कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गठबन्धनको अबको सरोकार : प्रदेश १ र वाग्मती सरकार

दुईवटा प्रदेशमा सरकार परिवर्तन, सरकारको काम प्रभावकारी, पार्टीका राष्ट्रिय महत्त्वका कार्यक्रम र तीन तहको चुनावी तयारी प्रमुख कार्यसूची
माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा चुनावसम्मै गठबन्धन निरन्तरताको पक्षमा, कांग्रेस भने अनिर्णीत
बबिता शर्मा

काठमाडौँ — विभिन्न विवादका बीच सरकार गठनको ८८ औं दिनमा शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका सत्ता गठबन्धन दलहरूले मुख्य चार विषयलाई आगामी कार्ययोजना बनाउने भएका छन् । नेताहरूका अनुसार दुईवटा प्रदेशमा सरकार हेरफेर, सरकारको काम प्रभावकारी, पार्टीका राष्ट्रिय महत्त्वका कार्यक्रम र तीन तहको चुनावी तयारी गठबन्धनमा रहेका दलहरूका प्रमुख कार्यसूची हुन् ।

गठबन्धनको अबको सरोकार : प्रदेश १ र वाग्मती सरकार

वाग्मती र प्रदेश १ मा एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्य गठबन्धन दलहरूले थालेका छन् । संघीय सरकारको मन्त्रालय बाँडफाँटसँगै वाग्मती र प्रदेश १ मा मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भइसकेको छ । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ मा विश्वासको मत लिँदै छिन् । उनी अल्पमतमा छिन् । वाग्मतीमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनाउने सहमति छ । प्रदेश १ मा पनि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा छन् । उनले विश्वासको मत लिने मिति तय भइसकेको छैन । त्यहाँ एकीकृत समाजवादीकै राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने सहमति गठबन्धन दलबीच भएको छ ।

दलहरूले सरकारको कामलाई सकेसम्म प्रभावकारी बनाउने कार्यसूची बनाएका छन् । विभागीय मन्त्रीमार्फत गठबन्धनले तय गरेका प्राथमिकताअनुसार सरकारका काम प्रभावकारी बनाउने योजना रहेको नेताहरूले बताएका छन् । सरकारका काम प्रभावकारी बनाउन शीर्ष नेता सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउनेबारे पनि दलहरूबीच छलफल भएको छ । ‘समय कम छ, यस्तो बेला सरकारमा गइसकेका प्रतिनिधिहरूले साझा न्यूनतम कार्यक्रमअनुसार छिटोछरितो काम गर्नुपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले भनिन्, ‘त्यसका लागि गठबन्धन दलहरूले ध्यानाकर्षण गराइराख्नु पहिलो दायित्व हो ।’

गठबन्धनका तर्फबाट गत साउन २४ मा ११ बुँदे प्राथमिकतासहित सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको थियो । गठबन्धनका प्राथमिकता कोभिड– १९ को महामारीबाट जनताको जीवनरक्षा गर्ने, संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूति दिने, शान्ति प्रक्रियालाई पूर्णता दिने, सहमतिका आधारमा संविधान संशोधनको पहल गर्नेलगायत छन् । यसबाहेक संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने, महँगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन गर्ने, कोभिड प्रभावित क्षेत्रलाई राहत प्याकेज दिने र सन्तुलित परराष्ट्र नीति लिनेलगायत सरकारका प्राथमिकता पनि गठबन्धनले तय गरेको छ । सरकारका काम प्रभावकारी हुने गठबन्धन दलका नेताहरूले दाबी गरेका छन् । ‘राष्ट्रिय स्वाधीनता र संविधान, लोकतन्त्रको रक्षा गर्ने काममा केन्द्रित हुने, प्रतिगमनविरोधी संघर्षका क्रममा हामीले केपी प्रवृत्तिबाट आफूलाई मुक्त गर्ने र विगतमा भएका कमजोरीलाई सच्याउने भनेका थियौं, अब त्यता केन्द्रित हुनुपर्छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘कोभिड नियन्त्रणका लागि भ्याक्सिनको व्यवस्था, बाढीपहिरो, डुबानबाट पीडितहरूको पुनःस्थापना, विकास निर्माणलगायतका काममा ध्यान दिने र प्रतिनिधिसभालाई पुरै कार्यकाल चलाएर चुनावमा जाने हो ।’

