मनलाग्दी तथ्यांकले कुसुन्डा पहिचानमै समस्या

२०६८ को जनगणनामा कुसुन्डा भाषा बोल्ने १४ पुरूष र १४ महिला गरी २८ जना उल्लेख छ । जबकि, त्यतिबेला दाङका ज्ञानीमैया र कमला मात्रै भाषा बोल्न जान्ने थिए ।
दुर्गालाल केसी

दाङ — राष्ट्रिय जनगणना सुरु हुन लाग्दा कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डालाई चिन्ता सुरु भएको छ । गणनामा कुसुन्डा जातिको परिचय र भाषाको पहिचान कसरी स्थापित गर्ने भन्ने चिन्ताले उनलाई सताएको हो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक र वास्तविक कुसुन्डाको संख्यामा धेरै अन्तर परेको उनले बताए ।

मनलाग्दी तथ्यांकले कुसुन्डा पहिचानमै समस्या

जनगणना गर्दा कुसुन्डा नै नभएका ठाउँमा पनि तथ्यांक देखियो भने कतिपय भएका ठाउँमा पनि छुटेको पाइयो । यसको कारण थियो, कुसुन्डाले जनगणनाका क्रममा प्रश्नको जवाफ दिँदा आफ्नो पहिचान खुलाएर जवाफ दिन नसक्नु । अनि, गणकहरूले पनि गैरजिम्मेवार तरिकाले तथ्यांक लिनु । २०६८ को जनगणनामा कुसुन्डा भाषा बोल्ने १४ पुरुष र १४ महिला गरी २८ जना उल्लेख छ ।

जबकि, त्यतिबेला दाङका ज्ञानीमैया र कमला कुसुन्डा मात्रै भाषा बोल्न जान्ने थिए । अहिले ज्ञानीमैयाको निधन भएपछि कमला मात्रै बाँकी छिन् । राष्ट्रिय जनगणना २०६८ अनुसार देशमा १ सय २३ पुरुष र १ सय ५० महिला गरी २ सय ७३ जना कुसुन्डा छन् । कुसुन्डा विकास समाजले गरेको अध्ययनमा भने १ सय ७५ जना मात्रै कुसुन्डा छन् । दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, गोरखा, रोल्पा, तनहुँ, सुर्खेत र बर्दियामा मात्रै कुसुन्डाको बसोबास रहेको अध्यक्ष कुसुन्डाले बताए । ‘जनगणनामा काठमाडौंमा १३ जना कुसुन्डा रहेको उल्लेख छ,’ उनले भने, ‘म काठमाडौं तथ्यांक विभागमै गएर कहाँ छन् देखाइदिनुपर्‍यो भनें तर उहाँहरूले के गर्ने, तथ्यांक ल्याउनेले कसरी ल्याउँछन् भन्न सकिन्न भन्नुभयो ।’

यसपटक पनि तथ्यांकमा यथार्थ विवरण कसरी आउँछ भन्नेमा शंका रहेको उनले बताए । ‘जनगणना गर्नुअघि नागरिकलाई प्रशिक्षण दिनुपर्छ । कसरी प्रश्नको जवाफ दिने भन्ने धेरैलाई थाहा छैन,’ उनले भने, ‘कति कुसुन्डाले शाही भनेर लेखाउँछन्, जसबाट कुसुन्डाको पहिचान आउँदैन । लोपोन्मुख जाति झनै लोप हुने खतरा छ ।’ दुई वर्षअघिसम्म दुई जनामा सीमित कुसुन्डा भाषा अहिले पठनपाठनमार्फत ३० जनामा फैलिएको छ । ज्ञानीमैया र कमलाकै सहयोगमा कुसुन्डा कक्षा चलाइएको थियो । अब भाषा बचाउने र विस्तार गर्ने जिम्मेवारी कमलाको काँधमा आएपछि उनी निरन्तर यस अभियानमा छिन् ।

भाषा बोल्न जान्नेहरूको संख्या बढ्दै गएको र यो तथ्यांक जनगणनामा पनि आए यथार्थ विवरण थाहा हुने कमलाले बताइन् । ‘कुसुन्डा लोप हुन थालेको जाति हो । यसको यथार्थ विवरण राखिनुपर्छ,’ उनले भनिन्, ‘यसका बारेमा धेरैलाई थाहा छैन । कसरी जवाफ दिने भन्नेबारे सिकाउन पाए राम्रो हुने थियो ।’ जनगणनाबारे कुनै चेतना नहुँदा कुसुन्डाको वास्तविक पहिचान तथ्यांकमा आउन समस्या भइरहेको कुसुन्डा भाषाबारे अध्ययन गरिरहेका उदय आलेले बताए ।

‘आफ्नो विवरण दिँदा कसरी दिने भन्ने धेरैलाई थाहा छैन । थर र भाषाबारे स्पष्ट जवाफ नदिँदा यकिन विवरण आउँदैन,’ उनले भने, ‘पहिले र अहिले संख्या, भाषा जान्नेलगायत धेरै कुरामा फरक भइसकेको छ ।’ कुसुन्डाको पहिचान कसरी कायम गर्ने भन्नेबारे चलिरहेका कक्षामा केही छलफल भए पनि सबैबीच यो सन्देश पुग्न नसकेको उनले बताए ।

सबैलाई कुसुन्डा जातिको पहिचान र भाषाको महत्त्वबारे जानकार बनाउनुपर्ने भएकाले अहिले भाषाको कक्षालाई परिवारसम्म पुर्‍याउन थालेको आलेले बताए । ‘कुसुन्डा भाषालाई प्रविधिमा जोडेर गाउँ–गाउँमा विस्तार गर्दै छौं । भाषाको विस्तार गर्न अब घरपरिवारलाई पनि सिकाउँदै छौं,’ उनले भने, ‘सामाजिक सञ्जालमा समेत कुसुन्डा भाषा प्रयोग गर्न सबैलाई अनुरोध गरिरहेका छौं । सामाजिक सञ्जालमा लेखिने पोस्ट, कमेन्टहरूसमेत कुसुन्डा भाषामा गरेपछि भाषाको प्रचार हुन्छ ।’

प्रकाशित : आश्विन २३, २०७८ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?