शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ : अर्थमन्त्री

रासस

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को १२औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले पहुँच र हचुवाका भरमा कुनै फाइल तयार गरेर आफूले बजेट नदिने स्पष्ट पारे । 

अर्थमन्त्री जनार्दन शर्मा । तस्बिर : रासस

नक्साकङ्नबिना विद्यालय र कलेज स्वीकृति दिइने तथा त्यहाँ गुणस्तरीय शिक्षा नहुने हुँदा लगानी खेर गइरहेकातर्फ सङ्केत गर्दै मन्त्री शर्माले संविधानमा व्यवस्था भएबमोजिम सार्वजनिक शिक्षा निःशुल्क गराउन र शिक्षामा समानता स्थापना गरी समृद्धि निर्माणका लागि आफू प्रतिबद्ध रहेको सुनाए । उनले सरकारले पढ्दै, कमाउँदै कार्यक्रम ल्याएको भन्दै त्यसलाई कार्यान्वयन गर्न समुदायस्तरमा सबै पक्षको सहयोग र विज्ञता उपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले कोभिड महामारीपछि शिक्षामा रुपान्तरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षामा लैङ्गिक समताका पक्षमा सुधार भए पनि उच्च शिक्षासम्म विद्यार्थी टिकाउनु चुनौतीपूर्ण भएको बताए । उनको कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षाविज्ञ विमल फुँयालले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले शिक्षामा लगानी बढाउन र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमाथि संसद्मा छलफल चलाउन आग्रह गरे । शिक्षाविद् विद्यानाथ कोइरालाले संविधान र दलीय घोषणापत्रमा जनमुखी र उत्पादनमूलक शिक्षा भनिए पनि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा अन्योल देखिएको बताए ।

कार्यक्रममा एमालेका सांसद विद्या भट्टराईले सार्वजनिक शिक्षाका लागि आफ्नो पक्षबाट प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित : आश्विन २३, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्

पर्साका सांसद्‍लाई मन्त्री नबनाएकोमा जसपा अध्यक्ष यादवविरुद्ध कार्यकर्ता सडकमा

कान्तिपुर संवाददाता

पर्सा — पर्साका सांसद् प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै जनता समाजवादी पार्टीका कार्यकर्ताले पार्टी अध्यक्ष उपेन्द्र यादवको विरोधमा पुत्ला जलाएका छन् ।

'उपेन्द्र यादवलाई पर्सामा निषेध', 'पर्सावासीलाई ठग्न पाइँदैन' जस्ता प्लेकार्ड बोकेर जसपाका कार्यकर्ताहरुले शनिबार वीरगन्जको घन्टाघरमा विरोध प्रदर्शन गरेका थिए ।

पर्सा क्षेत्र नम्बर १ का निर्वाचित् सांसद यादवको नाममा मन्त्री सिफारिस नगरेकाले आक्रोशित कार्यकर्ताले शुक्रबार साँझ पनि पार्टी अध्यक्षको पुत्ला जलाएका थिए ।

मधेस आन्दोलनको केन्द्रविन्दु मानिएको पर्सालाई यसअघि जसपाले प्रादेशिक राजधानी बनाउने र अहिले मन्त्री बनाउने क्रममा पन्छाएको भन्दै कार्यकर्ताले अध्यक्षको विरोध गरेको जनाएका छन् ।

प्रकाशित : आश्विन २३, २०७८ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×