१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

विश्‍वासको मत नलिई प्रदेश १ सरकारद्वारा धमाधम नियुक्ति

विपक्षी गठबन्धनको आपत्ति
देवनारायण साह

मोरङ — प्रदेश १ को विपक्षी गठबन्धनले अल्पमतमा परेको सरकारले संवैधानिक व्यवस्था बमोजिम विश्वासको मत नलिएकोप्रति आपत्ति जनाएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस, विपक्षी दलहरु माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी रहेको विपक्षी गठबन्धनले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत नलिई असंवैधानिक रुपमा सरकारको आयु लम्ब्याउन खोजेको भन्दै भत्सर्ना गरेको छ ।

विश्‍वासको मत नलिई प्रदेश १ सरकारद्वारा धमाधम नियुक्ति

कांग्रेसको प्रदेश संसदीय दलका नेता राजिव कोइराला, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीका राजेन्द्रकुमार राई, जसपाका जयराम यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ विष्णुमाया तुम्बाहाम्फेले संयुक्त रुपमा सोमबार विज्ञप्ति जारी गरी सरकारको असंवैधानिक कदमको विरोध गरेका छन् ।

कार्यपालिकालाई लगाम लगाउने व्यवस्थापिका प्रमुख सभामुख प्रदीपकुमार भण्डारीले नै तोकिएको प्रदेशसभा बैठक सूचना टाँसेर कात्तिक ५ गतेसम्मको लागि स्थगित गरेर असंवैधानिक सरकारको सारथी भएको आरोप लगाएका छन् । सभामुख भण्डारीलाई असंवैधानिक कार्यको साक्षी किनारा नबस्न विपक्षी गठबन्धनले विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएको हो ।

अल्पमतमा परेको सरकारले प्रदेशको आर्थिक व्ययभार बढाउन धमाधम राजनीतिक नियुक्ति गरिरहेको भन्दै विपक्षी गठबन्धनले विरोध गरेको छ । सरकारले गरेको राजनीतिक नियुक्ति, सरुवा, बढुवा तथा एकमुष्ट राखिएको बजेट कार्यकर्तालाई लक्षित गरी धमाधम बाँडफाँट गरिरहेको कार्यकोसमेत गठबन्धनले बिरोध गरेको हो ।

अब बन्ने नयाँ सरकारले अहिलेका असंवैधानिक सरकारले गरेको गैरकानूनी निर्णयहरु खारेज गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ । विश्वासको मत लिन छाडेर चाडपर्वका बीच धमाधम गरिरहेका निर्णय प्रक्रियामा सहभागी नहुन र कार्यान्वयन नगराउन राष्ट्रसेवक कर्मचारीलाई गठबन्धन दलले विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले दुई वटा बोर्ड र एउटा परिषद् गठन गरेको छ । प्रदेश १ मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश पर्यटन विकास बोर्ड, प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश श्रम सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लछुमन तिवारीका अनुसार मन्त्रालयको सचिवको नेतृत्वमा पर्यटन विकास बोर्ड गठन गर्ने निर्णय गरिएको छ । सदस्यमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि, आर्थिक मामिला तथा योजना मन्त्रालयका एक अधिकृत, पर्यटन महाशाखाका प्रमुख रहने छन् ।

यस्तै, उद्योग पर्यटन क्षेत्रबाट विराटनगरका फणिन्द्र अधिकारी, सुनसरीका देवी गौतम, सोलुखुम्बुका भीमराज राई, धनकुटाका उमेश घिमिरे, इटहरीकी प्रेरणा थापा र विर्तामोडकी इन्दिरा श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । सदस्यमध्येबाट उपाध्यक्ष चयन गरिने मन्त्री तिवारीले बताए ।

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा पाँचथरका बाबा मेयाङ्बो, सदस्यसचिवमा विराटनगरका पर्शुराम बस्नेत भन्ने कृष्ण बस्नेत, सदस्यमा सुनसरीका भेषराज कार्की, विप्लव घोष र ओखलढुंगाका थलु राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रदेश श्रम सल्लाहकार परिषद् उपाध्यक्षमा झापाका राजिव घिमिरे, सदस्यमा उद्योग परिसंघ प्रदेश १ अध्यक्ष विराटनगरका भीम घिमिरे, मोरङकी सीता उपाध्याय, धरानका सरोज श्रेष्ठ, इटहरीकी रञ्जु सिग्देल, जिफण्ट प्रदेश १ अध्यक्ष विराटनगरका किशोर धमला, विराटनगरका अरुण थापा, नारायणबाबु कार्की, सुनिता घिमिरे, निलम साह सोनार र सुनसरीका टीका प्रसाईलाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री तिबारीले बताए ।

बैठकले खुपु खोला जलविद्युत आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमासमेत निर्णय गरेको छ । अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति अनुसार बैठकले शेयर लगानी गर्ने निर्णय गरेको मन्त्री तिवारीले बताए । सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङ्ले नवनियुक्त प्रदेश खेलकुद विकास समिति पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहणका साथै पदभार ग्रहण गराएका छन् ।

प्रकाशित : आश्विन २५, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?