२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

टिपर आतंकमा प्रशासन र जनप्रतिनिधिको साथ

व्यवसायीले पूर्वनिर्णयलाई अटेर गर्दै टिपर चलाउँदासमेत नख्खु करिडोरबाट चलाउनुपर्ने निर्णयमा हस्ताक्षर गरेका जनप्रतिनिधि मौनता साधेर बसेका छन्
प्रशान्त माली

काठमाडौँ — नख्खु–भैंसेपाटी र चापागाउँ–ठेचो–सुनाकोठी–सातदोबाटो सडक टिपर निषेधित क्षेत्र हो । तर, भैंसेपाटी सडकमा रातभरि नै ६ चक्के टिपर हुँइकिरहेका भेटिन्छन् । भाला काटेका साना टिपर त सडकमा दिउँसै गुड्छन् । निर्माण सामग्री बोकेका यी गाडी बस्तीका भित्री सडकमै चल्न थालेपछि अहिले स्थानीय बासिन्दा दुर्घटनाको त्रासमा छन् भने धूलोधूवाँबाट समेत आक्रान्त बनेका छन् । 

टिपर आतंकमा प्रशासन र जनप्रतिनिधिको साथ

बिहीबार राति बुङमतीबाट भैंसेपाटी हुँदै नख्खु आउँदै गरेको बा १ ख ८३९० नम्बरको टिपरले कारलाई ठक्कर दियो । मावनीय क्षति भने हुन पाएन । तर, निषेधित क्षेत्रमा टिपर चलाएको भन्दै स्थानीयले विरोधमा रातभर टिपर चल्न रोक लगाएका छन् । उनीहरूले भैंसेपाटीस्थित प्रहरी प्रभाग घेराउसमेत गरे । स्थानीय राजु थापा भन्छन्, ‘टिपरका कारण पटकपटक हुने दुर्घटनाले स्थानीय त्रासमा बाँच्न बाध्य छन् । यस विषयमा तीन दिनअघि मात्र स्थानीय प्रशासनलाई जानकारी गरायौं तर समस्या समाधान गर्न कसैले चासो दिएको छैन ।’

नख्खु टोल सुधार समितिका अध्यक्ष सुशील महर्जनले पनि दुर्घटना हुने डरले चिन्तित बनाएको बताए । ‘यसअघि धुवाँधूलो र प्रदूषणले सताएको थियो । अहिले दुर्घटनाको त्रासले,’ उनले भने । उनका अनुसार केही साताअघि भैंसेपाटी उकालोमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका थिए । टिपर आतंकका विषयमा जिल्ला प्रशासन र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई पटकपटक ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको उनले बताए ।

भैंसेपाटी हुँदै नख्खु आइरहेको बा१ख ८३९० नम्बरको टिपरले बिहीबार राति ठक्कर दिएको कार ।

भैंसेपाटी क्षेत्रमा टिपर आतंकको यो पहिलो घटना होइन । स्थानीयले अजंगका टिपर निषेधित क्षेत्रमा गुड्दा ज्यानको असुरक्षा भएको र प्रदूषण बढेको भन्दै समयसमयमा विरोध गर्दै आएका छन् । भैंसेपाटी र चापागाउँ सडकमा अत्यधिक दुर्घटना बढ्न थालेपछि स्थानीयको दबाबमा तत्कालीन स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिले एक दशकअघि नै टिपर (२६५ क्युफिट निर्माण सामग्री बोक्ने) चलाउन नदिने निर्णय गरेका थिए ।

त्यतिबेला स्थानीयले भाला काटेका साना टिपर (२४० क्युफिट) समेत बस्तीबाट चलाउन नपाउने माग गरे पनि राजनीतिक दल, स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी र खानी व्यवसायीको सहमतिमा चलाउन दिने निर्णय गरिएको थियो । ती साना टिपर चलाउन राति ९ बजेदेखि बिहान ६ बजेसम्मको समय तोकिएको थियो । २०७५ पुस २४ मा ललितपुरको ढुंगा–गिट्टी र बालुवाजस्ता खानीजन्य पदार्थ उत्खनन संकलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन गर्न गठित समितिको बैठकले टिपर सञ्चालनसम्बन्धी पुरानै निर्णयलाई सदर गरेको थियो । उक्त निर्णयमा तत्कालीन सांसद पम्फा भुसालदेखि नवराज सिलवालसम्मले हस्ताक्षर गरेका थिए ।

