२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सरकार बनेको ८८ औं दिनमा मन्त्रिपरिषद् विस्तारको तयारी

प्रदेश १ र वाग्मतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति, उपसभामुखमा जसपाको दाबी
बबिता शर्मा

काठमाडौँ — गठबन्धन दलहरूले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले यसअघि भएको बाँडफाँटमा पनि हेरफेर गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

सरकार बनेको ८८ औं दिनमा मन्त्रिपरिषद् विस्तारको तयारी

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिनेछन् । कांग्रेस, माओवादी र एसले १–१ राज्यमन्त्री पनि पाउनेछन् 

एसलाई कानुन मन्त्रालयको सट्टा स्वास्थ्य मन्त्रालय तथा प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री दिने सहमति भएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा भएको सहमतिबारे स्थायी कमिटी बैठकमा जानकारी गराएको महासचिव बेदुराम भुसालले बताए ।

‘चार मन्त्रालय, एक राज्यमन्त्री, प्रदेश १ र वाग्मती प्रदेशको मुख्यमन्त्री लिने सहमति भएको छ,’ उनले भने । यसअघि एकीकृत समाजवादीलाई कानुन मन्त्रालय दिइएको भए पनि त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै सिफारिसका व्यक्तिलाई मन्त्री बनाउन खोजेका थिए । एकीकृत समाजवादीले सरकारमा जाने विषयमै पुनर्विचार गर्नॅपर्ने अवस्था आउने चेतावनी दिएपछि गठबन्धन बैठकले मन्त्रालय बाँडफाँटमा हेरफेर गरेको हो ।

एकीकृत समाजवादीले स्वास्थ्य, संस्कृति तथा पर्यटन, श्रम तथा रोजगार र सहरी विकास मन्त्रालय पाएको छ । उक्त पार्टीले विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, भवानी खापुङ र किसान श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको छ । नाम र कसलाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने विषय शुक्रबार बिहान बस्ने केन्द्रीय सचिवालयको बैठकले टुंग्याउने एकीकृत समाजवादीले जनाएको छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित, गृह, रक्षा, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, कानुन न्याय तथा संसदीय मामिला, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालय राख्ने भएको छ । माओवादीले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लिने भएको छ ।

जनता समाजवादीले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । नेताहरूका अनुसार मन्त्रिपरिषद् विस्तार हुनुअघि मन्त्रालय अझै हेरफेर हुन सक्छ ।

माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय नै गरिसकेको छ । पौडेलका अनुसार नाम तय भए पनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे बिहीबार साँझसम्म टुंगो लागेको छैन ।

चार मन्त्रालय पाएको जनता समाजवादीले पनि मन्त्रीको नाम टुंग्याउन सकेको छैन । कार्यकारिणी समितिको बुधबार बसेको बैठकले मन्त्रीको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । शुक्रबार बिहान तीन नेताको बैठक बसेर नाम टुंग्याउने तयारी गरेका छन् । जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, प्रदीप यादव, अमृता अग्रहरी, मृगेन्द्र यादव, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत नेता मन्त्रीका आकांक्षी छन् । जसपाले उपसभामुखमा पनि दाबी गरेको गठबन्धनका एक नेताले बताए ।

प्रकाशित : आश्विन २२, २०७८ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?