कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५
घान्द्रुकमा जिप दुर्घटना

घुम्न गएकाहरू फर्कन पाएनन्

घान्द्रुकमा जिप खस्दा ८ जनाको मृत्यु
दीपक परियार

पोखरा — दसैं बिदामा घुम्न देविका घिसिङ र उनका साथीले योजना बनाए । काठमाडौंबाट पोखरा हुँदै चितवन घुम्ने योजना बन्यो । आठ जनाको टोली आइतबार काठमाडौंबाट पोखरा आयो । सोमबार पर्यटकीय गाउँ घान्द्रुक पुग्न नयाँपुलबाट जिप चढे । बीचबाटोमै जिप भीरबाट खस्यो । देविकाबाहेक कोही पनि घर फर्कन पाएनन् ।

घुम्न गएकाहरू फर्कन पाएनन्

ग१ज ६९०० नम्बरको जिपधनीसमेत रहेका ४२ वर्षीय खुसीमान क्षत्री अनुभवी चालक थिए । नयाँपुल घर भएका उनी घान्द्रुक कैयौंपल्ट ओहोरदोहोर गरिसकेका थिए । काठमाडौंबाट पुगेको टोलीलाई उनैले लिएर गए । अन्नपूर्ण गाउँपालिका–१० को हुँदु कटेपछि घुम्ती भएको ठाडो उकालो आउँछ । अलि माथि छ कलाभीरको उकालो ।

कच्ची सडकको छेउतिर रेलिङ लगाइएको छ । रेलिङ भएनिरै पुगेपछि खुसीमानले गियर परिवर्तन गरे । गाडी थोरै ‘ब्याक’ गरेर अगाडि बढाउन खोजे । उकालोमा गाडीले तानेन । पछाडि–पछाडि लस्कियो । देविकालाई भीरमा जिप गुल्टिएको सम्झना छ । होस आउँदा उनी भीरको एउटा रूखमा अड्किरहेकी थिइन् । जिप झन्डै डेढ सय मिटर तल पुगेर बाटोमै बजारिएको थियो । खुसीमान र बाँकी सात जनाको घटनास्थलमै मृत्यु भयो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकको कलाभीरमा भएका जिप दुर्घटनामा ज्यान गुमाएका सुजा र लिजाकी आमा पार्वती चौधरी सोमबार पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भावविह्वल अवस्थामा । तस्बिर : दीपक परियार/कान्तिपुर

देविकाले आफ्नै भाइ १८ वर्षीय जिनलव घिसिङलाई गुमाइन् । पोखराको गण्डकी मेडिकल कलेजमा उपचार गरेर फर्किंदासम्म आफ्नो भाइ, जिप चालक र सँगै यात्रामा रहेका अरू ६ जनाको मृत्यु भएको उनलाई खबर छैन । उनको नाकमा चोट लागेको छ । दुर्घटनाबारे खबर पाएपछि उनका बुबा गोपाल घिसिङ सोमबार नै हेलिकोप्टर चार्टर्ड गरेर पोखरा आए ।

हेलिकोप्टरमा सँगै आए, दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीया सुजा र २० वर्षीया लिजाका बुबाआमा बाबुराम र पार्वती चौधरी । देविकासँग बसुन्धराको कान्तिपुर डेन्टल कलेजमा सीडीएस तेस्रो वर्षमा सँगै पढ्ने साथी थिइन्, लिजा । सुजा भने बीएस्सी नर्सिङ सकेर नर्भिक अस्पतालमा कार्यरत थिइन् । देविका र लुजाको परिवारबीच घनिष्ठ सम्बन्ध छ । काठमाडौं गोंगबुमा उनीहरू नजिक–नजिक बस्छन् । घिसिङ परिवार सर्लाही र चौधरी परिवार चितवनबाट व्यापार व्यवसायको सिलसिलामा काठमाडौं पुगेका हुन् । घिसिङ म्यानपावर व्यवसायी हुन् । पार्वतीको कपडाको व्यवसाय थियो ।

दिल्लीमा एक महिना बसेर असोज १९ मा पार्वती काठमाडौं फर्किएकी थिइन् । उनलाई क्यान्सर देखिएपछि छोरीहरूले नै ‘ठीक हुन्छ’ भनेर सम्झाउँथे । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको दुई छोरीको शव देखेपछि बाबुरामले श्रीमतीलाई सम्झाउन सकेनन् । पार्वती अचेत जस्तै भइन् । ‘दुईवटै छोरी जन्मिँदा मेरो कोख दुखेन,’ अस्पताल परिसरमा चिच्याउँदै उनले भनिन्, ‘अहिले मेरो शरीर सबै छियाछिया भएको छ ।’ दुई छोरीले नै बुबा र आमालाई झगडा नगर्न प्रतिज्ञा गर्न भन्थे । पार्वतीले मान्ने थिइनन् । बरु झगडा गरेन भने घर चल्दैन भन्थिन् । उनले नयाँ फोन किन्दिन छोरीसँग गरेको वाचा सम्झिइन् । भनिन्, ‘आऊ छोरी अब म प्रमिस गर्छु, बुबासँग कहिल्यै डिस्कस गर्दिनँ ।’

होनाहार दुई छोरीले कोख रित्तो बनाएर गएपछि बाबुराम र पार्वतीलाई सम्झाउन सिर्जना थापालाई धौधौ भयो । तीन जनासँग काठमाडौंबाट हेलिकोप्टरमा सँगै आएकी उनी ‘छोरीहरूलाई केही नभएको’ भनेर सम्झाउँदै छिन् । ग्लोबल कलेजमा ११ पढ्दै गरेका छोरा जिनलवलाई गुमाएका गोपाल घरी पार्वतीको परिवारलाई सम्हाल्न खोज्छन्, घरी आफैं सम्हालिन सक्दैनन् । जिनलवले आफूसँगै पढ्ने साथी १८ वर्षीय आशिष आले मगरलाई पनि सँगै घुम्न लगेका थिए । लिजा र देविकासँगै पढ्ने २० वर्षीय सुमन चौधरी र २२ वर्षीय अच्युतम काफ्ले पनि त्यही समूहमा थिए । गोरखा घर भई गोंगबुमै बस्ने २७ वर्षीय विनय पन्तलाई सुजाले बोलाएकी थिइन् । ७ जनाको टोलीले सोमबार घान्द्रुक बास बसेर मंगलबार चितवन पुग्ने योजना बनाएको थियो ।

भीरमा अड्किएको अवस्थामा देविकाको स्थानीयले उद्धार गरेका थिए । जिपको पछाडिको ढोका खुल्दा उनी भीरको बीचको रूखमा अड्किएको हुन सक्ने अन्नपूर्ण गाउँपालिका–१० का अध्यक्ष कुमारप्रसाद गुरुङले बताए । माथिल्लो बाटोबाट तल्लो बाटोसम्म खस्दा जिप कच्याककुचुक भएको छ । सोमबार दिउँसो साढे १ बजेतिर दुर्घटना भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापासहितको टोली घटनास्थल पुगेको थियो । उकालोमा जिपले नतान्दा ‘ब्याक’ भएर खसेकाले दुर्घटना भएको प्रहरीको निष्कर्ष छ । आठ जनाकै शव मंगलबारसम्म परिवारलाई बुझाउने जिल्ला प्रहरी कार्यालयको तयारी छ ।

प्रकाशित : आश्विन २६, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?