२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बैंक लुट्न आएकालाई रोक्न खोज्दा...

जितेन्द्र साह

विराटनगर —  दिउँसोको तीन बजेको थियो । मोरंङको धनपालथान गाउँपालिकाको कर्सिया बजारस्थित सिटिजन्स बैंक शाखामा सोमबार सामान्य ढंगले कारोबार भइरहेको थियो । विराटनगरबाट २० किमी पूर्वमा उक्त बजार पर्छ । ड्यूटिमा तैनाथ सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालले सेवाग्राहीको सुरक्षा जाँच गर्दै भित्र पठाइरहेका थिए ।

बैंक लुट्न आएकालाई रोक्न खोज्दा...

त्यसक्रममा सरासर भित्र प्रवेश गर्ने तीन व्यक्तिलाई रोकेर के कामको लागि आएको भनि प्रश्न गरे । माथि एउटा काम छ भन्दै बैंंकको एक फन्को लगाएर उनीहरु फर्के । १५ मिनेट पछि उनीहरु फेरि आए ।

सुरक्षागार्ड कुमालले रोक्न खोजे । वरिपरिबाट घेरेर उनीहरुमध्ये एकले कुमालको खुकुरी खोसे । अर्को एकले पेस्तोल ताके । कुमालले खोस्नै खोज्दा घम्साघम्सीको क्रममा तेस्रो लुटेराले प्रहार गरेको दुई राउण्ड गोली कुमालको घाँटिको दुवै छेउतिर लाग्यो । एउटा छोएर गयो भने अर्को गोली भित्रै अड्कियो । उनी भुइँमा ढले । कोलाहल मच्चियो ।

‘गोली प्रहार पछि मलाई करेन्ट लागे जस्तो भयो, घटनाको ५/७ मिनेटमै मलाई यहाँ ल्याइयो, त्यसपछि के भयो ? मलाई थाहा छैन,’सुरक्षागार्ड कुमालले कान्तिपुरसँग भने,‘बैंकका कर्मचारी, धनमाल र सेवाग्राहीको सुरक्षाका लागि मैंले सकेसम्मको कोसिस गरेँ ।’

मोरंङ प्रहरीकाअनुसार गोली प्रहारको दुई/तीन मिनेटभित्र लुटेराहरुले बैंक लुटे । मुख नछोपी र मास्क नलगाइ आए पनि लुटेराहरुमध्ये कसैलाई पनि आफूले चिन्न नसकेको कुमालले बताए । विराटनगरको न्यूरो अस्पतालमा कुमालको उपचार भइरहेको छ । चिकित्सकले तत्कालै अर्को गोली झिकेकोले उनी अहिले खतरामूक्त छन् ।

रंगेली नगरपालिका–२ का कुमाल नेपाली सेनाको अवकाश प्राप्त हवल्दार हुन् । दुई छोराछोरीका पिता उनी निजी सुरक्षा कम्पनी नेपाल एक्स टु (एनेक्स टु) मार्फत् १ असोजदेखि उक्त बैंकमा कार्यरत छन् । कुमालकी पत्नी ३७ बर्षीया नानुमायाले श्रीमान घाइते भएको सूचना घटनाको आधा घण्टापछि पाएकी थिइन् । ‘कसैले बैंक लुटपाट बारे फेसबुकमा गरेको पोस्ट हेरेपछि एक छिमेकीले मलाई भने अनि थाहा पाएकी हुँ,’उनले भनिन् ।

उक्त घटना पछि कुमाल परिवार त्रासमा छन् । नारायणघाटबाट आइपुगेका उनका कान्छा भाइ दिपेन्द्र र विराटनगर बस्ने सालो सुमितले हेरचाह र उपचारमा सघाउँदैछन् । कर्सियाकै एक स्थानीय विद्यालयमा कुमालको छोरी कक्षा–९ मा र छोरा कक्षा–६ मा पढ्छन् । दुवै सन्तानको सुरक्षा चिन्ताले उनीहरुलाई सताएको छ ।

‘लुटेराहरुले श्रीमानलाई चिनिसकेका छन्, तीन जना पक्राउ परे पनि उनीहरुका अरु साथी पनि होलान्,’पत्नी नानुमायाले भनिन्,‘छोराछोरीलाई कसरी विद्यालय पठाउने चिन्ता भयो ।’ उनले श्रीमानको पूर्ण उपचार, लुटेरालाई कडा कारवाही र परिवारको सुरक्षा गरिदिन सरकारसँग आग्रह गरेकी छन् । कुमालका कान्छा भाइ दिपेन्द्र र सालो सुमितले सबै लुटेराहरुलाई पक्राउ गरी हदै सम्मको कारवाही हुनुपर्ने बताए । घटनाको बेला सालो सुमित विराटनगरमै थिए । वैदेशिक रोजगारमा रहेका कान्छा भाइ दिपेन्द्र दसैं मनाउन स्वदेश फर्केका हुन् । ‘सपरिवार नारायणघाटमा बस्छु, दाइलाई गोली लागेको थाहा पाए पछि रातारात विराटनगर आइपुगेँ,’दिपेन्द्रले भने ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघका जिल्ला अध्यक्ष श्याम गौतम र महानगर विराटनगर अध्यक्ष युवराज कार्कीले पनि मंगलबार बिहान घाइते कुमाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ‘खबर पढेर भेट्न आएका हौं, लुटेरा समूहलाई कारवाही र पीडितलाई न्याय दिलाउन आवाज उठाउँछौं,’गौतमले भने । आवश्यक सेवा सुविधा दिलाउने दिशामा कुमाल कार्यरत कम्पनिसँग कुरा गर्ने कार्कीले बताए ।