तर, ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको संयोजकत्वमा गत भदौ २ गते जनप्रतिनिधिसहित बसेको बैठकले पहिलाको निर्णयलाई उल्टाएर साना टिपरलाई नख्खु कोरिडरबाहेकका स्थानमा पनि चलाउन दिने निर्णय गर्‍यो । उक्त बैठकले यसअघि साना टिपरलाई राति ९ देखि बिहान ६ बजेसम्म मात्र चलाउने निर्णयलाई संशोधन गर्दै दिउँसो पनि चलाउन दिने निर्णय गरेको थियो । यसअघिको ठूला टिपर नख्खु करिडोरबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्थालाई भने यथावत् राखिएको थियो । तर, त्यसलाई बेवास्ता गर्दै खानी व्यवसायीहरूले हाल ठूला टिपर पनि नख्खु–भैंसेपाटी सडकमा गुडाइरहेका छन् । जसका कारण सर्वसाधारणले असुरक्षित महसुस गर्नुका साथै सडक बिग्रिएका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले आफू आउनुभन्दा अगाडिको निर्णय भएकाले यसबारेमा तत्काल केही भन्न नसक्ने बताए । ‘गलत निर्णय भएछ भने त्यसलाई सच्याउनु मेरो दायित्व हो,’ उनले भने । भदौ २ को निर्णयमा जनप्रतिनिधि, प्रहरी प्रशासन, वन, राष्ट्रिय अनुसन्धान, सशस्त्र, नेपाली सेनाले पनि सहमति जनाएका थिए । हस्ताक्षर गर्नेमा ललितपुरका सांसदद्वय नवराज सिलवाल, राजकाजी महर्जन, ललितपुर महानगरपालिका–१८ वडाध्यक्ष पुरुषोत्तम खड्का, गोदावरी नगरपालिका–९ का सदस्य जगत लामा, जिल्ला समन्वय अधिकारी, डिभिजन वन अधिकृत, राजदल गण लगनखेलका सेनानी, दक्षिणकाली सशस्त्र प्रहरी बल खुमलटारका प्रहरी नायब उपरीक्षकलगायत छन् ।

