न्याय खोज्न माइतीघरमा- समाचार - कान्तिपुर समाचार

न्याय खोज्न माइतीघरमा

नेपालगन्जबाट २० दिन पैदलयात्रा गरेर काठमाडौं आएकाहरू माइतीघर मण्डलामा उभिएर न्याय खोज्दैछन्
जनकराज सापकोटा

काठमाडौँ — न्यायको खोजीमा नेपालगन्जबाट सिंहदरबार ताकेर हिँडेका ११ महिला सहितको १४ जना न्यायको आवाज सुनाउन माइतीघर मण्डलामा पुगेका छन् । उनीहरू ११ बजेतिर माइतीघर मण्डलामा आएका हुन् ।

लामो यात्रापछि थकित र गलित देखिएका उनीहरू माइतीघर मण्डला छेउमा ब्यानर बोकेर उभिएका छन् । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा चित्तबुझ्दो अनुसन्धान नभएको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा राम्ररी खोजीनिती नभएको दुईवटा विषय सुनाउन उनीहरू केन्द्र सरकारको दैलो ताकेर नेपालगन्जबाट हिँडेर बुधबार साँझ काठमाडौं आइपुगेका थिए ।

माइतीघरमा उनीहरूले कालो ब्यानर बोकेका थिए । जसको एक छेउमा नन्कुन्नीको तस्बिर छ । उनीहरूले बोकेका ब्यानरमा लेखिएको छ– महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदार । नन्कुन्नीका भाइ माताप्रसाद धोबीले दिदी नन्कुन्नीका निम्ति न्याय माग्न यहाँसम्म आउनुपरेको बताए ।

प्रकाशित : आश्विन २२, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

लेबनानमा ११ वर्षपछि सजिता स्वतन्त्र

सुरुवातका २१ महिना घरधनीले तलब दिए, त्यसयताका नौ वर्ष तलब त पाइनन् नै, बँधुवा मजदुर बनेर थुनिनुपर्‍यो
जनकराज सापकोटा

काठमाडौँ — बुधबारको बिहान उनले बिताएका ११ वर्षजस्तो थिएन । सजिता लामाले लेबनानको भूमिमा स्वतन्त्रताको महसुस गरिन् । उखानअनुसार हुन्थ्यो भने त खोला १२ वर्षमा फर्किन्थ्यो तर घरेलु कामदारका रूपमा बँधुवा मजदुर जस्तो जीवनबाट मुक्ति पाउन उनले ११ वर्ष कुर्नुपर्‍यो ।

२०६७ असोज ४ मा वैदेशिक रोजगारीका लागि लेबनान उड्दा जोरपाटी नयाँबस्तीकी लामा २० वर्ष पनि टेकेकी थिइनन् । लेबनान पुगेपछि उनको मासिक तलब थियो जम्मा डेढ सय डलर । सुरुवातका २१ महिना त उनलाई घरधनीले नियमित तलब दियो । घरेलु कामदारलाई बैंकिङ प्रणालीमा पहुँच नदिने भएकाले उनले तलब बुझ्नेबित्तिकै घर पठाउँथिन् । तर त्यसपछिका महिना उनको भागमा घरभित्रको दैनिक १५ घण्टाभन्दा धेरै खटिनुपर्ने कामबाहेक केही परेन । श्रम स्वीकृति लिएर लेबनान उडेकी उनलाई भिसाको अवधि कहिले सकियो र कहिलेबाट आफू अवैध भएँ भन्ने पनि पत्तो भएन ।

लेबनानमा रहेका घरेलु कामदारको अधिकारको विषयमा पैरवी गर्ने समूह ‘दिस इज लेबनान’ले लामा बन्धक रहेको प्रकरणलाई सोमबार सामाजिक सञ्जालमार्फत बाहिर ल्याएको थियो । समूहले इन्स्टाग्राममा ‘फ्री सजिता’ भन्दै उनी कसरी घरेलु कामदारका रूपमा बन्धक भइन् र उनको उद्धार प्रयास कसरी घरधनीको असहयोगका कारण रोकिएको छ भनेर लेखेको छ । जसमा दुई दिनमै ३ सय ४५ प्रतिक्रिया आएका छन् । इन्स्टाग्राम पोस्टका अनुसार लामा दुई छोरीका बाबु रिचर्ड खौरे दम्पतीको घरमा कामदारका रूपमा आएकी थिइन् ।

दिस इज लेबनानका अनुसार लामाका घरधनी रिचर्ड आफ्ना दाजुसँग मिलेर लेबनानमा ख्यातिप्राप्त सैलुन चलाउँथे । जहाँ लेबनानका सेलीब्रेटी, गीतकारदेखि फिल्म स्टारहरूसमेत सेवाग्राहीका रूपमा आउँथे । टेलिभिजनमार्फत प्रसारण हुने ‘अरब आइडल’ जस्ता चर्चित रियालिटी सोहरूमा पनि खौरे जोडिएका थिए । सामाजिक रूपमा ख्यातिप्राप्त भए पनि खौरेले लामालाई नियमित तलब दिएनन् । दिस इज लेबनानका संस्थापक दीपेन्द्र उप्रेतीले कान्तिपुरसँगको कुराकानीमा खौरे परिवारले लामाका बारेमा झूटो बताएर र मानसिक त्रास देखाएर बँधुवा कामदार बनाएर राखेको बताए ।

