अर्गानिक खेतीमा जोड दिँदै एग्रो

मधु शाही

बाँके — ‘तरकारीमा किरा लाग्यो, विषादी दिनुहोस्’ भन्दै किसान एग्रोभेट आउँछन् । एग्रो व्यवसायी किरण खनालले किसानले भनेकै विषादी तुरुन्तै दिँदैनन् । उनी केही समय किसानसँग छलफल गर्छन् । बालीमा रासायनिक विषादी राख्दाका बेफाइदा सुनाउँछन् र अर्गानिक तरकारी फलाउने उपाय सुझाउँछन् । बालीमा कीटाणु लाग्न नदिन र लागेमा कीटाणु मार्ने अर्गानिक तरिका पनि बताउँछन् । आवश्यक परे किसानको खेतमै पुगेर प्रयोग गर्ने विधिसमेत सिकाउँछन् ।

अर्गानिक खेतीमा जोड दिँदै एग्रो

नेपालगन्जस्थित धम्बोजी–१ का किरणको मोर्डन एग्रो टेक्नोलोजी नामको एग्रोभेट छ तर किसानलाई खेती गर्दा अर्गानिक ढंगले गर्न विशेष जोड दिँदै आएका छन् । ‘तरकारीलाई अर्गानिक तरिकाबाट विषादीमुक्त बनाउने सबैभन्दा राम्रो विधि भनेकै ट्र्याप विधि हो । प्रुफिलियन, एल्लो टिकिङ, टुटा, आकर्षणलगायत थुप्रै ट्र्याप विधि छन् । एल्लो टिकिङ धेरै किसानले तरकारीमा प्रयोग गर्न थालेका पनि छन्,’ उनले भने ।

एल्लो टिकिङको अर्को नाम एल्लो कार्ड पनि हो । पहेँलो रंगको चिपचिपे कार्डलाई किसानले खेतबारीका ठाउँठाउँमा झुन्ड्याएर राख्छन् । तरकारी खान आउने किरा त्यही कार्डमा टाँसिन्छन् । ‘यसमार्फत बिनारसायनको प्रयोग विनाशकारी किरा मर्छन्,’ उनले भने । त्यस्तै, टुटा ट्र्याप खास गरी टमाटरमा प्रयोग गरिन्छ । ‘आकर्षण ट्र्यापचाहिँ अलि फरक छ । डब्बाभित्र गन्ध आउने पदार्थ राखिएको हुन्छ । त्यसैको गन्ध सुँघ्दै भाले किरा आएर बक्समा फस्ने गर्छन्,’ उनले थपे ।

१० वर्षदेखि एग्रोभेट सञ्चालन गर्दै आएका उनले पछिल्लो ७ वर्षयता अर्गानिक खेती गर्न किसानलाई जोड दिँदै आएको बताए । बाँकेमा पछिल्लो समय अर्गानिक खेती गर्ने संस्कार बढ्दै गएको उनको भनाइ छ । ‘तर जति बढ्नुपर्ने हो त्यति हुन भने अझै सकेको छैन,’ उनले भने । किसान तथा व्यापारी किरा लागेको, बांगोटिंगो भए तरकारी बिक्री नहुने गुनासो गर्छन् । तर अर्गानिक तरकारीमा किरा लागेकै हुन्छ । अर्गानिक खेतीप्रति किसानलाई जनचेतना फैलाउन र सरकारी स्तरबाट पनि विशेष पहल नहुँदा केही निराशा देखिएको उनको बुझाइ छ ।

नेपालगन्ज परस्पुरका धनु यादवले केही वर्षदेखि रासायनिक विषादी प्रयोग गर्न छोडेका छन् । किरणको एभ्रोगेटमा आएपछि उनले अर्गानिक तरकारी उत्पादन शैली सिकेको बताए । तीन वर्षदेखि किरालाई पासो लगाउने एल्लो कार्डको सहायताले विषादीरहित तरकारी फलाउँदै आएको उनले सुनाए । ‘मलाई किरा फसाउने तरिका हुन्छ भन्ने थाहा थिएन,’ उनले भने, ‘यो विधि प्रयोग गर्न थालेपछि घरमै अर्गानिक तरकारी किन्न मान्छे आउँछन् । तर बजारमा भने अर्गानिक तरकारी बेच्न दुःखै छ ।’ जनमानसमा हेर्दा राम्रा, किरा नलागेका र आकर्षक तरकारी खोजी हुने हुँदा अर्गानिक तरकारीले खासै स्थान नपाउने उनको अनुभव छ ।

किरणले भनेजस्तै अर्गानिक खेतीमा किसानलाई न त सरकारले साथ–सुविधा दिएको छ, न जनस्तरमा चेतना छ । बाँकेमा कृषि उत्पादनमा जति कार्यक्रम ल्याइन्छ, त्यसमध्ये अर्गानिक खेतीमा प्रोत्साहनका लागि खासै योजना नभएको उनको दाबी छ । यद्यपि, उनले पछिल्लो ७ वर्षमा किसानले आफ्नै बलबुतामा विषादीरहित खेती गर्ने परम्परा भने बढेको सुनाए ।

उनको एग्रोभेटबाट बाँके, बर्दिया, कर्णाली प्रदेशदेखि काठमाडौंसम्म विषादीरहित औषधिको माग छ । सामान्यतः भारतबाट ल्याइने यस्ता औषधि र सामग्री रासायनिक औषधिभन्दा ३० प्रतिशतले महँगो पर्ने उनले सुनाए । यदि अर्गानिक बाली गर्ने किसानलाई केही प्रतिशत छुटको व्यवस्था भयो भने पनि धेरैको आकर्षण बढ्ने उनको बुझाइ छ । ‘व्यक्तिले भन्दा पनि राज्यले नै नीति बनाएर अर्गानिक खेतीमा प्रोत्साहनका कार्यक्रम ल्याउन जरुरी देख्छु,’ उनले भने ।

प्रकाशित : आश्विन २४, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?