कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कृष्णसार बढे, बासस्थान साँघुरो

हीरापुरफाँटामा स्थानान्तरण गरिएकाको तेस्रो पुस्ता हुर्किंदै, संख्या १५३ पुग्यो
भवानी भट्ट

कञ्चनपुर — आठ वर्षअघि बर्दियाको खैरापुर र नेपालगन्जको मिनी चिडियाखानाबाट ४२ वटा कृष्णसार शुक्लाफाँटाको हीरापुरफाँटामा स्थानान्तरण गरियो । सुरुका वर्ष संख्यामा खासै वृद्धि भएन । भालेहरू आपसमा जुधेर र जुकाका कारण बिरामी परेर मर्न थालेपछि संख्या बढ्न सकेको थिएन । राखेको क्षेत्र बिस्तार गरियो, बिरामीलाई तत्काल उपचार गर्न थालियो । केही वर्षयता भने कृष्णसारको संख्यामा उल्लेख्य वृद्धि भएको छ । अब भने यिनका लागि स्थानान्तरणको चिन्ता सुरु भएको छ । 

कृष्णसार बढे, बासस्थान साँघुरो

एक महिनाअघिको गणनाअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुरफाँटामा ५७ भाले, ८४ पोथी र पहिचान हुन नसकेका १२ गरी १ सय ५३ कृष्णसार छन् । तारबारले घेरिएको झन्डै ५९ हेक्टर क्षेत्रफलमा चार वटा ब्लक बनाइएका छन् । शुक्लाफाँटाको हीरापुर क्षेत्र विगतमा पनि कृष्णसारको बासस्थान रहेको अध्ययनले देखाएपछि यहाँ स्थानान्तरण गरिएको हो । संख्या वृद्धिले संरक्षणकर्मी हौसिएका छन् ।

‘स्थानान्तरण गरिएको वन्यजन्तुमा सबैभन्दा राम्रो वृद्धि देखिएको यसकै हो,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘यहाँ स्थानान्तरण गरिएपछि अहिले तेस्रो पुस्ता हुर्किंदै छ ।’ केही वर्षयता प्राकृतिक कारणबाहेकका घटनामा कृष्णसार नमरेको उनले बताए । उनका अनुसार कृष्णसारलाई अतिरिक्त आहारासँगै भेटेरिनरी उपचारसमेत भइरहेको छ । संख्या वृद्धि भएसँगै अब बासस्थान विस्तार र स्थानान्तरणका विषयमा पनि सोच्नुपर्ने बेला आएको उनले बताए ।

तस्बिर : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

अहिलेकै अवस्थामा वृद्धि हॅॅंदै गए एक/दुई वर्षमै अहिले तारबार गरिएको क्षेत्रले नपुग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । ‘यस्ता वन्यजन्तुको भायबल पपुलेसन (निश्चित संरक्षित क्षेत्रबाट प्रकृतिमा बाँच्न सक्ने संख्या) सय मानिन्छ,’ उनले भने, ‘कृष्णसारको संरक्षण कार्ययोजना निर्माणाधीन अवस्थामा रहेकाले यसका विषयमा पनि निर्णय आउला ।’ धेरै संख्यामा हुँदा भालेहरू आपसमै लडाइ गरेर मर्न सक्ने जोखिम भएकाले बिस्तारै जंगलमा छाड्ने वा अन्यत्र स्थानान्तरण गर्ने विषयमा छलफल चलिरहेको उनको भनाइ छ । ‘केही ठाउँबाट माग पनि भएको छ,’ उनले भने, ‘अब कार्ययोजना बनेपछि निकुञ्जमै छाड्ने वा अन्यत्र सार्ने तय होला ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै अन्य फाँटामा समेत बासस्थान विस्तार गरेर स्थानान्तरण गर्न सकिने अधिकृत पुन बताउँछन् । तर यो निकै खर्चिलो हुन्छ । ५ वर्षअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा बाह्रसिंगा स्थानान्तरण गरिएको थियो । त्यही बेला चितवनबाट शुक्लामा गैंडा स्थानान्तरण गरिएको थियो । बाह्रसिंगाको स्थानान्तरण सफल हुन सकेन । कृष्णसारको हकमा भने सफल भएको मान्न सकिने पुन बताउँछन् ।

प्रकाशित : आश्विन २४, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?