कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

देउवा र पौडेल समूह प्रतिस्पर्धा कडा

५५० स्थानीय तहमा नेतृत्व छनोट सकियो, २०३ वटामा अधिवेशन हुन बाँकी
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको जिल्ला तथा पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह हाराहारी अवस्थामा देखिएका छन् । महाधिवेशन प्रतिनिधिमा भने देउवा समूहले अग्रता लिएको छ ।

देउवा र पौडेल समूह प्रतिस्पर्धा कडा

केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबारसम्म ५ सय ५० स्थानीय तहमा नेतृत्व चयन भएको छ । क्रियाशील सदस्यता र अन्य विवादका कारण वडा अधिवेशन हुन नसकेका २ सय ३ स्थानीय तहमा अधिवेशन हुन बाँकी छ ।

अधिवेशन भएकामध्ये २ सय ५२ स्थानीय तहमा देउवा समूह र २ सय ५६ स्थानीय तहमा वरिष्ठ नेता पौडेल समूहका सभापति निर्वाचित भएका छन् । यसबाहेक सिटौला समूहका २७ र तटस्थ १५ जना छन् । प्रदेश १ मा पौडेल समूहबाट निर्वाचितमध्ये केही कोइराला (शशांक र शेखर) समूहका छन् । अधिवेशन सम्पन्न भएका ६ महानगरपालिकामध्ये ललितपुरमा मात्र देउवा समूहका शुभानन रत्न धाख्वा निर्वाचित भएका छन् । पौडेल समूहका काठमाडौंमा नीलकाजी शाक्य, विराटनगरमा दीपक चापागाईं, पोखरामा सुरेन्द्रमान बिजुक्छे र भरतपुरमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् । चापागाईं नेता शेखर कोइरालानिकट हुन् ।

जिल्ला अधिवेशन भएका १३ हिमाली जिल्लामा दुवै समूहका सभापति हाराहारी भए पनि महाधिवेशन प्रतिनिधिमा देउवा समूह अगाडि छ । देउवा समूहबाट हुम्लामा मोहनविक्रम सिंह, मुगुमा ऐनबहादुर शाही, रुकुम पूर्वमा केशरमान रोका, मनाङमा शंकर गुरुङ, ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम) र बझाङमा खडक बोहरा जिल्ला सभापति निर्वाचित भएका छन् । पौडेल समूहबाट कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, संखुवासभामा दीपक खड्का र बाजुरामा रामसिंह रावल चुनिएका छन् । गोरखामा नेता गगन थापानिकट नन्दप्रसाद न्यौपाने सभापति निर्वाचित भएका छन् ।

शुक्रबारसम्म जिल्ला तथा क्षेत्रीय सभापतिसहित ३ सय ६२ जना महाधिवेशन प्रतिनिधि चुनिएकामा देउवा समूहका १ सय ९६, पौडेल समूहका १ सय २१, सिटौला समूहका २० र तटस्थ तथा अन्य गरी २५ जना छन् । महाधिवेशन प्रतिनिधिमा युवाको संख्या बढेको छ । कर्णालीमा निर्वाचित ७६ जना प्रतिनिधिमध्ये २४ (३० प्रतिशत) र वाग्मतीमा ५२ जनामध्ये १० जना (करिब २० प्रतिशत) ४० वर्षमुनिका छन् ।

प्रदेश २ का ८ जिल्लाका साथै सुर्खेत, डोल्पा, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन हुन सकेको छैन । कांग्रेसको विधानअनुसार वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लाको नेतृत्व छान्न मतदान गर्छन् । प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका प्रतिनिधिसमेत क्षेत्रीय प्रतिनिधिबाटै चुनिन्छन् । प्रारम्भिक नतिजाअनुसार सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेशमा देउवा समूह अघि छ । वाग्मतीका निर्वाचन सम्पन्न १ सय ४ मध्ये ५२ पालिकामा देउवा समूहका सभापति भएका छन् । पौडेल समूहका ४४ र सिटौला समूहका ८ जना सभापति चुनिएका छन् । पौडेल (कोइरालासमेत) समूह प्रदेश १ मा अगाडि छ । त्यहाँ १ सय ३४ पालिकामध्ये देउवा समूहले ४५ र पौडेल समूहले ७३ मा सभापति जितेको छ । सिटौला समूहले १५ सभापति जितेको छ । नेता विश्वप्रकाश शर्मानिकट पनि एकजना सभापति निर्वाचित भएका छन् । डडेलधुराका ७ र ओखलढुंगाका ८ स्थानीय तहमा देउवा समूह र संखुवासभाका १० स्थानीय तहमा पौडेल समूहले एकलौटी जितेको छ । हुम्लामा २६ जना नै महाधिवेशन प्रतिनिधि देउवा समूहबाट छन् ।

शशांक समूहले आकार लिँदै

पौडेल समूहमा रहेका महामन्त्री शशांक कोइरालाको समूहले स्थानीय तहबाट आकार लिएको छ । हालसम्म ६ स्थानीय तहमा कोइराला समूहका पालिका सभापति निर्वाचित भएका छन् । प्रदेश १ मा समेत कोइरालानिकट केही पालिका सभापति निर्वाचित भएका छन् । गण्डकी प्रदेशमा उनीसहित नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह र प्रदीप पौडेलनिकट १५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

देउवा समूहबाट अलग्गिएर सभापति उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिको पक्षमा कर्णालीमा एक जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पौडेल समूह भनेर चिनिने समूहभित्र शेखर कोइराला पक्षको वर्चस्व जबर्जस्त बढेको बताउँछन् । ‘पौडेल समूह भनिए पनि त्यो देउवाविरुद्धको समूह हो, यसमा सबै नेता (शशांक–शेखर, प्रकाशमान सिंह) लाई मन पराउने प्रतिनिधि आउनुभएको छ,’ उनले भने, ‘भोलि यस समूहभित्र जसको वर्चस्व देखिन्छ, उही सभापतिको साझा उम्मेदवार बन्छ ।’

कार्यतालिका प्रभावित

क्रियाशील सदस्यता विवादका कारण विभिन्न तहको निर्वाचन कार्यतालिका प्रभावित हुँदै आएको छ । बारा, रौतहट र रसुवाको क्रियाशील सदस्यता अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार क्रियाशील सदस्यता टुंगिएका अन्य १० जिल्लाको वडा अधिवेशन हुन सकेको छैन । सुर्खेत, डोल्पा, कैलाली, बाँके, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको वडा अधिवेशन दसैंपछि हुने उनले बताए । ‘पार्टीले तीन जिल्लाको सदस्यता सूची पठाएपछि निर्वाचन समितिले १३ वटै जिल्लाको वडाको कार्यतालिका निकाल्छ,’ उनले भने ।

केन्द्रीय निर्वाचन समितिले दसैंअघि २१ हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरे पनि ८ जिल्लाको अधिवेशन प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचन समितिका अनुसार ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, गोरखा, मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला, रुकुमपूर्व, बाजुरा, बझाङ र मुगुको जिल्ला नेतृत्व चयन भएको छ । आगामी मंसिरमा हुने १४ औं महाधिवेशनका लागि देशभरबाट करिब ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि छानिन्छन् । महाधिवेशन परिणामलाई प्रभावित गर्ने ठूला जिल्लामा भने महाधिवेशन प्रतिनिधिको निर्वाचन सुरु भएको छैन ।

(प्रदेश ब्युरोहरूको सहयोगमा)

प्रकाशित : आश्विन २५, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?