा एकीकृत समाजवादी खोलेका छन् ।

‘नेपाल डायलग फोरम’ ले आयोजना गरेको उक्त कार्यक्रममा चिनियाँ राजदूत होउले फेरि एक पटक मिलेका दुई कम्युनिष्ट पार्टीलाई मिलेर कम्युनिष्ट आन्दोलनसँग मिलेर लानको लागि गरेको आह्वानले चीन नेपालमा नेकपा पार्टी फुटेको हेर्न नचाहेको फेरि प्रष्ट पारेको छ ।

राजदूत होउले नेपालले र माओवादीसँगै नेपालका अन्य राजनीतिक दलहरुसँग पनि सहकार्य गरेर अघि बढ्नेमा जोड दिएकी थिइन् । तर उनले एमाले र माओवादी बाहेक अन्य पार्टीको नाम भने लिइनन् ।

राजदूत होउले देश–देश, जनता–जनता र दल–दलसँग चीनले सम्बन्ध अघि बढाउन चाहेको पनि उल्लेख गरिन् । उनले सीपीसीको विधान चलेको र भ्रष्ट्राचारमा शून्य शहनसिलताको नीति अपनाएको बताइन् ।

उक्त कार्यक्रममा एमाले सचिवसमेत रहेका ज्ञवालीले छोटो समयमै मित्रराष्ट्र चीनले हासिल गरेको समृद्धि कम्युनिष्ट पार्टीको लागि परीक्षा भएको उल्लेख गरेका थिए । माओवादीका नेता बस्नेतले कार्यक्रममा आफूले किताबमाथि नै विचार राखेका थिए । उनले एक सय वर्षमा चीनले हासिल गरेको सफलताको विषयमा चर्चा गरेका थिए । उक्त किताबमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीपीसी एक सय वर्ष पुगेको विषयमा टिप्पणी गरेका छन् ।

प्रकाशित : आश्विन २६, २०७८ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

असंलग्‍न अभियान नेपालको विदेश नीतिको एक अभिन्‍न अंग : परराष्ट्रमन्त्री खड्का

जगदीश्वर पाण्डे

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले असंलग्न अभियान (नाम) को सिद्धान्त नेपालको विदेश नीतिको एक अभिन्‍न अंग भएको बताएका छन् । नामको ६० औं वर्ष पुगेको उपलक्ष्यमा सर्बियाको राजधानी बेल्ग्रेडमा भएको उच्चस्तरीय कार्यक्रममा खड्काले नेपालले आफ्नो संविधानमा यो अभियानको मूल सिद्धान्तहरुलाई स्थापित गरेको पनि बताएका छन् । नेपाल नामको संस्थापक सदस्य मुलुक पनि हो । 

उनले ६० वर्ष यता हेर्ने हो भने संसारमा गहिरो परिवर्तन भएको उल्लेख गरे । उनले भने,‘आज हामी बसिरहेको विश्व मौलिक रुपमा ६० वर्ष अघिभन्दा धेरै जटिल छ । र, हामीले धेरै गहिरो र जटिल चुनौतिहरुको सामूहिक रुपमा सामना गरिरहेका छौं ।’

मन्त्री खड्काले नामले संसारभरका मुलुकहरुमा स्वतन्त्रता, प्रजातन्त्र र न्याय ल्याउन सफल भएको बताए । ‘तैपनि आज हामी बढ्दो जातीय र अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी र वित्तिय जोखिम तथा धनी र गरीबको बीचमा असमानता र ठूलो मात्रामा इन्धन र खाद्यान्य संकट देख्दैछौं,’ उनले भने ।

उनले ती चुनौतिहरुको अतिरिक्त भूराजनीतिक तनावहरु फेरि सतहमा आएको बताए । यसले विभागजनको नयाँ ‘फल्ट लाइन’हरु बढ्दै गएको जनाए । ‘परमाणु हतियारको आधुनिकीकरण र हतियार दौडको संकेत महान शक्तिहरुको बीच प्रतिस्पर्धाको नयाँ लहर छ,’ सम्बोधनमा मन्त्री खड्काले भने ।

मन्त्री खड्काले कोभिड–१९ महामारी मावनजातिका लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा निस्केको बताए । यसले मानव सुरक्षाको महत्वपूर्ण क्षेत्रहरुमा विश्वव्यापी शासनको अन्तर र कमजोरीहरुलाई उजागर गरेको उल्लेख गरेका छन् । खोपको पहुँचमा असमानताको लागि धेरै हदसम्म योगदान गरेको मन्त्री खड्काले भनेका छन् । उनले जलवायु परिवर्तन र यसले जीवनमा पार्ने प्रभाव अर्को एक चुनौती रहेको प्रष्ट पारेका छन् । ‘जसले मानव जातिको अस्तित्वको लागि खतरा छ,’ उनको भनाइ थियो ।

मन्त्री खड्काले संख्यात्मक र नैतिक शक्तिको कारणले गर्दा नामले आफ्नो उचित स्थानको फेरि दाबी गर्नुपर्ने बताएका छन् । ‘र, ठूलो स्वरमा बोल्नु पर्छ । साथमा धेरै गरिब र कमजोर मुलुकहरुको लागि निर्णायक भूमिका निर्वाह गर्नु पर्छ,’ उनले भनेका छन् ।

मन्त्री खड्काले नेपाल संसारका सबै नेताहरु, अभियान र अन्य सबैलाई हामीले चाहेको र हकदार रहेको साझा भविष्यको लागि आह्वान गरे । ‘सबै मिलेर काम गर्ने र सबै मानव जातिको भलाइको लागि अगाडि बढ्ने प्रतिज्ञा गरौं,’ उनले भने ।

खड्काले सम्बोधनकै क्रममा आफूले नेपालबाट शान्तिको सन्देश ल्याएको पनि जानकारी दिए । उनले भने,‘मैले बुद्धको जन्मस्थानबाट शान्तिको सन्देश ल्याएको छु । यस कार्यक्रमको सफलताको लागि नेपाल सरकार र जनताको शुभकामना छ ।’

प्रकाशित : आश्विन २६, २०७८ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×