१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

यस्तो बन्यो देउवा मन्त्रिपरिषद्

काठमाडौँ — प्रधानमन्त्री भएको ८८ औं दिनमा शुक्रबार शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । यो मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री छैनन् । कांग्रेसबाट सुजाता कोइराला, माओवादीबाट नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन खोजेका थिए । देउवा आफैंले उपप्रधानमन्त्रीविहीन मन्त्रिपरिषद् बनाउन चाहेका हुन् ।

यस्तो बन्यो देउवा मन्त्रिपरिषद्

यसअघि २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा २, २०६५ मा पुष्पकमल दाहाल नेतृत्वमा १, २०६६ मा माधवकुमार नेपाल नेतृत्वमा २, २०६७ मा झलनाथ खनाल नेतृत्वमा ३, २०६८ मा बाबुराम भट्टराई नेतृत्वमा २ जना उपप्रधानमन्त्री थिए । २०७० मा सुशील कोइरालाको नेतृत्वमा २, २०७२ मा केपी शर्मा ओली नेतृत्वमा ६, २०७३ मा दाहाल नेतृत्वमा २, २०७४ मा देउवा नेतृत्वको सरकारमा ३ र २०७४ मै ओली नेतृत्वमा २ उपप्रधानमन्त्री थिए । २०६९ मा खिलराज रेग्मी नेतृत्वको गैरराजनीतिक दलको चुनावी सरकारमा भने उपप्रधानमन्त्री थिएनन् ।

सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ मा देउवा पाँचौंपटक प्रधानमन्त्री बनेका हुन् । डडेलधुराबाट प्रत्यक्ष निर्वाचित उनी स्नातकोत्तर हुन् । डडेलधुराबाट उनी २०४८ पछि निरन्तर निर्वाचित हुँदै आएका छन् । उनी २०४८ मै गृहमन्त्री भएका थिए भने २०५२ मा पहिलोपटक प्रधानमन्त्री भए । राजनीतिक आन्दोलनका क्रममा ९ वर्षसम्म जेल जीवन बिताएका देउवा २०२८ मै नेविसंघको सभापति बने । २०५९ सालमा कांग्रेस विभाजन गरी उनले त्यसको नेतृत्व गरे ।

शपथपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक तस्बिर खिचाउँदै मन्त्रीहरू । तस्बिर/रासस

२०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री हुँदै देउवाले ४८ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएका थिए । त्यही बेला विवादास्पद महाकाली सन्धि भयो । माओवादी ‘जनयुद्ध’ को थालनी भयो । २०५८ साउन ११ मा दोस्रोपटक प्रधानमन्त्री भएपछि पद जोगाउन संसद् विघटन गरेको दोष उनीमाथि लाग्यो । उनी २०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री भए । २०७४ जेठ २३ मा उनको चौथो सत्तारोहण भयो । २०७४ को आमनिर्वाचन उनकै नेतृत्वमा भयो ।

बालकृष्ण खाँण

खाँण प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै गृहमन्त्री नियुक्त भएका हुन् । २०१७ सालमा रूपन्देहीमा जन्मिएका उनी स्नातक हुन् । उनी २०६६ मा सिँचाइ र २०७३ मा रक्षामन्त्री भइसकेका छन् । मन्त्री हुनुअघि उनी कांग्रेसको संसदीय दलका प्रमुख सचेतक थिए । २०४८, २०६४ र २०७० मा रूपन्देही–३ बाट निरन्तर निर्वाचित भएका खाँण २०७४ मा भने समानुपातिकतर्फ निर्वाचित भए ।

२०३३ सालमा नेविसंघको राजनीति थालेका उनी २०४४ सालमा नेविसंघ केन्द्रीय अध्यक्ष भए । २०५४ मा तरुण दलको अध्यक्ष बने । २०५६ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका खाँण सभापति देउवाका विश्वासपात्र हुन् । एक वर्ष जेल परेका उनी कांग्रेसभित्र राम्रो जनसम्पर्क भएका प्रभावशाली नेतामध्ये पर्छन् । कसैलाई पनि उपप्रधानमन्त्री बनाउन नचाहेका देउवाले मन्त्रिपरिषद्मा खाँणलाई वरीयतामा दोस्रो स्थान दिएका छन् ।

ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कार्कीले सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका कार्की पुनः मन्त्रिपरिषद् विस्तारमा सञ्चार मन्त्रालय पुगेका हुन् । देउवाका विश्वासपात्र कार्की यसअघि २०६३ मा जलस्रोत र २०७४ मा अर्थमन्त्री भइसकेका छन् । भोजपुरमा जन्मिएका उनी स्नातकोत्तर हुन् ।

२०२७ सालमा नेविसंघको राजनीति थालेका उनी नेविसंघको केन्द्रीय अध्यक्ष नै भए । २०५८ सालदेखि राजनीतिमा लागेका उनी कांग्रेस भोजपुर सभापति पनि भए । उनी हाल कांग्रेसको केन्द्रीय सदस्य हुन् । संसद्मा अर्थ समितिका सदस्य रहेका उनी संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समिति सदस्य हुन् ।

पम्फा भुसाल

ललितपुर–३ बाट प्रत्यक्ष चुनाव जितेकी भुसाल यसअघि २०६४ मा महिला, बालबालिका तथा समाज कल्याण, २०६५ मा सामान्य प्रशासन र २०६८ मा शान्ति तथा पुनर्निर्माणमन्त्री भएकी थिइन् । उनको शैक्षिक योग्यता स्नातकोत्तर हो । २०३३ सालमा अनेरास्ववियु छैटौंको सदस्यता लिई पुल्चोक क्याम्पस इकाइ कमिटीमा आबद्ध भएर राजनीति सुरु गरेकी उनी हाल माओवादी केन्द्रको स्थायी कमिटी सदस्य छिन् । माओवादी ‘जनयुद्ध’ मा दस वर्ष भूमिगत रहेकी उनी पटक–पटक जेल परेकी थिइन् ।

राजेन्द्र श्रेष्ठ

श्रेष्ठ २०३४ देखि नेकपा (चौम) बाट राजनीतिमा प्रवेश गरेका हुन् । २०३९ मा नेकपा (माले) मा भूमिगत रूपमा सक्रिय भएका उनी मालेबाट काठमाडौं नगर समिति, जिल्ला कमिटी र उपत्यका विशेष समन्वय समितिमा सक्रिय थिए । २०४९ मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य रहेका श्रेष्ठ तत्कालीन एमाले उपाध्यक्ष अशोक राईसँगै पार्टी परित्याग गरी संघीय समाजवादी पार्टीको संस्थापक महासचिव बनेका थिए । उनी हाल समाजवादी पार्टीका सहअध्यक्ष छन् । मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा निर्वाचित भएका उनी २०७४ मा समाजवादी पार्टीका तर्फबाट समानुपातिक सांसद हुन् । श्रेष्ठ २०५५ मा आवास तथा भौतिक योजनामन्त्री भएका थिए ।

विरोध खतिवडा

तीन दशकदेखि संसदीय राजनीतिको अनुभव भएर पनि उनी पहिलोपटक मन्त्री बनेका हुन् । २०३५ मा अनेरास्ववियु काठमाडौं जिल्ला अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका उनी पञ्चायत र राजतन्त्रविरुद्धको आन्दोलनमा १२ पटक जेल र हिरासतमा पुगेका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट निर्वाचित खतिवडा २०४८, २०५१ र २०५६ मा मकवानपुरबाटै निर्वाचित भएका थिए । कानुनमा स्नातक गरेका उनी नेपाल बारको सदस्यसमेत हुन् । उनी हाल एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् ।

जनार्दन शर्मा

रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित शर्मा माअ‍ोवादीका स्थायी कमिटी सदस्य हुन् । उनी २०६५ मा शान्ति तथा पुनर्निर्माण, २०७३ मा ऊर्जा तथा २०७४ मा गृहमन्त्री भएका थिए । उनी २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भए । उनले सेना समायोजन विशेष समिति सदस्य (२०६४) भएरसमेत काम गरे । उनले २०३४ मा पार्टी इकाइ कमिटी (चौम) बाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । माओवादी सेनाको डिभिजन कमान्डर भएरसमेत काम गरेका उनको शैक्षिक योग्यता स्नातक छ ।

