मोतीपुर घटना : ४ जनाको मृत्यु, २ दर्जनभन्दा बढी घाइते - समाचार - कान्तिपुर समाचार

मोतीपुर घटना : ४ जनाको मृत्यु, २ दर्जनभन्दा बढी घाइते 

सन्जु पौडेल, अमृता अनमोल

काठमाडौँ — बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । 

'युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको छ,' अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरूङले कान्तिपुरलाई जानकारी दिए । उनका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । १ को उपचारको क्रममा मृत्युभएको हो । अन्यको उपचार हुँदैछ ।’

प्रहरी स्रोतका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । बाटोमै मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ । उनीहरुमध्ये २ जना अन्दाजी ४० र एक जना २० वर्षका पुरुष छन् ।

चारै जनाको सब भैरहवा मेडिकल कलेजमा रहेको अस्पताल प्रशाशनले जनाएको छ । तर, रुपन्देहीका सुरक्षा अधिकारीहरुले यसलाई आधिकारिक पुष्टि गरेका छैनन् ।

झडपमा सुरक्षाकर्मीसहित जग्गा कब्जा गर्नेहरु घाइते भएपछि प्रहरी प्रमुख मनोज केसी र प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारी संचारकर्मीको सम्पर्क बाहिर छन् ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २४, २०७८ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्

रुपन्देहीका विभिन्न स्थानमा बाढी पस्दा बस्तीमा क्षति

बाढीले बुद्धनगर र तल्लो मझवा जोड्ने सडक बगायो
सन्जु पौडेल, अमृता अनमोल

तिलोत्तमा — अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न स्थान डुबानमा परेका छन् । तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा आएको बाढी, नदी कटान र डुबानले समस्या परेको छ । मध्यरातमै नगरप्रमुखसहित अन्य जनप्रतिनिधि, सुरक्षाकर्मी, टोल समितिका पदाधिकारी लगायतले तिलोत्तमा–११ को भुपु सैनिक ग्रुप –५ क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

रोहिणी नदी बस्तीतिर पसेपछि ग्रुप–५ पूर्वतिरका ४०/४५ घर डुबानमा परेका थिए । पानी रोकिएर सतह घटेपछि अहिले बस्ती सुरक्षित रहेपनि पुन: वर्षा भए बस्ती जोखिममा पर्ने नगरप्रमुख वासुदेव घिमिरेले बताए । यसबारे आफूले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायमा जानकारी गराएको घिमिरेले बताए ।

त्यस्तै वडा नम्बर १० मा बाढीका कारण असुरक्षित बनेका ६ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । तिलोत्तमाको मौवाबारीमा सुकौरा खोलामा आएको बाढीले ३ वटा कच्ची घर बगाएको छ । तिलोत्तमा–९ का धनबहादुर सार्की, रघुवीर दमाई तथा नेमबहादुर रुचालको कच्ची घर बगाएको छ । तिलोत्तमा–८ को सत्कुलो नहरको पानीको बहाब बढेर घर भत्काएको प्रहरीले जनाएको छ ।

यता बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा पनि सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर र केही बाख्राको खोर बगाएको स्थानीयबासीले बताएका छन् ।

चरंगे खोलामा आएको बाढीले देवदह–१० का रामबहादुर श्रेष्ठको एक तले घरसहित दुईवटा बाख्रा र कुखुराहरु लगायत बगाएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको मायादेवी गाउँपालिकाको वनगाई, मकरी, गौरट्टी, बेथरीलगायतका गाउँमा बाढी पस्दा अधिकांश क्षेत्र डुबानमा परेको स्थानीयले बताए ।

बाढीले बुद्धनगर र तल्लो मझवा जोड्ने सडक बगायो

तिनाउ नदीले बुटवल ११ मा कटान गर्दै । तस्बिरहरू : अमृता अनमोल /कान्तिपुर

भारी वर्षासँगै शुक्रबार राति आएको बाढीले अहिलेसम्म रुपन्देहीका २८ घर बगाएको छ । ६ जना घाइते भएका छन् । एक सय बढी घर डुबानमा परेका छन् । दर्जनाैं घरपरिवार विस्थापित भएको प्रहरीको प्रारम्भीक तथ्यांक छ ।

बाढीले बुटवल–११ बुद्धनगर र तल्लो मझवा जोड्ने सडक बगाएको छ । यसले मझुवाका एक सय घरसँगको सडक सम्बन्ध विच्छेद गराएको वडाअध्यक्ष रामचन्द्र खनालले बताए । बाढीको बेगले पक्कीपुलसमेत जोखिममा छ ।

बाढीको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने काम भइरहेको उनले बताए । तिनाउ, दानव, रोहिणी नदी र सुखौरा खोलाले बुटवल, तिलोत्तमा, देवदह, ओमसतिया, सम्मरीमाई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका दर्जनाैं घर डुबानमा परेका छन् । डुबानको क्षति संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

प्रकाशित : आश्विन १०, २०७७ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×