बालबालिकाको खोप ८०% सम्म खेर- समाचार - कान्तिपुर समाचार

बालबालिकाको खोप ८०% सम्म खेर

२० डोजको भाइलमा आउने बीसीजी खोप सबैभन्दा बढी खेर गइरहेको छ । टिटनस डिप्थेरिया, जापानी इन्सेफ्लाइटिस, दादुरा रूबेलालगायत खोपको खेर जाने दर पनि ५० प्रतिशतभन्दा बढी छ ।
अतुल मिश्र

काठमाडौँ — बालबालिकालाई क्षयरोगबाट जोगाउन हरेक वर्ष खरिद गरिने ‘बीसीजी’ खोप ८० प्रतिशतसम्म खेर गइरहेको छ । बीसीजी मात्र नभई सरकारले विदेशी मुद्रामा खरिद गरेर बालबालिकालाई निःशुल्क उपलब्ध गराउँदै आएका अन्य खोप पनि खेर जाने गरेको छ ।

गत वर्ष टीडी (टिटनस डिप्थेरिया) ५३.८८ प्रतिशत, जेई (जापानी इन्सेफ्लाइटिस) ४६.९१ प्रतिशत, दादुरा रुबेला ४६.६७ प्रतिशत, पोलियो ओपीभी २३.१७ प्रतिशत, पेन्टा/डीपीटी २२.४९ प्रतिशत खेर गएको थियो । प्याकिङ खोलेपछि निश्चित समयभित्र उपयोग गर्नुपर्ने यी खोप डोजअनुसार उपभोग हुन नसकेको हो । यसमा पनि २० र १० डोज भएका भाइल उपयोग गरेर एक जनालाई मात्र खोप लगाउँदा क्रमशः १९ र ९ डोज खेर जाने गरेको छ ।

‘धेरै डोजको भाइल उपलब्ध हुनुमा उत्पादकको पोलिटिक्ससमेत छ,’ स्वास्थ्य प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले भने, ‘बीसीजी २० डोजको भाइलमा आउँछ, एक जना बच्चा आए पनि भाइल खोल्नैपर्छ, यसले आर्थिक क्षति हुने गर्छ ।’

डा.पौडेलका अनुसार बीसीजीको ५ डोजको भाइल बनाउन असम्भव छैन, कम मात्रा भएको भाइल बनाउँदा खेर जाने दर पनि धेरै कम हुन्छ । ‘जति धेरै डोज भएको भाइल भयो, त्यति धेरै खेर जाने सम्भावना हुन्छ,’ उनले भने, ‘यो हाम्रो नियन्त्रणबाहिरको कुरा भयो ।’ तर, ५ डोजकै भाइल भएको जेईको खोप खेर जाने दर ४६.१ प्रतिशत किन भयो आफूले बुझ्न नसकेको उनले बताए ।

हाल बीसीजी २० डोजको भाइल, एमआर १० डोजको भाइल, जेई ५ डोजको भाइल, पोलियो १० डोजको भाइल र टीडी १० डोजको भाइलमा आउने गरेको छ । बर्सेनि खोप खेर जाने दर कम गरेर मुलुकको करोडौं रुपैयाँ जोगाउन सकिने औंल्याउँदै व्यवस्थापन महाशाखाका खोप सुपरभाइजर अधिकृत ओमप्रसाद उपाध्यायले भने, ‘बीसीजी २० डोजको भाइल बनाइएको छ, एक जनालाई खोप दिँदा १९ डोज खेर जान्छ ।’

बीसीजीको ५ डोजको एउटा भाइल बनाएर त्यसबाट एक जनालाई खोप दिँदा मात्र ४ डोज खेर जाने जनाउँदै उपाध्यायले थपे, ‘नेपालमा बीसीजीको ५ डोजको एउटा भाइल उपयोग गरे हालको अवस्थाअनुसार पाँच गुना कम खोप खेर जान्छ ।’ उनका अनुसार बीसीजी खोप एक भाइलको सरदर २.५ यूएस डलर, पोलियो १.८ यूएस डलर, एम आर ६.६ यूएस डलर र जेई ३.५ यूएस डलर पर्ने गरेको छ ।बाल स्वास्थ्य तथा खोप शाखाका पूर्वप्रमुख एवं हाल व्यवस्थापन महाशाखाका डा.झलक शर्मा गौतमले सरकारको नीतिअनुसार खोप केन्द्रमा एउटा बच्चा आए पनि एक सत्रमा एउटा भाइल चलाउनैपर्ने बताए ।

एक जना पनि नछुटुन् भन्ने उद्देश्यले भाइल खोलेको केही घण्टाभित्र उपयोग नगरिए फाल्नुपर्ने अवस्थामा पनि १० वा २० डोज भएको भाइल खोल्नुपर्छ । यही नीतिका कारण बीसीजीको खोप ७० देखि ८० प्रतिशतसम्म खेर जाने गरेको छ । बीसीजी, मिजिल्स, रुबेला, जेई खोप भाइल खोलेपछि ६ घण्टामा प्रयोग गरिसक्नुपर्छ ।