मीनेन्द्र रिजाल

मोरङ–२ बाट प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद मीनेन्द्र रिजाल रक्षामन्त्री बनेका छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाको सिफारिसमा पौडेल समूहबाट रिजाल रक्षामन्त्री बनेका हुन् । २०१४ सालमा विराटनगरमा जन्मिएका रिजालले अमेरिकाको न्युयोर्क विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । २०२६ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी विमलेन्द्र निधि सभापति हुँदा नेविसंघको केन्द्रीय उपाध्यक्ष भए । २०५३ मा प्रधानमन्त्री हुँदा देउवाको प्रमुख राजनीतिक सल्लाहकार बनेका रिजाल कांग्रेस विभाजित हुँदा देउवाकै सहयोगी थिए । उनले संविधानसभा २०७० मा संविधान मस्यौदा समितिको सदस्य भएर काम गरे । उनी हाल संसद्को सार्वजनिक लेखा समिति सदस्य थिए । रिजाल २०६६ मा संघीय मामिला, संसदीय व्यवस्था तथा संस्कृति र २०७० मा सूचना तथा सञ्चारमन्त्री भइसकेका छन् ।

उमाकान्त चौधरी

बाराबाट २०५६, २०६४ र २०७४ मा निरन्तर निर्वाचित चौधरी स्वास्थ्य, कृषि तथा सहकारी सहायकमन्त्री बनिसकेका छन् । उनले वनस्पतिशास्त्रमा एमएस्सी गरेका छन् । २०३६ मा विद्यार्थी राजनीतिमा आबद्ध भई राजनीति थालेका उनी झन्डै दुई दशकसम्म महासमिति सदस्य भए । १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला टिमबाट कोषाध्यक्षमा प्रतिस्पर्धा गरेका उनी हाल कांग्रेस केन्द्रीय सदस्य छन् । सिटौलाकै कोटामा उनी मन्त्री बनेका हुन् ।

नारायण खड्का

उदयपुर–१ बाट निर्वाचित खड्का परराष्ट्रमन्त्री बनेका छन् । संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने टोलीको प्रतिनिधित्व गर्ने मान्छे नभएपछि देउवाले खड्कालाई गत ६ असोजमा नियुक्त गरेका थिए । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राजनीतिक सल्लाहकार भइसकेका

खड्का २०७० मा सहरी विकासमन्त्री बनेका थिए । अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी २००५ मा भोजपुरमा जन्मिएका हुन् । २०२३ देखि विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी अहिले कांग्रेस केन्द्रीय सदस्य छन् । उनी कांग्रेसबाटै पहिलो र दोस्रो संविधानसभामा निर्वाचित थिए । हाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य रहेका खड्का देउवाका विश्वासपात्र हुन् । उनी २०५७ सालमा राष्ट्रिय योजना आयोगको समेत उपाध्यक्ष भएका थिए ।

रेणुकुमारी यादव

भारतमा जन्मिएकी उनी वैवाहिक सम्बन्धपछि नेपालको राजनीतिमा सक्रिय छिन् । २०४७ मा महिला संघको अध्यक्ष भएकी यादव कांग्रेस परित्यागपछि राप्रपा प्रवेश गरेर सहायक महामन्त्री बनिन् । स्नातक तहसम्मको अध्ययन गरेकी उनले मधेस आन्दोलनपछि राप्रपा छाडेर तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गरिन् ।

हाल समाजवादी पार्टीमा केन्द्रीय उपाध्यक्ष छिन् । २०५६ मा सप्तरीमा राप्रपाबाट निर्वाचित उनी २०६४ मा फोरम नेपालबाट संविधानसभा सदस्य बनिन् । उनी अहिले संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद हुन् । २०६० मा महिला, बालबालिका तथा समाज कल्याण र विज्ञान तथा वातावरण राज्यमन्त्री भएकी यादव २०६५ मा शिक्षामन्त्री भएकी थिइन् । २०४८ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेर पराजित भइन् ।