नख्खु करिडोरबाट चलाउनुपर्ने निर्णयमा हस्ताक्षर गरेका जनप्रतिनिधिसमेत पछिल्लो समय व्यवसायीले पूर्वनिर्णयलाई अटेर गर्दै टिपर चलाउँदासमेत मौनता साधेर बसेका छन् । पछिल्ला दुई निर्णयमा हस्ताक्षर गरेका सांसद सिलवाल बर्खाले नख्खु करिडोर बिग्रेको गुनासो आएकाले निश्चित समयका लागि मात्रै भैंसेपाटी सडकमा चलाउन दिने निर्णय भएको तर्क गर्छन् । ‘बर्खाले नख्खु करिडोर बिग्रेर निर्माण सामग्री आवतजावत नै ठप्प भएको भन्ने गुनासो आएपछि निश्चित समयका लागि भैंसेपाटी सडक भएर चलाउन दिने भनी निर्णय गरेको हो । सर्वसाधारणलाई अप्ठ्यारो परेमा नख्खु करिडोरबाटै चलाउन अर्को निर्णय गर्छौं,’ उनले भने । तर, उनले अहिले बर्खा सकिएकाले करिडोरबाट पनि चल्न सक्ने अवस्था भइसकेको बताए । ठूला टिपर चलेको भए त्यसलाई प्रहरीले रोक्नुपर्ने उनको भनाइ छ ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पनि टिपर रोक्न प्रहरी प्रशासनले ध्यान नदिएको बताए । ‘हामीले निगरानी राख्न पटकपटक भन्ने गरेका छौं,’ उनले भने, ‘निषेधित क्षेत्रमा टिपर चलाएको भेटिएमा तत्काल कारबाही गर्न सकिन्छ ।’ अहिले गोदावरी नगरपालिका–७ देवीचौर क्षेत्रमा सञ्चालित खानी तथा क्रसर उद्योगबाट उत्पादित ढुंगा, गिट्टी बुङमती–खोकना दोबाटो–भैंसेपाटी सडक भएर निर्बाध चलिरहेका छन् । भैंसेपाटी प्रभागबाट ठाउँठाउँमा प्रहरी खटिएका पनि हुन्छन् । नख्खु पुलमा त अस्थायी प्रहरी चौकी नै छ । तर, त्यहाँ टिपरको जाँच हुँदैन । खोकना दोबाटोमा खटिएका प्रहरी टोलीले पनि सजिलै पास गरिदिन्छन् । भैंसेपाटी प्रहरी प्रभागका इन्चार्ज लोक गुरुङले आफूहरू निर्णय कार्यान्वयन गर्ने निकायमात्र भएको बताए । ‘हामीलाई रोक्नु भनेर पत्र पठाएमा तत्काल रोक्छौं,’ उनले भने ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सानो टिपर चलाउन दिने निर्णयमा कर्मचारी र जनप्रतिनिधिले पनि समर्थन जनाएको बताए । ‘नराम्रो निर्णय भएको भए जनप्रतिनिधिले विरोध जनाउने थिए होलान्, राम्रो निर्णयलाई सबैले स्वागत गर्नुपर्छ,’ उनले भने । टिपर रोक्न ट्राफिक र जनपथ प्रहरीलाई निर्देशन दिने उनले बताए ।

वाग्मती करिडोर बन्द रहेको र तत्काल मर्मत गरी सञ्चालन गर्न सम्भव नभएको भन्दै खानी व्यवसायीले गरेको मागका आधारमा भैंसेपाटी सडक भएर कात्तिक मसान्तसम्म चलाउन दिने निर्णय गरिएको उल्लेख छ । ढुवानीका ठूला सवारीसाधन (१० चक्के वा सोभन्दा ठूलो) को हकमा भने खानीबाट क्रसरसम्म, वाग्मती र नख्खु करिडोरबाट मात्र सञ्चालन गर्न पाइने, बस्ती भएर नपाइने उल्लेख छ । पहिले टिपर खानी क्षेत्र देवीचौरबाट डुकुछाप–फर्सिडोल–छम्पी–नख्खु करिडोर हुँदै चक्रपथ गुड्थे । अहिले देवीचौरबाट भैंसेपाटी भएर सीधै चक्रपथ पुग्ने गरेका छन् । खानी व्यवसायीले चाहेमा नख्खु करिडोरबाट चलाउन सक्छन् । तर भैंसेपाटी सडक कालोपत्रे भएको र छोटो दूरीका कारण व्यवसायीले बस्तीबाट टिपर चलाइरहेका हुन् ।

देवीचौर डुकुछाप क्षेत्रमा मत्स्येन्द्रनाथ मल्टिपर्पोज, सजिलो रोडाढुंगा, न्यु क्वालिटी एड्भान्स, शान्ति गणेश रोडा ढुंगा उद्योग छन् । यीबाहेक काभ्रेका बुद्ध लामा, तनहुँकी अञ्जु पौडेललगायत छुट्टाछुट्टै समूह मिलेर वन क्षेत्रमा ढुंगा उत्खनन गर्दै आइरहेका छन् । मत्स्येन्द्रनाथबाहेक ढुंगा उत्खननका लागि अन्य उद्योगसँग लाइसेन्स छैन । क्वालिटीले भने मत्स्येन्द्रनाथकै खानीबाट ढुंगा उत्खनन गरिरहेका छन् । यी दुईबाहेक अन्य उद्योगले भने प्राकृतिक दोहान गरिरहेका छन् ।