डा.गौतमका अनुसार नेपालको भौगोलिक अवस्था, दुर्गम क्षेत्र आदिका कारण जति धेरै खोप केन्द्र चलाइयो, त्यति धेरै खोप खेर जान्छ । हाल मुलुकमा १६ हजारभन्दा बढी खोप केन्द्र छन् । खोप विज्ञ एवं तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा.श्यामराज उप्रेतीले घनाबस्ती र सहरी क्षेत्रको दाँजोमा पहाड, हिमाली जिल्ला र दुर्गम ठाउँमा उच्च मात्रामा खोप खेर जाने गरेको बताए ।

उनका अनुसार खोप लिनेहरूको संख्या कम भएको ठाउँमा खेर जाने दर घटाउन त्यति सजिलो छैन । तर, मल्टिडोज भाइल पोलिसीअन्तर्गत तोकिएका केही मापदण्ड सही रूपमा कार्यान्वयन गरेर खोप खेर जाने दर घटाउन सकिन्छ । पेन्टाभाइलेन्ट खोप र टिटनस खोपको भाइल खोलेपछि कोल्ड चेन राम्ररी कायम राख्दा २८ दिनसम्म प्रयोग गर्न सकिने भएकोले यसमा खेर जाने दर घटाउन सकिने उनले बताए । गत वर्ष टीडी खोपको खेर जाने दर ५३.८८ प्रतिशत देखियो, यो धेरै बढी हो,’ डा.उप्रेतीले भने, ‘टीडी खोप खेर जाने दरले उक्त कार्यक्रम असफल भएको देखाएको हो ।’

खोप मुख्य रूपमा दुई प्रकारले खेर जाने गरेको छ– म्याद गुज्रिएर र खोप लगाउँदा एकभन्दा बढी डोज भएको भाइल खोलेपछि उपयोग नभएर । ‘खुल्दै नखुलेको भाइल खेर गएको छ भने त्यो प्रोग्राम नै असफल भएको हो,’ डा.उप्रेतीले भने, ‘खोप लगाउने सेसनमा कति वेस्टेज भएको हो, नखोलेको भाइल कति वेस्टेज भएको हो, यसबारे थप अध्ययन–अनुसन्धान आवश्यक छ ।’ विज्ञहरूका अनुसार म्याद नाघेर, क्षति पुगेर, टुटफुट भएर स्टोरमा एक प्रतिशतभन्दा बढी खोप नष्ट हुनु हुँदैन । स्टोरमा खोप खेर जाने प्रक्रियालाई शून्यस्तरसम्म ल्याए लगानी कम हुने र फिल्डस्तरमा ठाउँ हेरेर खेर जाने दरलाई कम गर्ने प्रयास आवश्यक छ ।

महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा समेत सम्भव भएसम्म खोप खेर नजाने गरी व्यवस्था मिलाउनुपर्ने बताइएको छ । खोप कार्यक्रम मितव्ययी र कुशल रुपमा सञ्चालन नभएका कारण वैदेशिक मुद्रामा खरिद भएको खोपको मात्रा बढी खेर गएको प्रतिवेदनमा छ । खोपको प्याकिङ खोलिसकेपछि निश्चित अवधिमा उपयोग गर्नुपर्ने र डोजअनुसार उपभोग हुन नसकेमा स्वतः खेर जाने कारणले दर बढी देखिएको समेत प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा बिफर उन्मूलन भएपछि विस्तारित खोप आयोजनाको नामबाट २०३५ सालमा खोप सेवा सुरु भएको हो । हरेक वर्ष सरदर ६ लाख २० हजार बालबालिकालाई विभिन्न प्रकारको खोप दिनुपर्छ । सरकारी नीतिअनुसार ११ वटा रोगका लागि १२ वटा एन्टिजेन सबै बालबालिकाले पाउनुपर्छ ।

मुलुकमा खोपको केन्द्रीय संरचना हाल भताभुंग भएको असरले समेत खोप खेर जाने दर बढी देखिएको हुन सक्ने विज्ञहरू औंल्याउँछन् । मुलुक संघीयतामा गए पछि खोपको केन्द्रीय संरचना भताभुंग भएको हो । स्वास्थ्य पौडेललेसमेत खोप बढी खेर जानु पछाडि यो पनि एउटा कारण हुन सक्ने बताए ।

एक बच्चामा खोपका लागि ५० डलर खर्च

बर्सेनि खोपमा प्रतिबच्चा न्यूनतम ४० देखि ५० अमेरिकन डलर खर्च हुन्छ । खोप विज्ञ एवं तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्व निर्देशक डा.श्यामराज उप्रेतीका अनुसार यो खर्च सरकार र ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) दुवै मिलाएर हुने हो ।

