१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘हाम्रा लागि होइन रहेछ दसैं’

कोरोना महामारी र दसैंमा पनि काममा खटिए पनि भत्ता नपाएको महानगरको सफाइमा खटिने कामदारको गुनासो
सीमा तामाङ

काठमाडौँ — दसैं मनाउन गाउँ जाने मानिसको केही दिनयता सहरमा लर्को छ । ट्राफिक प्रहरीका अनुसार दसैं लागेसँगै झन्डै ९ लाखभन्दा बढीले राजधानी छाडिसकेका छन् । फुटपाथका पसलदेखि न्युरोड, असन, इन्द्रचोक, लगनखेललगायत बजारमा मानिसको चहलपहल निकै बढेको छ । तर, त्यही सहरलाई सफा राख्ने सफाइका नाइके मदन पोडेलाई भने दसैंको रौनकले छुनै सकेको छैन । 

पोडेजस्तै उपत्यकाका विभिन्न स्थानीय तह मातहत काम गर्ने कुचीकार तथा सफाइ कर्मचारीलाई यस्ता चाडपर्वले सितिमिति छुँदैन । २२ वर्षदेखि पोडेको नाता सडक र फोहोरसँगै सीमित छ । ‘बिहान उठ्यो, खटाइएको क्षेत्रमा पुग्यो, सडक सफा बनायो, त्यसमै चलेको छ,’ उनले भने ।

दैनिक साढे ५ बजे कोटेश्वर चोकबाट सुरु हुने काठमाडौं महानगरपालिका–३२ का नाइके पोडेको दैनिकी चाडपर्वमा पनि फेरिन्न । वडाअन्तर्गत १६ जना कर्मचारीका नाइके पोडे कोटेश्वर, तीनकुने सफा गरेपछि भित्री सडकमा खटिन्छन् । ‘कोटेश्वरमा जम्मा हुन्छौं, मैले साथीहरूलाई ठाउँ छुट्याइदिन्छ, अनि कुचो लिएर आफ्नो काममा लाग्ने हो,’ उनले भने, ‘महानगरले त वर्षमा एकचोटि मात्र झाडु किन्न पैसा दिन्छ, अरू बेला आफैंले ल्याउनुपर्छ ।’ उनका अनुसार बिरामी हुँदाबाहेक अन्य दिन छुट्टी पनि पाइँदैन । ‘कोरोना महामारीमा अरू घरभित्रै बसे । हामी झाडु लिएर निस्क्यौं । न भत्ता पायो, न अन्य सुविधा,’ उनले भने, ‘हरेकले ७ वटा मास्क र २ वटा सेनिटाइजरबाहेक केही पाएनौं । बिहान ३–४ घण्टा सफा गर्‍यो । दिउँसो पनि फोहोर देख्यो भने फेरि आयो, हामी त जहिले सडकमै हुन्छ । हाम्रा लागि होइन चाडपर्व ।’

अन्य जिल्लाबाट काठमाडौं भित्रिएका मानिस दसैं मनाउनकै लागि बाहिरिन सुरु गरे पनि उनको दैनिकीले आराम पाएको छैन । न त दसैंलको चहलपहलले नै छोएको छ । फुटपाथका व्यापारीले गरेको फोहोर देख्दा दसैं आइसकेको जस्तो हुने महानगरकै सडक सफाइकी नाइके उषा पोडेको भनाइ छ । उनको दैनिकी पनि मदनको भन्दा खासै फरक छैन । बिहान ५ बजेदेखि सफाइ सुरु गर्न उनी मातहतका ८ कुचीकार रत्नपार्क आइपुग्छन् ।

उषाले आफू मातहतका कर्मचारीलाई मास्क, पन्जा, सेनिटाइजर बाँड्छिन् । ६ जनाले सडकमा झाडु लगाउने र झारपात उखेल्ने गर्छन् । बाँकी २ जनाले फोहोर एक ठाउँमा थुपार्छन् । उषाको टोलीले रत्नपार्कदेखि भद्रकालीसम्म सफा गर्छ । २७ वर्षदेखि उषाले यसरी नै काम गर्दै/गराउँदै आएकी छन् । लगनखेल बस्ने उषा काम सकेर घर फर्कंदा १०/११ बज्छ । न सार्वजनिक बिदा भन्न पाउँछिन्, न त चाडपर्व । ‘हामीलाई बिदा भन्ने हुँदैन, बिरामी पर्दा, बिदा नलिई नहुने अवस्थामा मात्रै हो,’ उनले भनिन् ।

प्रकाशित : आश्विन २७, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?