नेपाल भारतबीच नजिकको सम्बन्ध रहेकाले कहिलेकाहीँ समस्या आउनु स्वभाविक हो : महत

रासस

काठमाडौँ — भारत भ्रमणमा रहेका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौं पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविकै हो बताएका छन् ।

नेपाल भारतबीच नजिकको सम्बन्ध रहेकाले कहिलेकाहीँ समस्या आउनु स्वभाविक हो : महत

आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (वीएचयू) मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौं वर्षदेखिको सम्बन्ध हो, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी देखिनु पनि स्वभाविक हो ।'

विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र दिनदयाल अध्ययन केन्द्रद्वारा आयोजित अन्तक्र्रियामा उनले भने, 'धेरै नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ ।' उनले दुई देशबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्ने बताए ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका बीचमा असमझदारी बढेको धारणा राखेका थिए । वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने धारणा पनि उनले राखे ।

भारतीय जनता पार्टीको आमन्त्रणमा चार दिनअघि भारत भ्रमणमा गएको सो प्रतिनिधिमण्डलमा कांग्रेसका नेता उदय शमशेर राणा र अजय चौरसिया छन् । सो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशंकर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो ।

प्रकाशित : आश्विन २५, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?