कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

झन् पेलिए पौडेल

मन्त्रिपरिषद्‌मा रामचन्द्र पौडेललाई शशांक कोइराला र कृष्णप्रसाद सिटौला समान हिस्सा
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको भागमा ७ मन्त्री र १ राज्यमन्त्री परेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्तिमा तीन मन्त्री आफ्नो समूहले पाउने आस गरेका थिए । यसका लागि उनले शुक्रबार बिहानसम्म प्रधानमन्त्री देउवामाथि दबाब जारी राखेका थिए । आफ्नो समूहका महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंह समूहलाई सन्तुलनमा राख्न पनि उनीसामु ३ मन्त्री ल्याउनैपर्ने बाध्यता थियो । तर प्रधानमन्त्री देउवाले २ मात्र मन्त्री दिएका छन् । मन्त्रिपरिषद विस्तारपछि पौडेलले उदेकलाग्दो प्रतिक्रिया दिए, ‘सबै कुरा स्पष्टै छ, मेरो यसमा कुनै कमेन्ट छैन ।’

झन् पेलिए पौडेल

शुक्रबार पूर्णता पाएको मन्त्रिपरिषदमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित ९ जना छन् । प्रधानन्यायधीसको कोटाबाट मन्त्री भएका गजेन्द्र हमाललाई पनि कांग्रेसले

आफ्नो तर्फबाट भनेको छ । रक्षामन्त्रीमा नियुक्त मीनेन्द्र रिजाल, कानुन–न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र खानेपानीमन्त्रीमा नियुक्त उमाकान्त चौधरीबाहेक सबै देउवा समूहका हुन् । पौडेल समूहका नेता रामशरण महतले सभापतिले मन्त्रिपरिषद् विस्तार गर्दा पार्टी र सरकारभित्र सन्तुलन कायम गर्न नसकेको टिप्पणी गरे ।

‘हामीले कम्तीमा ३ मन्त्री पाउनुपर्ने माग राखेका थियौं, पार्टीभित्रको शक्ति सन्तुलनका लागि पनि त्यो आवश्यक थियो,’ उनले भने, ‘तर प्रधानमन्त्रीले ख्याल गरेको पाइएन । हामीसामु त्यसलाई स्विकार्नुको विकल्प पनि रहेन ।’

पौडेललाई दुई मन्त्रालय मात्र दिएर देउवाले एकैपटक तीन तीर हानेका छन् । पहिलो– आफ्नो समूहलाई बलियो हैसियत दिलाए, दोस्रो– पौडेललाई सानो समूहमा खुम्च्याए र तेस्रो– पौडेल समूहभित्र विवाद सिर्जना गराइदिए । पार्टीको १३ औं महाधिवेशनमा देउवासँग चुनाव लड्दा ४१ प्रतिशत मत ल्याएका पौडेलले पार्टी र अन्य निकायमा कम्तिमा ४० प्रतिशत हिस्साको माग गर्दै आएका छन् ।

देउवाले भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत ४० प्रतिशतबाटै दिने गरेका छन् । देउवाले यसपटक अझ अघि बढेर पौडेललाई शशांक कोइराला र सिटौला समान हिस्सा दिएका छन् । दुईमात्र मन्त्रालय पाएपछि पौडेल समूहको आन्तरिक र देउवासँगको बैठकमा समेत पौडेल, कोइराला र सिंहले आ–आफ्ना मान्छेलाई मन्त्री बनाउन लबिइङ गरेका थिए । अन्ततः पौडेलको प्रस्तावमा बडू र कोइरालाको प्रस्तावमा रिजाल मन्त्री भए । सिंहले आफ्नो समूहका साथै प्रधानमन्त्री देउवासँग बार्ता गर्दा पनि राजन केसीलाई मन्त्री बनाउन सकेनन् । सिंह प्रधानमन्त्रीभन्दा पनि फौडेलसँग बढी त्रुद्ध भएको उनीनिकट एक नेताले बताए । अर्कातर्फ मन्त्री बन्न नपाउँदा नेतृ सुजाता कोइराला पनि आफ्नै समूहसँग रुष्ट छिन् ।

यसपटक प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई समूहको नेताका रूपमा व्यवहार गरेको देखिएन । उक्त समूहका अन्य नेता, विशेषगरी महामन्त्री शशांकसँग ‘एकल डिल’ गरेका थिए । यतिसम्म कि शुक्रबार पौडेलले नाम नदिएको भए दुई जनालाई सिधै बोलाएर मन्त्री नियुक्त गर्ने तयारीमा देउवा थिए । ‘देउवाले जे पनि गर्छन् भन्ने मानसिकताले पनि असन्तुष्ट हुँदाहुँदै पौडेल दुई मन्त्रीमै चित्त बुझाउन बाध्य भए,’ देउवानिकट एक नेताले भने, ‘खासमा अहिलेको मन्त्रिपरिषद्मा पौडेलका प्रतिनिधि बडूमात्र हुन् ।’

पौडेल मन्त्रिपरिषद्मा एकीकृत समाजवादीका तर्फबाट आउन लागेका कृष्णकुमार श्रेष्ठलाई पनि रोक्न चाहन्थे । श्रेष्ठले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित गरेकाले मात्र नभई पौडेल र श्रेष्ठबीच गृहजिल्ला तनहुँमा ठूलो द्वन्द्व छ । २०७७ मंसिरमा बल्दीखोला पुल उद्घाटन गर्न गएका पौडेललाई श्रेष्ठले अवरोध पुर्‍याउन खोज्दा लफडा भएको थियो । श्रेष्ठलाई लक्ष्य गर्दै पौडेल समूहका नेता महतले ‘सरकारमा उपयुक्त मान्छे नआएको’ बताए । पौडेल पेलिनुमा देउवालाई गठबन्धन दलका नेताको सहयोग पनि कारक बनेको छ । देउवानिकट एक नेताका अनुसार नेताहरूको बैठकमा पौडेलले ३ मन्त्रालय नपाए सरकारमा जानेको नाम नपठाउने भनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई सम्झाउँदै भनेका थिए, ‘हामी कसैले कल्पनै नगरेको अवस्थामा सरकार बनेको छ, यस्तो बेला ठूलो भाग नखोजौं, जेजति हुन्छ चित्त बुझाएर सरकारलाई सहयाग गरौं ।’

प्रकाशित : आश्विन २३, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?