कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गण्डक नहरमा भारतले पठायो ७५० क्युसेक पानी

शंकर आचार्य

पर्सा — गण्डक नहरमा भारतले ७ सय ५० क्युसेक पानी पठाएको छ । भारतीय भूमिमा नहरको संरचनामा यस वर्ष दुई पटक क्षति पुगेर पानीको प्रवाह अवरुद्ध भए पनि धान बाली सिजनको अन्त्यतिर भने भारतले नेपाललाई ठूलो परिमाणमा पानी दिएको हो ।

गण्डक नहरमा भारतले पठायो ७५० क्युसेक पानी

नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर सुवोध कुशवाहाका अनुसार बिहीबारदेखि भारतले नहरमा ७ सय ५० क्युसेक पानी दिएको छ । नहरको ब्लक नम्बर ९ देखि ११ सम्म हाल धान बालीको लागि पानीको आवश्यकता रहेको छ । ‘बाराको सिम्रौनगढ क्षेत्रमा माटो तुलात्मक रुपमा केही बलौटे रहेको छ,’ उनले भने, ‘त्यस कारण अन्य ब्लकभन्दा ती ब्लकको धान खेतमा पानीको माग बढी हुने गर्छ ।’

नहरको अन्य ब्लकमा धान बालीको लागि पानीको त्यति धेरै आवश्यकता नरहेको उनले बताए । ‘तुलनात्मक रुपमा यस वर्ष बढी पानी परेकाले नहरको सबै ब्लकमा धान बालीको लागि पानीको आवश्यकता थिएन,’ उनले भने, ‘तर ब्लक ९ देखि ११ सम्म पानीको आवश्यकता थियो, त्यस कारण हामीले भारतसँग कम्तीमा ७ सय ५० क्युसेक पानी माग गरेका थियौँ, भारतमा पनि हाल पानीको माग कम रहेकाले भारतीय पक्षले हामीले मागेजति पानी सहजै दिएको हुनु पर्छ ।’

यस वर्ष असार अन्त्यतिर नहरमा नेपालतर्फ पानी आएको थियो । त्यतिबेला ६ सय ५० क्युसेकसम्म पानी भारतले दिएको थियो । त्यस लगत्तै पहिलो पटक तथा साउन अन्त्यतिर गरी २ पटक गण्डक नहरको संरचनामा भारतीय भूमिमा क्षति पुगेको थियो । त्यतिबेला दुवै पटक त्यहाँस्थित नहरको १ सय ६० आरडीमा भवल गाउँ नजिक नहरको दोन ब्रान्च अन्तर्गत खण्डमा क्षति पुगेको थियो । त्यहाँस्थित मसान खोलामा आएको बाढी नहरमा प्रवेश गर्दा त्यहाँ करिब ५० मिटर नहरको देब्रे किनारमा कटान गरी क्षति पुगेको थियो । पहिलोपटक नेपालतर्फ पनि नहरको संरचनामा क्षति पुगेको नहरमा पानीको प्रवाह बन्द भएको थियो ।

नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपालतर्फ ८१ किमी रहेको छ ।

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको थियो । नेपाल प्रवेश गर्ने र रौतहटको वागमतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ ।

भारतसँगको सम्झौता अनुसार वर्षेनी धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नु पर्छ । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिंचित गर्ने लक्ष्य भए पनि नहर सञ्चालनमा आएको लामो समयदेखि भारतले सम्झौता अनुरुप ८ सय ५० क्युसेक पानी नेपाललाई दिएको थिएन । २ वर्षयता भने भारतीय पक्षले सम्झौता अनुरुपको परिमाणमा पानि दिएको छ ।

प्रकाशित : आश्विन २५, २०७८ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?