प्रेम आले

अघिल्लो सरकारमा वनमन्त्री रहेका आले व्यापारिक पृष्ठभूमिका हुन् । हाल एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् । २०५४ मा तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सदस्य भएर राजनीतिमा आबद्ध आले छोटो समयमै दुईपटक मन्त्री बन्नेमा पर्छन् । २०६२ मा नेकपा एमाले जिल्ला कमिटीको उपसचिव भएका उनी २०६५ मा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा निर्वाचित भए । २०७१ को नवौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित उनी अध्यक्ष ओली पक्षमा थिए । संविधानसभा सदस्य निर्वाचन २०७० मा डोटी–२ बाट निर्वाचित उनी २०७४ को निर्वाचनमा पनि विजयी भए ।

दिलेन्द्रप्रसाद बडू

दार्चुलामा २०११ सालमा जन्मेका बडू भूगोलमा स्नातकोत्तर हुन् । २०७४ को निर्वाचनमा समानुपातिकतर्फ सांसद बनेका उनलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा देउवाले मन्त्री बनाएका हुन् । उनी २०४८ र २०५६ मा दार्चुलाबाट प्रत्यक्ष निर्वाचित भए । उनी जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सदस्य बने । हाल उनी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सदस्य छन् । उनी २०४८ मा आवास तथा भौतिक योजना सहायकमन्त्री, २०५६ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए । त्यसपछि सञ्चार र वन मन्त्रालयको जिम्मेवारी पनि सम्हाले । प्राध्यापन पेसा छाडेर पूर्णकालीन राजनीतिमा आएका बडू कांग्रेस केन्द्रीय सदस्य हुन् ।

देवेन्द्र पौडेल

पौडेल माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हुन् । बागलुङ–२ बाट प्रत्यक्ष चुनाव जितेका उनी पहिलोपटक मन्त्री बनेका हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर पौडेल अखिल क्रान्तिकारीको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष र अध्यक्षसमेत भए । २०५२ मा सुरु भएको माओवादी सशस्त्र संघर्षमा उनी सहभागी भएका थिए ।

२०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको प्रमुख राजनीतिक सल्लाहकार भएका पौडेल केही समय नयाँ शक्तिको राजनीति गरेर पुनः माओवादीमै फर्केका थिए । उनी २०४२ देखि २०४४ सम्म १८ महिना धनगढी जेलमा र ६ महिना सदरखोर थुनामा परेका थिए । उनले पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत जीवन बिताए । उनका मार्क्सवाद र नेपाली क्रान्ति, नेपाली क्रान्तिका वैचारिक आधारहरू लगायतका राजनीतिप्रधान कृति प्रकाशित छन् ।

महिन्द्र राय यादव

कम्युनिस्ट पार्टीबाट राजनीतिमा आबद्ध यादव २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीबाट विजयी भएका थिए । २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा उनी सर्लाही–४ बाट विजयी भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी निर्वाचित भए । २०५४ सालमा राज्यमन्त्रीको जिम्मेवारी पाएका यादवले २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाए ।

२०६२–६३ सालको आन्दोलनपछि एमाले परित्याग गरी उनले तराई मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बनेका थिए । पछि तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टीको स्थापना र नेतृत्व गरेका यादव राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य थिए । यादव हाल जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य छन् ।

उमा रेग्मी

चितवनबाट समानुपातिक सांसद रहेकी रेग्मी स्नातकोत्तर हुन् । २०२८ सालदेखि नेविसंघको राजनीतिमा लागेकी उनी २०५८ मा महिला संघको केन्द्रीय अध्यक्ष हुँदै हाल कांग्रेस केन्द्रीय सदस्य छिन् । राजनीतिक आन्दोलनका क्रममा उनी ३ वर्ष जेल बसिन् ।