अहिले गोदावरी नगरपालिका–७ मा ६.५ हेक्टरमा फैलिएको सामुदायिक वनमा ६/७ वटा एक्स्काभेटरले दिनहुँ ढुंगा उत्खनन गरिरहेका छन् । अवैध रूपमा सञ्चालित उद्योगका कारण राज्यलाई लाखौं रुपैयाँ राजस्व घाटा भइरहेको छ । व्यवसायीले एउटा क्रसरबाट दिनमा ४० देखि ९० टिपरसम्म रोडा बिक्री गर्छन् । गत वर्ष असारमा अवैध ढुंगा उत्खनन रोक्न खोज्दा गिद्धवीर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सचिवमाथि आक्रमण भएको थियो । सजिलो रोडा र न्यु क्वालिटी सञ्चालक शशि शाही ठकुरी र मधुसूदन डोटेल हुन् । शान्ति गणेशका सञ्चालक सुदर्शन विष्ट र रामकृष्ण विष्ट हुन् ।

खानी व्यवसायीलाई कांग्रेस, माओवादी केन्द्र र एमालेका नेताहरूले संरक्षण दिइरहेको आरोप छ । निषेधित क्षेत्रमा टिपर चलाउन दिने निर्णयमा खानी अनुगमन समिति संयोजक तथा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख अम्बरबहादुर खड्काले भने आपत्ति जनाएका छन् । उनी बैठकमा उपस्थित पनि भएनन् । उनले प्रमुख जिल्ला अधिकारीको काम टिपर सञ्चालनसम्बन्धी निर्णय गर्ने नभएर शान्ति सुरक्षा दिने भएको बताए । ‘टिपर निषेधित क्षेत्र घोषणा गरेको सडकमा आफूखुसी बैठक राखेर चलाउने निर्णय गर्दै हिँड्ने होइन,’ उनले भने, ‘निर्णयमा सांसद, वडाध्यक्षहरूले सहमति दिनु हुँदैन्थ्यो ।’ उनले सीडीओले बैठक राखेर निर्णय गर्नेभन्दा पनि निरीक्षण गरेर खानी अनुगमन समितिमा प्रतिवेदन पेस गर्नुपर्ने बताए । ‘निरीक्षण गर्न पनि भनेका थियौं तर गरेनन्,’ उनले भने ।

वाग्मती प्रदेश सरकारको नदीजन्य पदार्थ (संकलन र उपयोग) सम्बन्धी व्यवस्था गर्न बनेको कार्यविधिको परिच्छेद ६ अनुसार खानी अनुगमन तथा मूल्यांकनको संयोजकमा जिल्ला समन्वय समिति प्रमुख, सदस्यहरूमा जिल्ला समन्वय समिति उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल प्रमुख, डिभिजन वन अधिकृत र जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहने व्यवस्था छ । सोही समितिले टिपर नख्खु करिडोरबाट मात्र चलाउन पाउने निर्णय गरेको थियो ।

बागडोलवासीले पनि टिपरका कारण अत्यधिक धूवाँधूलो भएको भन्दै पटकपटक आन्दोलनसमेत गर्दै आएका छन् । उनीहरूले यस विषयमा धेरैपटक सीडीओ, ललितपुर महानगरपालिकाका मेयर महर्जनलाई ध्यानाकर्षण गराइसकेका छन् । माग सुनुवाइ नभएपछि उनीहरूले गत वर्ष महानगरलाई बुझाएको पत्रको बोधार्थ त्यस क्षेत्रमा बस्ने पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, नेकपाका नेतृ पम्फा भुसाल, पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की, प्रदेश सांसद जीवन खड्कालाई समेत दिएका थिए । समस्या समाधान नहुनुमा खानी व्यवसायी र राजनीतिक दलहरूबीचको मिलेमतो प्रमुख कारण रहेको स्थानीयको आरोप छ । ‘सबै जनाको मिलेमतोकै कारण टिपर अटेर गरेर गुडिरहेका छन्,’ नख्खु टोल सुधार समितिका अध्यक्ष महर्जनले बताए ।

प्रकाशित : आश्विन २२, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?