लामा सानै छँदा उनका बाबु बितेका थिए । दिदी रोजगारीका निम्ति पोर्चुगल उडेपछि निरक्षर आमाबाहेक उनको खोजीमा आवाज उठाउने परिवारको सदस्य कोही भएन । लामाका ठूलोबुबा पर्ने सोम लामाका अनुसार दुई वर्षपछि नै उनी सम्पर्क बाहिर रहेपछि परिवारले कहाँ गइन् होला भनेर चासो राखेको थियो । सोमका अनुसार उनीहरूले बेलाबखत फोन गरेपनि घरधनीले फोन नउठाएपछि सजिता कहाँ र कस्तो अवस्थामा छिन् भन्ने पत्तो लागेन । त्यसपछि सोमले भतिजीको खोजी गरिपाउँ भनेर २०७३ फागुन १२ मा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा निवेदन दिएका थिए । विभागले यो पत्र लेबनान हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासमा पठाइदियो । दूतावासले लेबनानस्थित अवैतनिक महावाणिज्यदूत मोहम्मद घोजायललाई यसबारे बुझ्न लगाए । महावाणिज्यदूतले बुझ्दा डर र त्रासमा रहेकी लामाले आफू ठिकै रहेको बताइन् । जबकि त्यतिबेला पनि उनले तलब नपाएको चार वर्ष बितिसकेको थियो भने उनको भिसा पनि नवीकरण गरिएको थिएन ।

वर्षौंसम्म लामा सम्पर्क बाहिर रहेको खबर दिस इज लेबनानले पाएपछि उनको खोजी फेरि सुरु भएको थियो । सोमले भने ‘मैले असार २८ गते पनि कन्सुलरमा पुरानै व्यहोराको निवदेन दिए । त्यसपछि फेरि खोजी प्रक्रिया बढ्यो ।’ दोस्रो पटक कन्सुलेट अफिसले लामालाई कामदार बनेर बसेको घरबाट ल्यायो । उनीसँगै घरधनी पनि कार्यालय आए । वर्षौंसम्म घरभित्रै थुनिएकी लामाले घरधनीका अघि केही भन्न सकिनन् । दिस इज लेबनानका संस्थापक दीपेन्द्र उप्रेतीले भने, ‘कन्सुलेटको घरेलु कामदारको उद्धार र बयान प्रक्रियासम्मत नै थिएन । घरधनीकै गाडीमा आएर घरधनीविरुद्ध एकैछिनमा वर्षौं थुनिएकी कामदारले कसरी आफूमाथिको खतरा भन्न सक्छ ?’ त्यसो त उपेन्द्रले लामा घरेलु कामदारका रूपमा बन्धक रहेको र उनले आफूलाई बाहिर निकाल्नका रुँदै अनुरोध गरेको भिडियो पनि बाहिर ल्याएका थिए ।

१५ वर्ष लेबनानमा काम गरेर अहिले क्यानडा बस्दै आएका उप्रेतीले लामालाई तलब दिएको प्रमाण घरधनीले दिन नसकेको बताए । न त उनको भिसा अवधि नै थपिएको देखिन्छ । उनले परराष्ट्रको संयन्त्रले प्रभावकारी अनुसन्धान गर्न चुक्दा लामा वर्षौंसम्म घरभित्र बन्धक बन्नुपरेको उप्रेतीले बताए ।

ठूलोबुबा सोमका अनुसार सजितासँग आफन्तको कुराकानी नभएको पनि वर्षौं भएको छ । पछिल्लो फोन कुराकानीमा सजिताले रुँदै आफूलाई उद्धार गर्न भनेको शब्द अहिले पनि उनको कानमा गुन्जिरहन्छ । सोमले भने, ‘अरबी मिसिएको भाषामा उसले भनेकी थिई, ठूलोबा जसरी भए पनि नेपाल झिकाइदिनू ।’

लामालाई छुटाउन सामाजिक सञ्जालमा पनि अभियान सुरु भएको थाहा पाएपछि घरधनीले प्रहरी कार्यालयमा लगेर उनले तलब बुझेको भनेर जबर्जस्ती कागजात पनि गराएको थियो । तर यस्तो कागजात गराउनुपूर्व नै उनका ठूलोबुबा सोमले काठमाडौंस्थित कन्सुलर विभागमा दिएको उजुरी इजिप्टस्थित दूतावास हुँदै लेबनान पुगिसकेको थियो ।

लामा बन्धक भएको प्रकरण सरकारी वकिलको कार्यालयले चासो देखाएपछि बुधबार बिहानै घरधनी खौरेको बाबुको घरबाट उद्धार गरिएको छ । उप्रेतीले भने, ‘अहिले उनलाई सेल्टर हाउसमा राखिएको छ । अब उनको यतिका वर्षदेखि नदिइएको तलब पाउने प्रक्रिया चालेर नेपाल फिर्ता पठाउने काम सुरु हुनेछ ।’

ठूलोबुबा सोमले केही धन कमाएर सुखी जीवन बाँच्ने सपना बोकेर लेबनान उडेकी सजिताको भविष्य झन्डै सधैंका लागि अँध्यारोमा परेको बताए ।

प्रकाशित : भाद्र १०, २०७८ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×