महाकाली तुइन प्रकरण: एस जयशंकरलाई नेपाली टोलीको ध्यानाकर्षण

राजेश मिश्र

काठमाडौँ — दिल्ली भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले दुई महिना अगाडि दार्चुलामा भएको तुइन काण्डका विषयमा भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको ध्यानकर्षण गराएका छन् ।

महाकाली तुइन प्रकरण: एस जयशंकरलाई नेपाली टोलीको ध्यानाकर्षण

भारतीय एसएसबीका जवानले तुइन काटिएदिएपछि 'पाली नागरिक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।

उक्त घटनामा एसएसबी जवानको संलग्नतासहित नेपाल सरकारले गरेको छानबिनमा उल्लेख छ । त्यस विषयमा भारतीय राजनीतिक तहको उच्च तहमा पहिलोपटक कांग्रेस नेता महतले कुरा राखेका छन् । यसअघि ठूलो दबाबपछि मात्रै नेपाल सरकारले उक्त घट्नाका बारेमा भारतलाई कुटनीतिक नोट पठाएको थियो । तर, एक महिना भइसक्दा पनि भारतले त्यसको कुनै रेस्पोन्स गरेको छैन ।

शुक्रबार भारतीय विदेशमन्त्री जयशंकरसँगको भेटमा महतले दार्चुला घटनाका विषयमा भारतले पनि छानबिन गरेर तथ्य कुरा बाहिर ल्याइदिन आग्रह गरेका हुन् । ‘त्यस घटनामा नेपाली जनता र सरकारको चासो छ, हाम्रो अनुसन्धानले एसएसबीको संलग्नता देखाएको छ, तल्लो तहमा कुनै एक जवानबाट गल्ती भएको हुनसक्छ,’ भेटपछि महतले भने ‘त्यसबारेमा अनुसन्धान गरेर तथ्य कुरा बाहिर ल्याइदिनुभयो भने त्यसले भारतप्रति सम्मान थप बढ्ने आग्रह गरेका छौं ।’

त्यस विषयमा नेपाल सरकारले कुटनीतिक नोटसमेत पठाइसकेको ध्यानाकर्षण पनि महतको टोलीले गराएको छ । त्यस घटनलाई गम्भीरता पूर्वक हेरिदन आफूहरुको आग्रह रहेको महतले बताए ।

पत्यूत्तरमा विदेशमन्त्री जयशंकरले त्यसबारे अनुसन्धान गरिने उल्लेख गरेको महतले कान्तिपुलाई जानकारी दिए ।

महतसहितको टोलीले नेपाल र भारतबीच देखिएका कतिपय विवादहरु कुटनीतिक वार्ताका माध्यमबाट समाधान गर्नमा जोड दिएका थिए । ‘कुटनीतिक वार्ताहरु बढाउनुपर्यो भन्ने हाम्रो आग्रह रह्यो,’ महतले भने ‘त्यसले राम्रो सन्देश दिन्छ, विवाद समाधानलाई मद्दत गर्छ ।’ उनले आफूहरुले धेरैजसो विषयमा भारतीय विदेशमन्त्रीको ध्यानाकर्षण गराएको बताए । सीमा विवाद, दार्चुला घट्ना, मलको आपूर्ति, कोभिड विरुद्ध खोपको आयातलगायत धेरैजसो विषयमा कुराकानी भएको उनले उल्लेख गरे ।

‘पूरानो केही खोप नेपालले पाउन बाँकी रहेको र थप किन्न चाहेको हामीले कुरा राख्यौं,’ उनले भने ’त्यस विषयमा उहाँले खोपको निर्यात छ्ट्टिै खुल्ने बताउनु भएको छ ।’ विदेशमन्त्रीसँग स सानादेखि कम्पिलिकेटेड विषयहरुमा पनि छलफल भएको उनले उल्लेख गरे । भारतीय विदेशमन्त्री जयशंकरबाट आफूहरुले सकारात्मक टोन पाएको उनले बताए । नेपालको लोकतन्त्र बलियो बनाउने आफूहरुको सहयोग रहने उनको भनाइ थियो ।

राजनीतिक तहमा कायम भएको ग्यापलाई कांग्रेस नेताहरुको भ्रमणले केही हदसम्म पूर्ने कोशिस गरेको छ । भारतीय जनता पार्टीको विदेश विभागको निम्तोमा महतको नेतृत्वमा कांग्रेस नेताहरु उदय शमशेर राणा र अजय चौरसिया बिहीबार दिल्ली आइपुगेका हुन् । आएकै दिन बिजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेको महतको टोलीले शुक्रबार विदेशमन्त्रीलाई भेट्न पूर्व बिजेपीका अन्य पदाधिकारीहरुसँग लामो छलफल गरेको थियो ।

पार्टी कार्यालयमा भएको छलफलमा बिजेपीका राष्ट्रिय महासचिवहरु अरुण सिंह, राजु विष्ट, प्रवक्ता सुधांशु त्रिवेदी, महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष भनाथी श्रीनिवासन र विदेश विभागका प्रमुख विजय चौथाइवाल लगायतका नेताहरु उपस्थित थिए । दुई देशका सत्तारुढ र प्रमुख राजनीतिक दलबीच सम्बन्ध विकासको प्रयास दुवै पक्षले गरेका छन् । कांग्रेस नेता राणाले पार्टीगत र नेताबीचको व्यक्तिगत सम्बन्ध मार्फत देश तहको कुटनीतिक सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने बताए । बिजेपीका नेताहरुसँग दुई देशका बीचमा कायम पूरानो सम्बन्ध, देखिएका कतिपय समस्याहरुले बारे खुलेर छलफल

बिजेपीको संगठन संरचना, पार्टी सञ्चालन विधि, तल्लो तहसम्म सूचना पूर्‍याउने प्रक्रिया लगायतका विषयमा पनि कांग्रेस नेताहरुले जानकारी लिएका थिए । नेताहरुले शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सँग पनि भेट्ने कार्यक्रम छ ।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पछिल्लो समय भारतसँगको सम्बन्ध सुधारमा जोड दिएका छन् । त्यसका लागि उनले पहिले पार्टी तहमा सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ । एक महिना अगाडि कांग्रेसको निम्तोमा बिजेपीका विदेश विभाग प्रमुख विजय चौथाईवाल काठमाडौं पुगेका थिए ।

प्रकाशित : आश्विन २२, २०७८ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?