कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

न्याय माग्दै हिरासतभित्रै आमरण अनशन

मधु शाही, रूपा गहतराज

बाँके — अधिकारकर्मी रुबी खान प्रहरी हिरासतमा आमरण अनशन बसेकी छन् । न्यायको अपिल गर्दै पैदलै काठमाडौं पुगेकी उनलाई माइतीघरबाट धर्नामा बसेका बेला गत शुक्रबार प्रहरीले पक्राउ गरी भोलिपल्ट नेपालगन्ज ल्याएको थियो । उनलाई बहुविवाहको मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको प्रहरीको दाबी छ ।

न्याय माग्दै हिरासतभित्रै आमरण अनशन

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै महिला अधिकार मञ्चकी रुबीलगायत १४ जनाको टोली २० दिन हिँडेर काठमाडौं पुगेका थिए । जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार बयानका लागि उपस्थित गराइएकी उनले आफूमाथि प्रहरी प्रशासनले ज्यादती गरेको बताइन् । बहुविवाहको झूटो मुद्दामा पक्राउ पुर्जी नै नदिई जबर्जस्ती नियन्त्रणमा लिएर हिरासतमा राखेको उनको दाबी थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भने उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएकाले कारबाही अघि बढाइएको जनाएको छ । रुबीले शुक्रबारदेखि केही खाएकी छैनन् । श्रीमान्सँग २०७६ असोज ८ मा इस्लाम धर्मअनुसार तलाक भएको र त्यसको १० दिनपछि अदालतबाट सम्बन्ध विच्छेद प्रमाणीकरणसमेत गरेको उनले दाबी गरिन् । प्रहरीले भने उनीविरुद्धको मुद्दाका विषयमा प्रस्ट पारेको छैन ।

रुबीले निर्मला र नन्कुन्नीको न्यायका लागि गत भदौ १३ देखि आन्दोलन थालेकी हुन् । जिल्ला प्रशासनमा धर्ना बसेर पनि कुनै सुनुवाइ नभएपछि असोज १ देखि पैदल यात्रा थालिएको उनले बताइन् । लामो पैदल यात्राले उनका खुट्टामा फोका उठेर फुटेकाले घाउ भएका छन् । खुट्टामा ब्यान्डेज लगाएर बसेकी छन् । ‘मैले अस्पतालमा छुट्टै क्याबिनमा राख्नुस् भन्दा पनि प्रहरीले मानेन । ट्रमा हस्पिटलमा लग्छौ भनेर प्रहरीले नेपालगन्ज ल्यायो, झूटो मुद्दा लगाएर मलाई फसाउन खोजिँदै छ,’ उनले भनिन्, ‘पावर भएकाहरूलाई तथ्य नभेटिएको भन्दै प्रहरीले नछुने, मलाई पक्राउ पुर्जीसमेत नदिएर पक्राउ गरेको छ ।’

एक दशकअघिदेखि बेपत्ता नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको मृत्यु भएको प्रमाण फेला पारेको प्रहरीको दाबी छ । एक साताको अनुसन्धानपछि प्रहरीले निर्मला भारतमा पुगी दोस्रो बिहे गरेको फोटो र मृत्यु भएको तस्बिरलगायत कागजात प्राप्त गर्नुका साथै दोस्रो श्रीमान् बताउने भारतका अर्जुन कुर्मीको बयानसमेत लिएको छ । बाँकेका डीएसपी मधुसुधन न्यौपानेले प्राप्त प्रमाण र बयानका आधारमा निर्मलाको भारतमा कालगतिले मृत्यु भएको देखिएको दाबी गरे । ‘हामीले मृत्यु प्रमाणपत्र पनि मागेका छौं,’ उनले भने, ‘प्राप्त तस्बिर र उनको दोस्रो श्रीमान्को बयानले मृत्यु भएको देखिन्छ ।’

यता नन्कुन्नीको विषयमा अदालतले फैसला गर्ने भएको छ । यद्यपि अनुसन्धान प्रक्रिया अगाडि बढाइरहँदा अधिकारकर्मी रुबीले अनावश्यक बाधा पुर्‍याउन खोजेको दाबी डीएसपी न्यौपाने गर्छन् ।

‘मुद्दामा प्रहरीलाई अनुसन्धान गर्न सघाउनुको साटो उहाँले अनावश्यक बखेडा खडा गर्नुभयो,’ उनले भने ।

‘केही व्यक्ति निर्मलाको सम्पत्ति हडप्ने मनसायमा लागेको अनुसन्धानमा देखियो । कारबाहीको दायरामा लिनका लागि ठोस प्रमाण जुटाउने प्रयासमा छौं,’ उनले भने । नौ जनाका विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको प्रहरीले घटनाको प्रकृतिले निर्मलाको हत्या नभएको तर जग्गा ठगीको किचलो रहेको पाइएको जनाएको छ ।

रुबीलाई पक्राउ गर्नुको कारणबारे डीएसपी न्यौपानेले भने अदालतको आदेशअनुसार गरेको बताएका छन् । ‘असोज ६ गते भएको सुनुवाइपछि अदालतको आदेशअनुसार पक्राउ गरेको हो,’ उनले भने । रुबीविरुद्ध मोहमद शेर बागवानकी जेठी पत्नीले उजुरी गर्नुपर्ने हो तर उनको उजुरी आएको छैन । तेस्रो व्यक्तिले उजुरी दिएका छन् ।

प्रकाशित : आश्विन २६, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?