दसैंमा पहाड जाने बढ्दै

कान्तिपुर संवाददाता

लुम्बिनी — पाल्पाको छहराका सूर्यप्रसाद खनाल दुई वर्षपछि स्वदेश आए । ४५ वर्षदेखि छिमेकी भारतको भूपालमा जागिरे उनी आइतबार बिहान बुटवलको बसपार्कमा घर पुग्ने बस कुर्दै थिए । डबल डोज खोप लाएर सुरक्षित भएकाले कोरोनाको असरबारे चिन्ता नलागेको उनले सुनाए ।

दसैंमा पहाड जाने बढ्दै

कोरोनाकै कारण दुई वर्षसम्म घर नआएको भए पनि अहिले आउँदा यहाँ कोरोनाको त्रास रहेको उनले बताए । ‘भीडभाड हुने स्थान बसपार्कमा त मानिसले मास्क लगाएको देखिनँ,’ उनले भने, ‘भारतीय स्वास्थ्य सुरक्षा र नियमन निकाय अति दुरुस्त लाग्यो ।’

भारतीय नाकादेखि नजिक रहेकाले भारतबाट आउने विभिन्न जिल्लाका नेपालीका लागि बेलहिया नाका सहज हुन्छ । त्यहाँबाट आउने मानिस बुटवल बसपार्क हुँदै आफ्नो घरसम्म पुग्छन् । सोमबार बिहान विभिन्न रुटका लागि सवारी पर्खेका मानिस झोला बिसाउने र बालबालिकालाई हेर्नमै व्यस्त थिए । अधिकांश मानिस मास्कबिना नै हिँडिरहेका थिए । सामाजिक दूरी कायम गर्नेबारे मानिसको चेतना लगभग शून्य थियो । कुनै पनि बसमा सेनिटाइज गरी मानिस चढाएको, यात्रुलाई सेनिटाइजर र मास्क लगाउन भनिएको देखिएन । यात्रुहरूमा कतिबेला बसमा चढेर घर पुग्न पाइन्छ भन्ने मात्रै ध्याउन्न थियो ।

रूपन्देहीको सिद्धार्थनगरदेखि बुटवल बसपार्कमा गाडी चढ्ने तर्खर गरिरहेकी गीता ज्ञवालीले मानिस रोगलाई बेवास्ता गरिरहेको देख्दा आफूलाई डर लागेको बताइन् । उनले घरमा उमेर चढेका सासूससुरासँगै दसैं मनाउन हिँडेको बताइन् । गीतासँगै उनका दुई छोरा थिए । दसैं बिदा भएकाले पहाड घर हिँडेको गीताका १० वर्षीय छोरा प्रयास ज्ञवालीले बताए । उनले पर्वका बेला गाउँमै रमाइलो लाग्ने बताए । गीतालाई भने अलिकति पनि असावधानी हुँदा घरमा रहेका वृद्धवृद्धालाई केही हुन्छ कि भन्ने चिन्ताले सताइरहेको थियो । ‘अहिलेसम्म जोगिनुभएको छ,’ उनले भनिन्, ‘कोरोना गएको छैन, मन कताकता आत्तिएको छ ।’

गाडी भाडा पनि एकै स्थानमा समयअनुसार फरकफरक लिने गरिएको उनले बताइन् । गुल्मीको तम्घासका लागि बुटवलबाट ३ सय ४० रुपैयाँ लिइँदै आएकामा बिहान र दिउँसोको फरक पर्छ भन्दै बिहान ५ सय रुपैयाँ लिइएको उनले बताइन् ।

प्रकाशित : आश्विन २६, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?