अब संसद्‌बाट नागरिकता विधेयक पास हुन्छ : दाहाल- समाचार - कान्तिपुर समाचार

अब संसद्‌बाट नागरिकता विधेयक पास हुन्छ : दाहाल

नवीन पौडेल

परासी — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकताविहीन मधेसी नागरिकको समस्या केही हप्तामा नै समाधान हुने बताएका छन् । आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा संसद्‌मा दर्ता गराएको नागरिकता विधेयक एमालेका अध्यक्ष केपी ओलीको कारण रोकिएको आरोप लगाउँदै अब संसद्‌बाट नागरिकता विधेयक पास हुने बताए ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै दाहालले यस्तो बताएका हुन् ।

हिन्दीमा भाषण गरेका पूर्वप्रधानमन्त्री रहेका दाहालले मधेससँग आफ्नो पुरानो प्रेम रहेकाले मधेमा विद्यमान नागरिकता र भूमिहीन समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । एमाले अध्यक्ष केपी ओलीको कारण रोकिएका विधेयक, विकास निर्माणका काम वर्तमान गठबन्धनको सरकारले पूरा गर्ने उनको भनाइ थियो ।

वर्तमान सरकारले चुनाव अगाडि नै भूमिहीन र सुकुम्बासीले जग्गा प्राप्त गर्ने भन्दै वर्तमान गठबन्धनको सरकारले जनचाहनाअनुसार काम गर्ने बताए । पाल्हिनन्दन गाउँपालिकाले १० करोडको लागतमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ ।


प्रकाशित : आश्विन २३, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा नेपालमा ६३६ कोरोना संक्रमित, ११ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ६३६ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार १६८ पीसीआर परीक्षणमा ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

यस्तै ५ हजार ८६३ एन्टिजेन परीक्षणमा १२४ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ३१ परीक्षणमा ७६० संक्रमित भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १ हजार ६३३ पुगेको छ ।

२४ घण्टामा थप ८९९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७५ हजार ७२ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।

हालसम्म देशभर ४२ लाख ७९ हजार ७०१ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १५ हजार ३४० छ ।

२४ घण्टामा खोप लगाएकाको संख्या ९० हजार ९९३ रहेको छ ।

प्रकाशित : आश्विन २३, २०७८ १६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×