१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि मोबिल आक्रमण

घनश्याम खड्का

म्याग्दी — नेत्रविक्रम चन्द समूहले चन्दा नदिएको आरोपमा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीमाथि मोबिल आक्रमण गरेका छन् ।

सुवेदीमाथि आइतबार मध्याह्न उनकै कार्यकक्षमा आएका ५ जना चन्दका कार्यकर्तामध्ये एकले गाडीमा प्रयोग भएको मोबिल छ्यापेका हुन् । घटनाका बेला सुवेदी केही जनप्रतिनिधि र सेवाग्राहीसँग कुराकानी गरिरहेका थिए । उक्त समूहले फालेको मोबिल सुवेदीको शरीर तथा टेबल, भित्ता र भुइँमा छरिएको थियो । ‘केही जनप्रतिनिधि र सेवाग्राहीसँग कामको विषयमा छलफल चल्दै थियो, एक्कासि आएको समूहका एक जनाले प्लास्टिकबाट केही झिकेर फाल्यो, म कोल्टे परेकाले आँखामा पर्नबाट जोगिएँ,’ प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘प्रतिबन्धित समयदेखि नै पटक–पटक मलाई चन्दा मागेका थिए । मैले संस्थागत तोकिएको रकम दिन सक्दिनँ, व्यक्तिगत रूपमा धेरथोर दिन्छु भनेको थिएँ । चन्दा माग भएको विषयबारे मैले नगर कार्यपालिका बैठकमा जानकारी पनि राखेको थिएँ ।’ आफूले पदको दुरुपयोग गरी सम्पत्ति आर्जन नगरेको उनको दाबी छ ।

मोबिल छ्यापेर भाग्ने क्रममा मुगुको खत्याड गाउँपालिका–४ घर बताउने विजय विकलाई सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीले ढोकामा समात्न भ्याएका थिए । प्रहरीले नियन्त्रणमा लिएका विकले बोकेको झोलाबाट २ लाख ५३ हजार चन्दा संकलन गरिएको ‘युवा संगठन नेपाल, केन्द्रीय समिति’ लेखेको ‘विशेष सहयोग रसिद’ को एक ठेली, मोबाइल सेट, लेडिज घडी र राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं लेखिएको पर्चा बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । ‘सबै कार्यालय र धेरै हाई प्रोफाइलसँग तोकिएर चन्दा माग्ने गरेको सुनिएको छ । तर कसैले पनि हामीलाई जानकारी गराउँदैन,’ उनले भने । सुरक्षा स्रोतले विप्लव समूहले जिल्लाका सबै सरकारी कार्यालय, जनप्रतिनिधि, स्थानीय तह, निर्माण व्यवसायीलगायतसँग चन्दा मागेको जनाएको छ ।

घटनापछि बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले प्रमुख प्रशासकीय अधिकृतमाथि अपमानजनक व्यवहार भएको भन्दै भर्त्सना गरेको छ । बैठकले पटक–पटक नगरपालिकासँग ठूलो आर्थिक सहयोग मागिएको र कानुनी रूपमा दिन असमर्थ रहेको जनाएपछि आक्रमण गरिएको उल्लेख गरेको छ । ‘यसअघि भूमिगत रहँदादेखि नै पटक–पटक सहयोग मागिएको थियो । कानुनी रूपमा आर्थिक सहयोग गर्ने ठाउँ पनि थिएन । नगर कार्यपालिका बैठकले सहयोग गर्न नसकिने निर्णय कार्यान्वयन गर्दा गरिएको निकृष्ट व्यवहारप्रति खेद व्यक्त गर्दै घटनाको भर्त्सना गर्दछौं,’ नगर प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘संलग्नलाई तत्काल कडा कारबाही गरिनुपर्छ ।’ राजनीतिक दलको पर्चा र सहयोग रसिद बोकेका कार्यकर्ताले गर्दै आएका अराजनीतिक गतिविधि सच्चिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : आश्विन २५, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?