२०४८ सालमा पर्वत २ बाट प्रत्यक्ष निर्वाचित उनी पुनःस्थापित प्रतिनिधिसभाको सदस्य भइन् । २०६४ र २०७४ मा पनि उनी समानुपातिकतर्फ सांसद हुन् । २०३८ सालमा काठमाडौंको वनकालीमा भएको नेविसंघको अधिवेशनमा प्रहरीले धरपकड गर्दा उनी पनि घाइते भइन् । प्रहरीले लाठी र बुट बजार्दा उनले पेटमा हुर्किंदै गरेको बच्चा गुमाउनुपरेको थियो ।

शशि श्रेष्ठ

समानुपातिक सांसद रहेकी उनी हाल राज्य व्यवस्था तथा सुशासन समिति सभापति थिइन् । २०३६ सालमा नेपाल कम्युनिस्ट पार्टीको चौथो महाविधेशनबाट औपचारिक रूपमा पार्टीगत राजनीतिमा आबद्ध भएकी थिइन् । स्नातक तहसम्म पढेकी उनी २०३८ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापतिमा निर्वाचित भएकी थिइन् । तत्कालीन जनमोर्चा हुँदै नेकपा माओवादीको राजनीतिमा उनी सक्रिय भइन् । २०६४ मा स्वास्थ्य राज्यमन्त्री भएकी श्रेष्ठले २०३८ देखि २०४२ सालसम्म जेल जीवन बिताएकी थिइन् ।

रामकुमारी झाँक्री

देउवा सरकारमा सबैभन्दा कम उमेरकी मन्त्री हुन्, झाँक्री । ३८ वर्षीय झाँक्रीलाई विधायकका रूपमा पहिलो संसदीय यात्रामै मन्त्री हुने अवसर जुरेको छ । एमालेभित्रको विवादमा माधव नेपाल पक्षमा सतिसालझैं उभिएकी उनलाई गठबन्धनभित्रै सबै दलका नेताले मन्त्री बनाउन चाहेका थिए । सोहीअनुसार उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकी छन् । गुल्मीको मदानेमा जन्मिएकी झाँक्रीले मानविकीमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकी छन् । समानुपातिक सांसद रहेकी उनी हाल संसद्को अर्थ समिति सदस्य छिन् ।

झाँक्री २०६२–०६३ को आन्दोलनको एउटा चर्चित अनुहार हुन् । अहिले उनी नेकपा एसको सचिव हुन् । उनी २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै विद्यार्थी राजनीतिमा प्रवेश गरेकी थिइन् । अनेरास्ववियुको १९ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित भएकी झाँक्री तत्कालीन एमालेको नवौँ राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

गजेन्द्र हमाल

कांग्रेस पृष्ठभूमिका उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको चाहनामा मन्त्री बनेका हुन् । हमाल हाल कांग्रेस क्रियाशील सदस्य मात्र हुन् । उनी १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । २०४० मा नेपालगन्जको त्रिभुवन चोकमा राजारानीको तस्बिर च्यातेपछि उनी चर्चामा आए । पार्टी विभाजनपछि देउवा नेतृत्वको कांग्रेसको बाँके सभापति भएर काम गरेका हमाल २०६४ को संविधानसभा निर्वाचनमा माओवादी नेता तिलक परियारसँग पराजित भए । हमाल ६ महिनाभित्र संघीय संसद्‌को सदस्यमा निर्वाचित हुनुपर्छ । नभए उनी पदमुक्त हुनेछन् ।

राम सहायप्रसाद यादव

यादव १७ वर्षको शिक्षण पेसालाई छाडेर २०४७ मा नेपाल सद्भावना पार्टीमार्फत राजनीतिमा आबद्ध भएका हुन् । बारामा जन्मिएका उनी २०६० मा संघीय समाजवादी फोरमको जिल्ला संस्थापक अध्यक्ष बने । २०६५ देखि २०७५ सम्म संघीय समाजवादी पार्टीको महासचिव भएका उनी हाल जनता समाजवादी पार्टीको पनि महासचिव हुन् । २०६४ को संविधानसभा सदस्यमा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गरेका यादव २०७४ को निर्वाचनमा बारा–२ बाट निर्वाचित भए । उनी जसपाबाट पहिलोपटक मन्त्री बनेका हुन् ।

