कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

असंलग्‍न अभियान नेपालको विदेश नीतिको एक अभिन्‍न अंग : परराष्ट्रमन्त्री खड्का

जगदीश्वर पाण्डे

काठमाडौँ — परराष्ट्रमन्त्री नारायण खड्काले असंलग्न अभियान (नाम) को सिद्धान्त नेपालको विदेश नीतिको एक अभिन्‍न अंग भएको बताएका छन् । नामको ६० औं वर्ष पुगेको उपलक्ष्यमा सर्बियाको राजधानी बेल्ग्रेडमा भएको उच्चस्तरीय कार्यक्रममा खड्काले नेपालले आफ्नो संविधानमा यो अभियानको मूल सिद्धान्तहरुलाई स्थापित गरेको पनि बताएका छन् । नेपाल नामको संस्थापक सदस्य मुलुक पनि हो । 

असंलग्‍न अभियान नेपालको विदेश नीतिको एक अभिन्‍न अंग : परराष्ट्रमन्त्री खड्का

उनले ६० वर्ष यता हेर्ने हो भने संसारमा गहिरो परिवर्तन भएको उल्लेख गरे । उनले भने,‘आज हामी बसिरहेको विश्व मौलिक रुपमा ६० वर्ष अघिभन्दा धेरै जटिल छ । र, हामीले धेरै गहिरो र जटिल चुनौतिहरुको सामूहिक रुपमा सामना गरिरहेका छौं ।’

मन्त्री खड्काले नामले संसारभरका मुलुकहरुमा स्वतन्त्रता, प्रजातन्त्र र न्याय ल्याउन सफल भएको बताए । ‘तैपनि आज हामी बढ्दो जातीय र अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी र वित्तिय जोखिम तथा धनी र गरीबको बीचमा असमानता र ठूलो मात्रामा इन्धन र खाद्यान्य संकट देख्दैछौं,’ उनले भने ।

उनले ती चुनौतिहरुको अतिरिक्त भूराजनीतिक तनावहरु फेरि सतहमा आएको बताए । यसले विभागजनको नयाँ ‘फल्ट लाइन’हरु बढ्दै गएको जनाए । ‘परमाणु हतियारको आधुनिकीकरण र हतियार दौडको संकेत महान शक्तिहरुको बीच प्रतिस्पर्धाको नयाँ लहर छ,’ सम्बोधनमा मन्त्री खड्काले भने ।

मन्त्री खड्काले कोभिड–१९ महामारी मावनजातिका लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा निस्केको बताए । यसले मानव सुरक्षाको महत्वपूर्ण क्षेत्रहरुमा विश्वव्यापी शासनको अन्तर र कमजोरीहरुलाई उजागर गरेको उल्लेख गरेका छन् । खोपको पहुँचमा असमानताको लागि धेरै हदसम्म योगदान गरेको मन्त्री खड्काले भनेका छन् । उनले जलवायु परिवर्तन र यसले जीवनमा पार्ने प्रभाव अर्को एक चुनौती रहेको प्रष्ट पारेका छन् । ‘जसले मानव जातिको अस्तित्वको लागि खतरा छ,’ उनको भनाइ थियो ।

मन्त्री खड्काले संख्यात्मक र नैतिक शक्तिको कारणले गर्दा नामले आफ्नो उचित स्थानको फेरि दाबी गर्नुपर्ने बताएका छन् । ‘र, ठूलो स्वरमा बोल्नु पर्छ । साथमा धेरै गरिब र कमजोर मुलुकहरुको लागि निर्णायक भूमिका निर्वाह गर्नु पर्छ,’ उनले भनेका छन् ।

मन्त्री खड्काले नेपाल संसारका सबै नेताहरु, अभियान र अन्य सबैलाई हामीले चाहेको र हकदार रहेको साझा भविष्यको लागि आह्वान गरे । ‘सबै मिलेर काम गर्ने र सबै मानव जातिको भलाइको लागि अगाडि बढ्ने प्रतिज्ञा गरौं,’ उनले भने ।

खड्काले सम्बोधनकै क्रममा आफूले नेपालबाट शान्तिको सन्देश ल्याएको पनि जानकारी दिए । उनले भने,‘मैले बुद्धको जन्मस्थानबाट शान्तिको सन्देश ल्याएको छु । यस कार्यक्रमको सफलताको लागि नेपाल सरकार र जनताको शुभकामना छ ।’

प्रकाशित : आश्विन २६, २०७८ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?