कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सीता भण्डारी मृत्यु प्रकरण : नागरिक समाजले साथ दिए शव उठाउन राजी

मृतकका भाइ भन्छन्– ‘नागरिक समाज आन्दोलनमा उत्रिएकाले पारिवारिक निर्णयले मात्र शवको अन्त्येष्टि गर्न मिलेन’
सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको तिलोत्तमा–५ स्थित आफ्नै घरमा मृत फेला परेकी सीता भण्डारीको शव ३५ दिन बित्दासमेत अन्त्येष्टि भएको छैन । आत्महत्या नभई परिवारले मारेको दाबीसहित माइती पक्ष र नागरिक समाज आन्दोलनमा उत्रिएपछि शवको अत्येष्टि नभएको हो ।

सीता भण्डारी मृत्यु प्रकरण : नागरिक समाजले साथ दिए शव उठाउन राजी

घटनापछि नागरिक समाज आन्दोलनमा उत्रिएकाले पारिवारिक निर्णयले मात्र शवको अन्त्येष्टि गर्न नमिलेको मृतकका भाइ सुरज भण्डारीले बताए ।

‘आफूहरूले कर्तव्य ज्यान मुद्दामा सीताका श्रीमान् टीका पौड्याल, उनका दाजु हरि र दिदी विष्णुविरुद्ध मुद्दा दर्ता गरे पनि अदालतले आत्महत्या दुरुत्साहन प्रयास मुद्दा चलाइरहेको छ,’ उनले भने, ‘हाम्रो जाहेरीअनुसार पनि केस लडिँदो रहेनछ । अबको उपाय आफूहरूलाई साथ दिइरहेकाहरूसँग छलफल गरी शवको अन्त्येष्टि र अपराधीलाई कडा सजाय दिलाउने हुनेछ ।’ पोस्टमार्टम रिपोर्टमा झुन्डिएर आत्महत्या गरेको देखिए पनि माइती पक्षले भने सीताको हत्या भएको दाबी गर्दै आएको छ । २२ दिनसम्म चलेको आन्दोलन अदालतमा मुद्दा दर्तापछि स्थगन भएको थियो ।

सम्पत्तिकै लागि आफ्नी दिदीको हत्या गरेर आत्महत्या साबित गर्ने प्रपञ्च रहेको सुरजले आरोप लगाए । पोस्टमार्टममा आत्महत्या देखिएपछि प्रहरीले माइती पक्षको जाहेरीका आधारमा मृतक सीताका श्रीमान्, जेठाजु र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहन र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो । अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत रूपन्देही आएर फर्केको थियो ।

मृतकको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको र त्यसले आत्महत्या पुष्टि गरेको भन्दै प्रहरीले असोज १६ गते प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो । सुसाइड नोटमा ‘मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखमा जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ’ भनी लेखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए ।

प्रहरीका अनुसार पछिल्लो समय परिवारमा सम्पत्ति बाँड्ने र रिसोर्ट चलाउनेबारे विवाद भएको थियो । पौडेल दम्पती कोरोनाका कारण अप्ठेरोमा परेकाले रिसोर्ट बेच्ने पक्षमा थिए । तर, त्यस कुरालाई परिवारले इन्कार गरेका थिए । प्रहरीले मृतक सीता र श्रीमान् टीकाको मोबाइलको प्राविधिक परीक्षणसमेत गरेको थियो । सीताको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा छ ।

प्रकाशित : आश्विन २४, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?