रातारात करोड कमाउने लोभमा हत्या

कतै दन्त्यकथामा समेत सुन्न नपाइने कुरा उनीहरुले सुनेका थिए– मान्छे पासो लागेर मरेको डोरी ऐनामा देखिँदैन । तर उनीहरुले जसको हत्या गरे, त्यसको घाँटी कसेको डोरी ऐनामा प्रस्टै देखियो ।
लिला श्रेष्ठ

काठमाडौँ — रातारात धनी बन्ने लोभमा मानिस कुन हदसम्म पुग्न सक्छ भन्ने राजधानीको एउटा हत्याकाण्डले देखाएको छ । त्यो पनि पासो लगाएर मान्छे मरेको डोरी बेचेर करोडौं कमाउने । त्यस्तै लोभमा परेर ललितपुरमा एक महिलाको हत्या भएको छ । हत्याको आरोपमा महानगरीय अपराध महाशाखाले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ–५ प्याङचे टोल घर भई ललितपुर महानगर–२८ हरिसिद्धि नयाँबजार बस्ने २३ वर्षीय सविन प्रजा, उनकी पत्नी १८ वर्षीय प्रविना प्रजा र मोरङको पथरी शनिश्चरे–८ मंगलबारे घर भई हरिसिद्धि बस्ने २० वर्षीय सुमन मगर छन् । अभियुक्तहरूले प्रहरीसँग दिएको बयानबाट पासो लगाएर मान्छे मरेको डोरी बेचेर करोडौं कमाउने योजना खुलासा भएको हो ।

उनीहरूले नुवाकोट बेलकोटगढी–९ घर भई ललितपुर महानगर–२७ सुनाकोठी बस्ने ४५ वर्षीया कमला तामाङको डोरीले घाँटी कसेर हत्या गरेको खुलेको महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले बताए । भदौ २५ को बिहान साढे ६ बजे सुनाकोठीस्थित टहरामा कमलाको शव शंकास्पद अवस्थामा फेला परेको थियो ।

अनुसन्धान गर्दा पासो लगाएर मान्छे मरेको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परेर ती महिलाको हत्या भएको खुलेको थियो । हत्याको आरोपितमध्येका सुमन मगरलाई प्रहरीले झन्डै महिना दिनपछि गत बिहीबार हरिसिद्धिबाट पक्राउ गर्‍यो ।

उनी पक्राउ गरेपछि घटनाका धेरै तथ्य बाहिर आए । घटनामा संलग्नताका आरोपित सविन प्रजा र उनकी पत्नी प्रविनालाई महाशाखाले शुक्रबार मकवानपुरको मनहरी–७ बाट पक्राउ गरेको हो । हत्या आरोपी तीनै जनालाई महाशाखाले आइतबार सार्वजनिक गरेको छ । ज्यामी काम गरेर गुजारा गर्ने उनीहरूले छिट्टै धेरै रकम आर्जन गरेर धनी बन्ने सपनामा अन्धविश्वासको लहैलहैमा लागेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘उनीहरूले मान्छे पासो लगाएर मरेको डोरी करोडौंमा बेचिन्छ भन्ने कुरा कतैबाट सुनेका रहेछन्,’ एसएसपी खापुङले भने, ‘सुनेकै भरमा एक्लै बसेकी महिलाको हत्या हुन पुग्यो ।’ सविन र सुमनले मानिस पासो लागी मरेको डोरीसँगै राम–लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुःगबलगायतका वस्तुहरू करोडौं रुपैयाँमा बिक्री हुने हल्ला सुनेका थिए । ‘सो हल्ला कहाँबाट सुनेको भन्नेचाहिँ खुलेको छैन,’ एसएसपी खापुङले भने ।

छिट्टै धेरै रकम आर्जन गरेर धनी बन्ने सपनामा मानिस पासो लागी मरेको डोरी खोज्ने योजना सविन र सुमनले बनाए । योजनाअनुसार उनीहरूले कमलालाई निसानामा राखे । एक्लै बस्ने, हिमचिम भएको र मदिरासमेत सँगै खाने–बस्ने गरेकी कमलालाई हत्या गर्ने योजनामा पुगे सुमन, सविन र प्रविना । सुमन र कमलाबीच पुरानो चिनजान थियो । कमला आफ्ना श्रीमान् र छोरासँग छुट्टिएर ज्यामी काम गरेर गुजारा चलाउँदै आएकी थिइन् । उनीहरूको निसानामा कमला सजिलै परिन् । भदौ २४ गते साँझ सुमन र सविनले आफूहरू टहरामा बस्न आउने भन्दै कमलालाई फोन गरे । कमलाले स्विकारिन् । उनीहरू रक्सी लिएर साँझ कमलाको टहरामा पुगे । सँगै पिए ।

उनीहरू राति टहरामै सुते । मापासे गरेर सुतेकी कमलालाई सुतेकै अवस्थामा सुमन र सविनले हातमा उनकै सलले बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरे । महाशाखाका डीएसपी निसान थापाका अनुसार उनीहरूले हत्या गर्ने योजना बनाएर इनारमा प्रयोग हुने ३ फिट डोरी लगेरै गएका थिए । हत्यापछि डोरीसँगै कमलाले कानमा लगाएको गहना, मोबाइलसमेत लिएर भदौ २५ को बिहानै उनीहरू टहराबाट हिँडे ।

उनीहरूले केसमेत गरे भने, बिहानै नुहाएर धुप बालेर पूजासमेत गरी डोरीलाई ऐनामा समेत देखाए । ‘पासो लगाएर मान्छे मरेको डोरी करोडौंमा बिक्री हुन्छ भन्ने कुरासँगै उनीहरूले अर्को कुरा पनि सुनेका रहेछन्,’ डीएसपी थापाले भने, ‘पासो लगाएको डोरी ऐनामा देखाएर हेर्‍यो भने शुद्ध भएमा देखिँदैन । शुद्ध नभए देखिन्छ ।’

त्यही हल्लाकै भरमा उनीहरूले बिहानै डोरी ऐनामा देखाए । तर, डोरी ऐनामा देखियो । ऐनामा देखिएपछि उनीहरूले कमलाको हत्यामा प्रयोग गरेको डोरी खोलामा फ्याँकेको बताएको उनले बताए । कमलाले कानमा लगाएको गहनासमेत नक्कली भएको खुलेपछि फ्याँकेको उनीहरूले बताएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग भएको डोरी र गहना भने भेटिएको छैन ।

प्रकाशित : आश्विन २५, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?