कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त: २ दर्जन घाइते, १ को मृत्यु भएको स्थानीयको दावी

अमृता अनमोल

बुटवल — बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरु र प्रहरीबीच झडप हुँदा यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त: २ दर्जन घाइते, १ को मृत्यु भएको स्थानीयको दावी

जग्गा कब्जा गर्न आएका व्यक्ति र जग्गा खाली गर्न पुगेका सुरक्षाकर्मीबीच झडप हुँदा औद्योगिक क्षेत्र तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन रुपन्देही प्रशासनले मोतीपुर औद्योगिक क्षेत्र आसपासमा कर्फ्यूसमेत लगाएको छ ।

निर्माणाधीन औधोगिक क्षेत्रको बुटवल उपमहानगरपालिका १७ र १८ वडामा कर्फ्यू जारी भएको प्रशासन कार्यालयले जनाएको छ यसअघि दिउँसो सुरक्षाकर्मी र प्रहरीबीच करिब २ घण्टा झडप भएको थियो ।

जग्गा कब्जा गर्ने व्यक्ति प्रतिकारमा उत्रेपछि ढुंगा हानाहानबाट सुरु भएको झडप गोलीमा परिणत भएको थियो । प्रतिकार गर्ने व्यक्तिहरुले प्रेट्रोल बम प्रहार गरेपछि प्रहरीले जवाफी गोली फर्काएको जनाएको छ । झडपमा सुरक्षाकर्मी र जग्गा कब्जा गर्ने व्यक्तिसहित २ दर्जन बढी घाइते भएका छन् ।

झडपमा एक जनाको मृत्यु भएको स्थानीयको दावी छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरेको छैन । लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा १५ सुरक्षाकर्मी र ८ कब्जा गर्ने व्यक्तिको उपचार भइरहेको छ ।

समाचार संकलनमा गएका एक संचारकर्मी विश्व ज्ञवालीसमेत कब्जा गर्ने समूहबाट घाइते भएका छन् । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले उद्वारमा खटिरहेकाले घाइतेको संख्या यकिन नभएको बताए ।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । जुन बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासँग जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गा हो ।

०७३ वैशाख २९ मा यहाँको ८ सय १३ बिघा क्षेत्रफल मोतीपुर औद्योगिक क्षेत्र परियोजनाको नाममा पुर्जा बनेको छ । १२ अर्ब लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित २०७७ फागुन २१ मा शीलान्यास भएको थियो ।

प्रकाशित : आश्विन २४, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?