गठबन्धन दलहरूको अर्को कार्यसूची पार्टीका आन्तरिक काम व्यवस्थित गर्ने हो । खासगरेर मंसिरमा १४ औं महाधिवेशन गर्न लागेको कांग्रेस र पुसमा राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादी केन्द्रका लागि आन्तरिक कार्यक्रम महत्त्वपूर्ण छन् । प्रधानमन्त्री शेरबहादुर देउवा आफैं सभापतिको आकांक्षी रहेकाले उनले सरकारका कामसँगै पार्टी महाधिवेशनलाई पनि प्राथमिकतामा राखेका छन् । कांग्रेस नेताहरूले महाधिवेशन कांग्रेस र प्रधानमन्त्री देउवा दुवैका लागि महत्त्वपूर्ण रहेको बताए ।

वडादेखि केन्द्रसम्मै नयाँ नेतृत्व चयन गर्ने तयारीमा जुटेको माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन केन्द्रित कार्यक्रम बनाइसकेको छ । यसपटक माओवादीले निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीको कल्पना गरेको छ । कात्तिक ६ मा गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ७ देखि मंसिर १४ सम्म संगठन सुदृढीकरण र जनपरिचालन तथा मंसिर १५ मा प्रदेश सम्मेलन गर्ने माओवादीको कार्यतालिका छ । एमाले विभाजित भई बनेको एकीकृत समाजवादी पनि आन्तरिक संगठन निर्माणमा जुटेको छ । उसले राष्ट्रिय सम्मेलन वा महाधिवेशनको घोषणा गरेको छैन तर सबै तहमा पार्टी कमिटी बनाउने अभियान जारी राखेको छ । हालै मात्र उसले पदाधिकारी, केन्द्रीय कमिटी, स्थायी कमिटी र पोलिटब्युरो बनाएको छ । प्रदेशदेखि जिल्लासम्म, पालिकादेखि वडासम्म र जनवर्गीय संगठनका कमिटी बनाउँदै छ ।

दुई प्रदेशमा नयाँ सरकार, संघीय सरकारको काम प्रभावकारी र पार्टीका आन्तरिक कार्यक्रमलाई चुनावसँग जोडेर अगाडि बढाउने गठबन्धन दलका नेताहरूको भनाइ छ । ‘निर्वाचन नजिक छ, अब निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा छलफल सुरु गर्नुपर्छ,’ कांग्रेस नेता भुसालले भनिन् । गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा चुनावसम्मै गठबन्धनको निरन्तरताको पक्षमा छन् । कांग्रेसले भने यसबारे अहिलेसम्म केही निर्णय गरेको छैन । प्रधानमन्त्री देउवा महाधिवेशनपछि पुनः शक्तिशाली भएर गठबन्धनबारे अन्तिम धारणा बनाउने तयारीमा छन् । ‘कांग्रेसले अगाडिको बाटो के लिन्छ, महाधिवेशनपछि मात्रै तय हुन्छ,’ देउवानिकट एक केन्द्रीय

सदस्यले भने ।

अन्य दल भने चुनावमा गठबन्धन बनाएर जाने तयारीमा छन् । ‘गठबन्धन भए पनि नभए पनि अब चुनावी तयारी थाल्ने बेला त भइसक्यो नि,’ एकीकृत समाजवादीका एक केन्द्रीय सदस्यले भने, ‘सकेसम्म हामी पाँचै दल चुनावसम्म जान्छौँ, त्यसो भएन भने कांग्रेसबाहेक चार दलको गठबन्धन बन्ने करिब–करिब निश्चित छ ।’

सरकारविरुद्ध हुने हमलाको सामूहिक प्रतिवाद पनि गठबन्धन दलका नेताहरूको कार्यसूचीमै छ । नेताहरू गठबन्धनमा रहेका दलहरूबीच विश्वास बढाउने योजनामा छन् । प्रधानमन्त्री देउवाले विपक्षी दलका नेतासँग बढाएको सम्पर्कलाई लिएर गठबन्धनबीच कहिलेकाहीं अविश्वास देखिने गरेको छ । ‘यो सरकारलाई राम्रोसँग चलाउने पहिलो काम हुन्छ, त्यसबाहेक राजनीतिक स्थिरताका लागि पर्याप्त पहल गर्ने काम हुन्छ,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘साथसाथै पार्टीका आन्तरिक काम अगाडि बढ्छन् । कांग्रेसको महाधिवेशन, माओवादी केन्द्रको राष्ट्रिय सम्मलेन हुँदै छ । अन्य दलका पनि सांगठनिक काम छन् । त्यसपछि यो गठबन्धनलाई चुनावसम्म लैजाने प्रयास हुन्छ ।’

प्रकाशित : आश्विन २४, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?