३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

घान्द्रुक दुर्घटनामा मृत्यु हुने आठैजनाको सनाखत

कान्तिपुर संवाददाता

काठमाडौँ — घान्द्रुकमा सोमबार जिप दुर्घटनामा परी मृत्यु हुने ८ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौंको गोंगबुबाट घुम्न गएका ५ पुरुष र २ महिला छन् । 

घान्द्रुक दुर्घटनामा मृत्यु हुने आठैजनाको सनाखत

कास्कीको अन्नपूर्ण गाउँपालिको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग१ज ६९०० नम्बरको भाडाको जिप अन्नपूर्ण–१० कलाभिरमा दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३ गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आलेमगर र गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री छन् । उनीहरू दसैं बिदा मनाउन घान्द्रुक घुम्न जाँदै थिए ।

मृतक ८ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाले बताए ।

चालकसहित ९ जना सवार जिपमा रहेकी २० वर्षीया देविजा घिसिङको भने सकुसल उद्दार भएको छ । उनको अवस्था सामान्य छ । मृतक जिल्लप घिसिङ उनको भाइ हुन् । भीरमा अड्किएको अवस्थामा देविजाको स्थानीयले उद्धार गरेका थिए । जिपको पछाडिको ढोका खुल्दा उनी भीरको बीचको रुखमा अड्किएकी थिइन् ।

अन्नपूर्ण गाउँपालिका–१० का अध्यक्ष कुमारप्रसाद गुरुङका अनुसार बाटो बनाइरहेका मजदुरले जिप दुर्घटना भएको देखेका थिए । घान्द्रुकको हुँदु कटेपछि मुल गाउँ नपुग्दैको कलाभीरमा जिप ब्याक हुँदै खसेको थियो । झण्डै डेढ सय मिटर खसेर तल्लो बाटोमा जिप बजारिएको थियो ।


प्रकाशित : आश्विन २५, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?