कृष्णकुमार श्रेष्ठ

कांग्रेसका रामचन्द्र पौडेललाई हराएर उनी प्रतिनिधिसभामा तनहुँ १ बाट निर्वाचित सांसद हुन् । २०७७ वैशाखमा तत्कालीन समाजवादी पार्टी नेपालका सांसद अपहरणमा संलग्न भएको आरोप लागेपछि उनी राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए । वामदेव गौतमको साथ लागेर ओली क्याम्पमा पुगेपछि श्रेष्ठले गौतमको साथ छाडेका थिए । उनले ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने आश्वासन पनि पाएका थिए । तर ओलीले मन्त्री नबनाएपछि उनले देउवालाई विश्वासको मत दिएर नेपाललाई साथ दिए । उनी व्यापारिक पृष्ठभूमिका हुन् ।

महेश्वर गहतराज

बाँके–१ बाट प्रत्यक्ष चुनाव जितेका उनी माअ‍ोवादी केन्द्रीय सदस्य हुन् । तीन दशक लामो राजनीतिक क्रियाशीलता भए पनि संसदीय यात्रा भने उनको पहिलो हो । प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका गहतराज २०४५ देखि राजनीतिमा प्रवेश गरेका हुन् । अहिले संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सदस्य छन् । उनले राजनीतिक आन्दोलनका क्रममा भूमिगत जीवन बिताएका थिए । २०७० को संविधानसभा सदस्य निर्वाचनमा उनी पराजित भएका थिए ।

उमेश श्रेष्ठ

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत राज्यमन्त्रीमा तानिएका छन् । स्वास्थ्यमन्त्री नहुँदा १० साउनमा राज्यमन्त्री नियुक्त श्रेष्ठलाई देउवाले आफू मातहत काम गर्ने गरी जिम्मेवारी दिएका हुन् । भोजपुरमा जन्मिएका व्यवसायी श्रेष्ठ कांग्रेस समानुपातिक सांसद हुन् । प्याब्सनका पूर्वअध्यक्ष उनी हिसानको तीन कार्यकाल अध्यक्ष भइसकेका छन् । ३५ वर्षदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यवसाय गर्दै आएका उनी धनाढ्य राजनीतिज्ञमध्येमा पर्छन् ।

भवानी खापुङ

तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित खापुङ पहिलोपटक राज्यमन्त्री बनेका छन् । उनी २०७० मा तेह्रथुम–१ बाट निर्वाचित भई संविधानसभा सदस्य भएका थिए । हाल उनी संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य छन् । २०३६ देखि निरन्तर राजनीतिमा सक्रिय खापुङ आफूलाई कृषि र विकासका क्षेत्रमा विशेष रुचि रहेको बताउँछन् । उनी २०३६ मा महेन्द्र बहमुखी क्याम्पस मोरङबाट सक्रिय राजनीतिमा आबद्ध भएका हुन् । २०३९ मा उनी अनेरास्ववियुको क्याम्पस कमिटी अध्यक्ष भए । एमाले केन्द्रीय अनुशासन आयोगको सदस्य, नेकपाको केन्द्रीय सदस्य हुँदै उनी अहिले नेकपा एसको केन्द्रीय सदस्य छन् ।

बोधमाया यादव

बुबाको राजनीतिक विरासतका रूपमा उनले मन्त्री बन्ने मौका पाएकी छन् । उनी कम्युनिस्ट नेता स्व. रामवृक्ष यादवकी छोरी हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा तत्कालीन माओवादी केन्द्रका तर्फबाट उनी समानुपातिक सदस्यमा निर्वाचित भएकी हुन् ।

हाल उनी संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य छिन् । २०४४ मा अखिल छैटौं जिल्ला समिति सदस्यबाट राजनीति थालेकी उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य छिन् । उनी २०६२ चैत २९ देखि २०६३ असार १ गतेसम्म नजरबन्दमा परेकी थिइन् ।

प्रकाशित : आश्विन २३, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?