२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पहिले पार्टीको महाधिवेशन, अनि मात्रै आमनिर्वाचन : सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले पहिले पार्टीको महाधिवेशन गरेर छिट्टै आमनिर्वाचनमा जानुपर्ने बताएका छन् । पार्टीमा महाधिवेशन स्थगित गरेर ‘अर्ली इलेक्सन’ गर्नुपर्ने बहस चलिरहेका बेला नेता सिंहले आमनिर्वाचनभन्दा पहिले पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिए ।

पहिले पार्टीको महाधिवेशन, अनि मात्रै आमनिर्वाचन : सिंह

‘अहिले संसद्को जुन अवस्था छ, यो ठीक छैन । अब फ्रेस म्याण्डेड लिनुपर्छ । तर त्योभन्दा अगाडि कांग्रेसको महाधिवेशनचाहिँ समयमा हुनुपर्छ,’ नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘नत्र सत्तामा जाने एक जना, त्यसको लाभ लिने एक थरी । अनि त्यसको जवाफ हामीले दिनुपर्ने, त्यस्तो कहाँ हुन्छ ? त्यसैले बेलैमा महाधिवेशन गरेर निर्वाचनमा जानुपर्छ ।’

उनले १४ औँ महाधिवेशनमा पार्टीका कार्यकर्ताले गलत नेतालाई चुनेको अवस्थामा भविष्य अन्धकारमा पर्ने बताए । ‘१४ औं महाधिवेशनमा तपाईंहरुले गलत नेतालाई चुन्नुभयो भने भविष्य अन्धकारमा जान्छ । १३ औं महाविधेशनपछि नेतृत्वले काम गर्न सकेन । अहिले डेमोक्रेसी धब–धब भइसकेको छ । राम्रो नेतृत्व नहुँदा डेमोक्रेसी घिडघिडे अवस्थामा पुगेको छ,’ उनले भने । नेता सिंहले कांग्रेसमा अब नेतृत्व लिनका लागि नयाँ पुस्ता तयार भइसकेको बताए ।

‘म शेरबहादुर दाइलाई सम्मान गर्छु । उहाँ सिनियर लिडर हो । रामचन्द्र दाइलाई पनि सम्मान गर्छु । तर मैले उहाँहरुलाई व्यक्तिगत रुपमा भेटेर भनेको छु– म बाहिर आइसकेँ भनेर,’ उनले भने, ‘तपाईंहरुले सम्मानपूर्वक तरिकाले छाडिदिँदा राम्रो हुन्छ भनिसकेको छु ।’

नेता सिंहले बहुदल स्थापनापछि एउटै व्यक्तिहरु निरन्तर नेतृत्वमा हुँदा देश र जनताले अपेक्षाकृत परिवर्तनको महसुस गर्न नपाएको बताए । ‘बहुदल आएको यतिका वर्ष भइसक्यो । खै त देशले जनताले अपेक्षा गरेअनुसार देशको अवस्थामा के परिवर्तन भयो र ? के कांग्रेस ? के कम्युनिष्ट ? बहुदल आइसकेपछि मिलिजुलीको राजनीति चलेको छ,’ उनले भने, ‘अब यो पुस्ताले छाड्नुपर्छ । अर्को पुस्ता आइसक्यो । उहाँहरु रिटायर्ड हुनुपर्छ ।’

नेता सिंहले कांग्रेसमा आफूलाई राजकुमार भनिदिने गरेकोमा आपत्ति जनाए । ‘मलाई कसै–कसैले राजकुमार भन्दा रहेछन् । म के को राजकुमार ? पार्टीमा कोही राजकुमार होला । तर म त्यो स्टाटसमा छैन । मैले कांग्रेसको एउटा साधारण कार्यकर्ताले जुन दुःख भोगेर आएको छ ।म त्यसको भुक्तभोगी छु । मैले त्यो सबै दुःख कष्ट भोगेर आएको छु,’ नेता सिंहले भने, ‘गणेशमान–मंगलादेवीको छोरा हुन सजिलो छैन । मैले त प्रतिबन्धित अवस्थामा पुलिस थाना र डण्डा खाएको छु । लाठी खाएको छु । बेञ्च बोकेको छु, भर्‍याङ बोकेको छु । वाल पेन्टिङ गरेको छु । मैले सबै किसिमको दुःख कष्ट भोगेको छु ।’

उनले आफूले गणेशमानको नाम बेचेर राजनीति गर्न नचाहेको दाबी गरे । ‘म केन्द्रीय राजनीति बाबुको नामबाट चल्दैन भनेर पहिलेदेखि पार्टीमा लागेको मान्छे हुँ । म पार्टीको जिल्ला सभापति हुँदै काम गरेर आएको हुँ,’ उनले भने ।

प्रकाशित : आश्विन २४, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?