मुगु दुर्घटनाका घाइतेको उद्वारमा दुई हेलिकोप्टर खटाइयो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगु दुर्घटनाका घाइतेको उद्वारमा दुई हेलिकोप्टर खटाइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७ स्थित पिना तपनेखोलामा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरुको यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मन्त्री खाणको निर्देशन अनुसार नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पुगिसकेका छन् ।

‘यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाहरुको तत्काल उद्धार गर्नूहोला । आवश्यक परे हेलिकोप्टर पुर्‍याउनुहोला’ मन्त्रीको निर्देशन उद्धृत गर्दै प्रवक्ता पोखरेलले भने, ‘उहाँको निर्देशन अनुरुप हामीले नेपाली सेना र समीट एयरको हेलिकोप्टरबाट घाइतेलाई नेपालगञ्ज ल्याइरहेका छौँ । घाइतेको उद्वारमा कुनै कसुर बाँकी नराख्न मन्त्री खाँणले निर्देशन दिनुभएको छ ।'

गृहमन्त्री खाँणले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई पनि तत्काल उद्वारमा खटिन निर्देशन दिएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईको नेतृत्वमा १० जनाको टोली खटिएका छन् भने घटनास्थलबाट एक किलोमिटर दक्षिण पर्ने पिना प्रहरी चौकी मुगुबाट प्रहरी सहायक निरीक्षक जोरासिंह खड्काको नेतृत्वमा टोली घटनास्थलमा पुगिसकेको छ ।

नेपालगञ्जबाट गमगढीका लागि जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस जुम्ला-मुगु सडकखण्डमा पर्ने पिना तपनेखोलाबाट २५० मिटर तल खस्दा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३९ जना घाइते छन् । तीमध्ये १७ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

अहिले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा पुगेर एयरपोर्टसम्म घाइतेलाई ल्याइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए । साथै समीट एयरको हेलिकोप्टरले पनि घाइतेलाई नेपालगञ्जसम्म ल्याइरहेको प्रवक्ता पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

प्रकाशित : आश्विन २६, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३३ घाइते 

अनिश तिवारी

सिन्धुपाल्चोक — काठमाडौंबाट दोलखाको चरिकोटका लागि छुटेको बस लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । 

बा ४ ख १८०२ नम्बरको काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बस सडकबाट केही तल खसेको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । उनकाअनुसार बसका चालक प्रहरीको नियन्त्रणमा छन् भने ३३ घाइतेमध्ये ३ को अवस्था गम्भीर भएपछि काठमाडौंका विभिन्न अस्पताल रिफर गरिएको छ ।

मोडमा रोकेर तातेको इन्जिनमा पानी हाल्न खोज्दा गुडेर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित : आश्विन २६, २०७८ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×