व्यापारमा घाटा लागे पछि लुटको योजना

घटनाको एक घण्टा पछि प्रहरीले धनपालथान गाउँपालिकाको अमाहीबरियातीबाट मोटरसाइकलसहित तीन जना लुटेरा र उक्त स्थलमा खोजतलासपछि एक पेस्तोल बरामद गरेको छ ।

पक्राउ पर्नेमा मुख्य योजनाकार श्याम मुखियाको विराटनगर–६ मा गार्मेन्ट कारखाना र विराटनगर–८, बलुवाहिमा घर रहेको मोरंङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । उनकाअनुसार ब्यापारमा डुबेपछि मुखियाले भारतबाट भाडामा अपराधी ल्याएर लुटको योजना बनाएका थिए ।

पक्राउ पर्ने अन्यमा भारत विहारको अररियाका सुनील यादव र विजय यादव छन् । सुरक्षागार्डसँगको घम्साघम्सीमा आफ्नै गुटका एक सदस्यले चलाएको गोली तिघ्रामा लागेर घाइते भएका विजयको रंगेली अस्पतामा उपचार भइरहेको एसपी जीसीले बताए ।

उनकाअनुसार लुटेराले प्रहार गरेको दुई गोली सुरक्षागार्डलाई र एक गोली उनीहरुकै साथी विजयलाई लागेको थियो । भारतीय प्रहरीको वान्टेड सूचीमा विजय रहेको जानकारी पाएको एसपी जीसीले बताए । उनको अनुसार घाइतेलाई लिएर भाग्ने क्रममा तीन पक्राउ परेका हुन् ।

दुई समूहमा विभाजित भएर लुटेरा समूहले घाइते साथीलाई लिएर भाग्न एउटा बाटो र रकम लिएर भाग्न अर्को बाटो प्रयोग गरेको एसपी जीसीले बताए । ‘यो कारणले पनि पिछा गर्न गाह्रो भयो,’उनले भने । उनले गोली प्रहार गर्ने पनि फरार रहेको बताए ।

यकिन हुन नसकेको लुटिएको रकम फरार पाँच जनासँग हुनसक्ने एसपी जीसीले बताए । उनकाअनुसार बाँकी पाँच फरारको पनि पहिचान खुलिसकेको छ । लुटिएको रकम २२ लाख रुपैयाँको हाराहारीमा हुनसक्ने बैंकले भनेको जीसीले बताए । ‘योभन्दा बढी वा कम पनि हुनसक्छ,’उनले भने,‘दसैंको बेला भएको हुनाले बैंकलाई रकमको हिसाबकिताब निकाल्न कठिन भएको हो, लुटिएको रकमको यकिन गर्न बैंकको बोर्डले भौचरलगायतको कागजातको अध्ययन गरिरहेको छ ।’

बरामद पेस्तोल घटनामा प्रयोग भएकै वा अर्को हो भन्ने बारे अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले बताए । योजनावद्ध लुटपाट भएको हुनाले फक्राउहरुले सहजै मुख खोल्न नमानिरहेको अर्का एक अधिकारीले बताए ।

दसैं लक्षित विशेष सुरक्षा योजना अन्र्तगत परिचालित प्रहरी बेलामै घटनास्थलमा पुगेर लुटेरालाई लखेट्न सकेकाले तत्कालै पक्राउ गर्न सकिएको बीसीले बताए । यस अगाडि २२ असोजमा विराटनगरको मेनरोडमा वडा प्रहरी कार्यालय छेउकै एक गार्मेन्ट पसलमा पेस्तोल सहित प्रवेश गरेका तीन जनाले ११ हजार रुपैयाँ र ४ मोबाइल लुटेका थिए । अपेक्षित रकम काउन्टरमा फेला नपारे पछि लुटेरामध्ये एकले रिसाएर पेस्तोलको पछाडिको भागले टाउको प्रहार गरी पसल सञ्चालकलाई घाइते बनाएका थिए ।

प्रकाशित : आश्विन २६, २०७८ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?