शिक्षक हत्याका दोषीमाथि जन्मकैदको फैसला

हतियार खरखजनामा थप ५ वर्ष कैद सजाय
आनन्द गौतम

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका २ सान्थाक्राका शिक्षक खड्क बहादुर लिम्बूको हत्याका अभियुक्त प्रताप भन्ने आकाश लिम्बूलाई अदालतले जन्मकैद फैसला गरेको छ ।

शिक्षक हत्याका दोषीमाथि जन्मकैदको फैसला

जिल्ला अदातलका न्यायाधीश प्रकास राउतको इजलासले सान्थाक्राका प्रतापलाई कैदसँगै मृतकका परिवारलाई २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।

प्रहरीका अनुसार जालपादेवी आधारभुत विद्यालयमा कार्यरत शिक्षक लिम्बूलाई गत वैशाख ९ गते प्रतापले भरुवा बन्दुक प्रहार गरेर हत्या गरेका थिए । बेलुका विद्यालयवाट फर्किएका ५० वर्षीय उनलाई घर नजिकै लुकेर बसेका ३० वर्षीय प्रतापले बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तले मनसायपूर्वक हत्या गरेको अदालतको ठहर थियो । साथै हातहतियार तथा खरखजाना मुद्दामा पनि उनीमाथि थप ५ वर्ष कैद सजाय थपिएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार भरुवा बन्दुक उपलब्ध गराउने मैवाखोला गाउँपालिका १ ढुङगेसाँघुका कान्छा काजी भन्ने काजीमान वनेमलाई २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

घटनालगत्तै प्रहरीले पक्राउ गरेका उनीहरु जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा थिए । घटनास्थलमै मृत्यु भएका लिम्बू र हत्या गर्ने प्रताप छिमेकी दाजुभाइ पनि हुन् ।

प्रकाशित : आश्विन २५, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?