बीसीजी, पोलियो थोपा, टीडी, जेईको खोप नेपाल सरकारले आफैं किन्ने हो भने अन्य खोप सरकारको २० प्रतिशत र गाभीको ८० प्रतिशतको संयुक्त सहयोगमा मुलुक भित्रिने हो । ‘अहिले हामी गाभीको सहयोगमा आउने खोपमा प्रतिडोज करिब १५–२० सेन्ट तिर्छौं,’ डा.उप्रेती भन्छन्, ‘हाल खोप खरिदमा गाभीले सहयोग गरे पनि पछि हामीलाई नै सबै पैसा तिर्नुपर्छ ।’

‘हाम्रो नीति वन सेसन पर भाइल हो’

हामी एक सेसनमा न्यूनतम एक भाइल खोप पठाउने गर्छौं, हाम्रो नीति नै ‘वन सेसन पर भाइल’ हो । खोप केन्द्रमा एक जना पुगेपछि २० वा जतिसुकै डोज भएको भाइल भए पनि त्यसबाट खोप दिनैपर्छ । यसरी २० डोज भएको एक भाइलबाट एक जनालाई खोप दिँदा १९ डोज खेर जान्छ ।

देशभरिमा १६ सयभन्दा बढी खोप केन्द्रमा न्यूनतम एक भाइल खोप हरेक केन्द्रमा पठाउनैपर्छ । खोप केन्द्रमा एक जना वा सय जना बालबालिका आउन्, हामी कसैलाई फिर्ता पठाउँदैनौं र फिर्ता पठाउनसमेत पाइँदैन । कम डोज भएको खोपको भाइल आउँदा खेर जाने दर कम हुन्छ ।

प्रकाशित : आश्विन २६, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

दसैंमा पहाड जाने बढ्दै

कान्तिपुर संवाददाता

लुम्बिनी — पाल्पाको छहराका सूर्यप्रसाद खनाल दुई वर्षपछि स्वदेश आए । ४५ वर्षदेखि छिमेकी भारतको भूपालमा जागिरे उनी आइतबार बिहान बुटवलको बसपार्कमा घर पुग्ने बस कुर्दै थिए । डबल डोज खोप लाएर सुरक्षित भएकाले कोरोनाको असरबारे चिन्ता नलागेको उनले सुनाए ।

कोरोनाकै कारण दुई वर्षसम्म घर नआएको भए पनि अहिले आउँदा यहाँ कोरोनाको त्रास रहेको उनले बताए । ‘भीडभाड हुने स्थान बसपार्कमा त मानिसले मास्क लगाएको देखिनँ,’ उनले भने, ‘भारतीय स्वास्थ्य सुरक्षा र नियमन निकाय अति दुरुस्त लाग्यो ।’

भारतीय नाकादेखि नजिक रहेकाले भारतबाट आउने विभिन्न जिल्लाका नेपालीका लागि बेलहिया नाका सहज हुन्छ । त्यहाँबाट आउने मानिस बुटवल बसपार्क हुँदै आफ्नो घरसम्म पुग्छन् । सोमबार बिहान विभिन्न रुटका लागि सवारी पर्खेका मानिस झोला बिसाउने र बालबालिकालाई हेर्नमै व्यस्त थिए । अधिकांश मानिस मास्कबिना नै हिँडिरहेका थिए । सामाजिक दूरी कायम गर्नेबारे मानिसको चेतना लगभग शून्य थियो । कुनै पनि बसमा सेनिटाइज गरी मानिस चढाएको, यात्रुलाई सेनिटाइजर र मास्क लगाउन भनिएको देखिएन । यात्रुहरूमा कतिबेला बसमा चढेर घर पुग्न पाइन्छ भन्ने मात्रै ध्याउन्न थियो ।

रूपन्देहीको सिद्धार्थनगरदेखि बुटवल बसपार्कमा गाडी चढ्ने तर्खर गरिरहेकी गीता ज्ञवालीले मानिस रोगलाई बेवास्ता गरिरहेको देख्दा आफूलाई डर लागेको बताइन् । उनले घरमा उमेर चढेका सासूससुरासँगै दसैं मनाउन हिँडेको बताइन् । गीतासँगै उनका दुई छोरा थिए । दसैं बिदा भएकाले पहाड घर हिँडेको गीताका १० वर्षीय छोरा प्रयास ज्ञवालीले बताए । उनले पर्वका बेला गाउँमै रमाइलो लाग्ने बताए । गीतालाई भने अलिकति पनि असावधानी हुँदा घरमा रहेका वृद्धवृद्धालाई केही हुन्छ कि भन्ने चिन्ताले सताइरहेको थियो । ‘अहिलेसम्म जोगिनुभएको छ,’ उनले भनिन्, ‘कोरोना गएको छैन, मन कताकता आत्तिएको छ ।’

गाडी भाडा पनि एकै स्थानमा समयअनुसार फरकफरक लिने गरिएको उनले बताइन् । गुल्मीको तम्घासका लागि बुटवलबाट ३ सय ४० रुपैयाँ लिइँदै आएकामा बिहान र दिउँसोको फरक पर्छ भन्दै बिहान ५ सय रुपैयाँ लिइएको उनले बताइन् ।

प्रकाशित : आश्विन २६, २०७८ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×