१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

हिरासतभित्रै थुनुवाको मृत्यु प्रकरण : प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जन बढी घाइते [अपडेट]

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रहरी हिरासतभित्रै थुनुवाको मृत्यु भएपछि आन्दोलित भएका आफन्त र प्रहरीबीच झडप हुँदा दर्जन बढी घाइते भएका छन् । पीडित परिवारले ढुंगा प्रहार गर्न थालेपछि दोहोरो झडप भएको हो ।

हिरासतभित्रै थुनुवाको मृत्यु प्रकरण : प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जन बढी घाइते [अपडेट]

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनबढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा परी दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीले मृतक मियाँको शव उठाएर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको छ ।

आइतबार बिहानैदेखि इनरुवा तनावग्रस्त बनेको छ । १२ दिनदेखि थुनामा रहेका २२ वर्षीय मोहम्मत हाकिम मियाँको आइतबार बिहान ३ बजेर १७ मिनेटमा जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा झुण्डिएर मृत्यु भएपछि मृतकका आफन्तले कार्यालय अगाडि नारा जुलुस लगाउँदै आन्दोलित भएका हुन् ।उनी हिरासतबाट छुट्ने दिनमै मृत्यु भएपछि आफन्तले षड्यन्त्र भएको आरोप लगाएका छन् । इनरुवाका स्थानीय बासिन्दा इजरायल मन्सुरीकाअनुसार एकजना खत्वे समुदायकी १९ वर्षीया युवतीसँग प्रेम भएपछि दुवैजना भागेका थिए । तर, प्रहरीले धनकुटाबाट पक्राउ गरेर ल्याएको थियो । विवाहका लागि केटीको उमेर नपुगेकाले प्रहरीले अभिभावकलाई जिम्मा लगाएका थिए । मियाँलाई भने प्रहरी र केटीपक्षले अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने, ‘मियाँको मृत्यु कसरी भयो भन्ने सबै कुरा हिरासतभित्र राखिएको सिसिटिभि फुटेजमा देखिएको छ । उनी बिहान उठेर शौचालय गएको देखिन्छ । त्यसपछि फर्केर आएर गाम्छाले बेरिएर हिरासतभित्रै आत्महत्या गरेको देखिएको छ । त्यसबेला हिरासतभित्र अरु थुनुवा भने बिहानै भएकाले अरु सुतिरहेका थिए ।’

यसैबीच, मृतक मियाँका आफन्तहरूले इनरूवा-९ बबियास्थित केटी पक्षको गोदाममा आगजानी गरेका छन् । सुनसरीका एसपी सञ्‍जयसिंह थापाका अनुसार गोदममा लगाइएको आगो नियन्त्रणमा आइसकेको छ । 'आन्दोलनकारीहरूले केटी पक्षको घरमा पनि आगजनी र तोडफोड गर्न खोजेका थिए तर प्रहरी तैनाथ गरिएकाले क्षति हुनबाट जोगियो,' एसपी थापाले भने ।

प्रकाशित : आश्विन २४, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?