कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कपिलवस्तुमा देखिएको हैजा जीवाणुको सम्बन्ध खोजिँदै

एक महिनाअघि ललितपुरमा समेत देखिएको थियो हैजा 
अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य सेवा विभाग ईपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसिडी)ले कपिलवस्तुको कृष्णनगरमा झाडा पखालाका बिरामीहरुबाट संकलित नमुना मध्ये एउटामा हैजाको जिवाणु देखिएपछि यसको सम्बन्ध खोज्न थालेको छ । विस्तृत जानकारीको लागि हैजा देखिएका ती बिरामीको घरमा शनिबार ईडीसिडीको टोली समेत जाँदैछ ।

कपिलवस्तुमा देखिएको हैजा जीवाणुको सम्बन्ध खोजिँदै

अनियन्त्रित रुपमा चौलानी जस्तो पातलो दिसा हुने रोगलाई बोलचालको भाषामा झाडा पखाला(डाईरिया) भनिन्छ । यदि यस्ता रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु देखियो भने त्यो हैजा हो ।

भिब्रियो कलेरी ब्याक्टेरियाबाट संक्रमित दूषित खाना वा पानी खाँदा कुनै पनि व्यक्तिलाई हैजा हुन सक्छ । महामारीको समय सामान्यतया हैजा संक्रमित व्यक्तिको दिसाबाट फैलिन्छ ।

‘यो हैजा हो वा होइन भन्न हामीले त्यहाँ यसको ‘ईपिडिमियोलजिकल लिंकेज’, खोजी रहेका छौं, फिल्डमा अध्ययन गर्न एक–दुई दिन लाग्छ’, ईडीसिडिका निर्देशक एवं स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा.कृष्ण प्रसाद पौडेलले भने–‘तर कपिलवस्तुमा देखिएको झाडा पखालाको हैजा कै रुपमा व्यवस्थापन गर्छौं ।’

शनिबारसम्म कपिलवस्तुमा ५ सय ४४ जना झाडा पखालाका बिरामी देखिएका छन् भने हाल ४० जना उपचाररत छन् । ३८ जनालाई रिफर गरिएको छ । हालसम्म दुई जनाको मृत्यु समेत भएको छ ।

नेपालमा हैजा एडेमिक अर्थात खास क्षेत्रहरुमा पटक-पटक देखिराखेको औल्याउँदै डा.पौडेलले भने–‘करिब एक महिनाअघि ललितपुरमा समेत एक व्यक्तिको नमुनामा हैजा देखिएको थियो ।’

ललितपुरमा हैजा देखिएका ती व्यक्ति तिनदिन भारतमा बसेको यात्रा इतिहास समेत थियो । ती व्यक्ति दिल्लीबाट उपचार गरेर फर्किएका थिए । ईडीसीडीले दिल्लीबाट आएका ती व्यक्तिमा हैजा देखिएको बारे भारतलाई खबर समेत गरेको थियो ।

ईडीसीडीको टोलीले कपिलवस्तुवाट धेरै बढी मात्रामा झाडा पखालाका बिरामीको नमुना परीक्षणको लागि राजधानी ल्याउने तयारी गरेको छ ।

उक्त नमुनाको बारेमा विस्तृत जानकारी पाउन आरडीटी, कल्चर र टाइपिङ्ग गरिने औंल्याउदै डा.पौडेलले भने–‘केहि दिन अघि भारतकको कलकत्तामा देखिएको हैजासँग कपिलवस्तुको हैजाको सम्बन्ध छ की ? हामीलाई यो थाहा छैन नी त्यसैले नमुनाहरुको विस्तृत अध्ययन गर्ने छौं ।’ ‘विस्तृत मात्रामा परिक्षण भए पछि हामीले यो कुन प्रकारको हैजा हो, यसको लिंक कहाँ छ आदि जान्न सक्छौं’, डा.पौडेलले भने ।

कपिलवस्तुमा संकलित पानीको केहि नमुनामा ‘कोलिफर्म’ समेत देखिएको छ । पखाला देखिएको उक्त क्षेत्र खुल्ला दिसामुक्त भएपनि व्यवहारमा त्यहाँ शौचालयको प्रयोग खासै नभएको फिल्डमा रहेका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘यो क्षेत्र कागजमा मात्र खुल्ला दिसामुक्त हो , यहाँ शौचालयको प्रयोग खासै छैन भने बाहिर नै दिसा पिसाब गर्नेको संख्या समेत कम छैन’, ती व्यक्तिको अनुसार त्यहाँको पानीको स्रोत नजिक समेत दिसा–पिसाब देखिने गरिएको छ ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को अनुमान अनुसार विश्वमा हरेक वर्ष हैजाको १३ लाख देखि ४० लाख मामिला देखिन्छ र विश्व भरीमा हैजाले २१ हजारदेखि १ लाख ४३ हजार जनाको मृत्यु हुन्छ ।

प्रकाशित : आश्विन २३, २०७८ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?