मोतीपुर घटनामा घाइते ४ सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं ल्याइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरु र प्रहरीबीच झडप हुँदा घाइते भएका ४ सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरुको सशस्त्र प्रहरी अस्पताल र नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

मोतीपुर घटनामा घाइते ४ सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं ल्याइयो

उद्धार गरी काठमाडौंमा उपचारका लागि ल्याइएकाहरुमा नेपाल प्रहरीका जवानहरु जयकुमार थारु र गेहराजपुन मगर छन् भने सशस्त्र प्रहरीका साहयक हवल्दार खुशीराम चौधरी र हवल्दार तिलक धामी छन् ।

आइतबार मोतीपुरमा प्रहरी र ‌औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बस्नेहरु बीच झडप हुँदा ४ जनाको मृत्यु हुनुका साथै ४९ सुरक्षाकर्मी र १६ सर्वसाधारण घाइते भएका थिए । झडपपछि मोतीपुर क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यू लगाएको छ ।

जग्गा कब्जा गर्न आएका व्यक्ति र जग्गा खाली गर्न पुगेका सुरक्षाकर्मीबीच झडप हुँदा औद्योगिक क्षेत्र तनावग्रस्त बनेको हो । निर्माणाधीन औद्योगिक क्षेत्रमा सुरक्षाकर्मी र प्रहरीबीच आइतबार दिउँसो करिब २ घण्टा झडप भएको थियो । जग्गा कब्जा गर्ने व्यक्ति प्रतिकारमा उत्रेपछि ढुंगा हानाहानबाट सुरु भएको झडप गोलीमा परिणत भएको थियो । प्रतिकार गर्ने व्यक्तिहरुले प्रेट्रोल बम प्रहार गरेपछि प्रहरीले जवाफी गोली फर्काएको जनाएको छ ।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । जुन बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासँग जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गा हो ।

०७३ वैशाख २९ मा यहाँको ८ सय १३ बिघा क्षेत्रफल मोतीपुर औद्योगिक क्षेत्र परियोजनाको नाममा पुर्जा बनेको छ । १२ अर्ब लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित २०७७ फागुन २१ मा शीलान्यास भएको थियो ।

प्रकाशित : आश्विन २५, २०७८ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?