३ दिनसम्म आएन रिपोर्ट, पखालाका बिरामी थपिँदै

शिवराज अस्पतालमा बिहीबार मात्रै १२५ नयाँ बिरामी, क्लिनिकमा पनि उपचार

कपिलवस्तु, बुटवल — दुई जनाको ज्यान जाने र ६ सय जनाभन्दा बढी बिरामी पर्ने गरी फैलिएको झाडापखाला प्रकोपको पहिचान गर्न संकलन गरिएको दिसाको रिपोर्ट तीन दिन बितिसक्दा पनि नआउँदा नियन्त्रणमा समस्या भएको छ । मंगलबार संकलन गरिएको दिसाको नमुना बिहीबार बल्ल परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

३ दिनसम्म आएन रिपोर्ट, पखालाका बिरामी थपिँदै

रिपोर्ट आउन थप एक दिन लाग्नेछ । हैजाको आशंका गरिए पनि नियन्त्रण अभावमा बिरामी थपिने क्रम बिहीबार पनि जारी छ । रोगको यकिन पहिचान नहुँदा नियन्त्रणको योजना नै बनेको छैन ।

आठ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोली उपचारका लागि परिचालन गरिएको छ । बहादुरगन्जस्थित शिवराज अस्पतालमा बिहीबार मात्रै १ सय २५ जना नयाँ बिरामी थपिएका छन् । उनीहरूमा बान्ता, पखाला, पेट दुख्ने र कमजोरी हुने लक्षण छन् । कृष्णनगर नगरपालिकामा दूषित पानीका कारण प्रकोप फैलिएको आशंका छ ।

बहादुरगन्जबाट वितरण गरिएको खानेपानीका पाइप ठाउँ–ठाउँमा टुटफुट र लिकेज भएर संक्रमण फैलिएको प्रारम्भिक आकलन गरिएको नगर प्रमुख रजतप्रताप शाहले बताए । रोगको पहिचान गर्न मंगलबार विभिन्न क्षेत्रका पाँच जनाको दिसाको नमुना संकलन गरी बुटवल पठाइएको थियो । फिल्डमै खटिएका एक स्वास्थ्यकर्मीले भने, ‘रिपोर्ट आउन समय लाग्छ, कसरी नियन्त्रण गर्ने ?’ रोग पहिचान नहुँदा नियन्त्रणका लागि कुनै योजना नै नबनेको र प्रभावित गाउँमा पुगेर सचेतना जगाउने काम मात्र भइरहेको उनले बताए ।

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकास देवकोटाले दूषित पानीकै कारण झाडापखाला फैलिएको बताए । उनका अनुसार पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ । ‘हैजाकै आशंका बढेपछि संकलन गरिएको स्याम्पल परीक्षणका लागि आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका छौं,’ उनले भने, ‘शुक्रबार बेलुका वा शनिबार बिहानसम्म मात्र परीक्षणको रिपोर्ट आउने सम्भावना छ ।’

तत्काल रिपोर्ट नआए पनि नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रका घरघरमा पुगेर खानेपानी उमालेर खान आग्रह गरिरहेको उनले बताए । त्यसले केही नियन्त्रणमा आएको उनको दाबी छ । मंगलबार र बुधबारको तुलनामा बिहीबार बिरामी कम भएको उनले बताए ।

शिवराज अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुकेश चौधरीले बिरामी बढ्ने क्रम नरोकिएको बताए । ‘तीन वडाका गाउँ–गाउँमा बिरामी भएर कतिपय घरमै बसेका छन्,’ उनले भने, ‘गाह्रो भएपछि मात्र अस्पताल आइरहेका छन् ।’ अन्तिम अवस्थामा आउनेलाई अस्पतालमा सबै सुविधा नभएकाले रेफर गर्ने गरिएको उनले बताए । गाउँका निजी क्लिनिकमा उपचार गराउने पनि उत्तिकै संख्यामा छन् । सचिव देवकोटाले बिहीबारसम्म अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या ४ सय ७० पुगेको बताए । बिहीबारसम्म ३ सय १४ जना निको भएर डिस्चार्ज भएका छन् ।

अहिले अस्पतालमा ८७ जनाको उपचार भइरहेको देवकोटाले बताए । बढी सिकिस्त ३५ जनालाई बुधबार र ३४ जनालाई बिहीबार उपचारका लागि बुटवल, भैरहवा र तौलिहवा पठाइएको छ । १५ शय्याको अस्पतालमा ६ गुणा बढी बिरामी हुँदा धेरैलाई बाहिरै चौरमा राखेर उपचार गराइएको छ । एउटा बेडमा तीन जनासम्मको उपचार भइरहेको छ ।

अस्पतालमा ठाउँ अभाव भएपछि निजी क्लिनिकमा पनि बिरामीको भीड छ । बहादुरगन्जका झन्डै १० वटा निजी क्लिनिकमा १ सय जनाभन्दा बढीको उपचार भइरहेको स्थानीय अशोक पाण्डेले बताए । गाउँगाउँमा अझ पनि बिरामी थपिइरहेका छन् । ‘त्यसैले टोली बनाएर गाउँगाउँमै गएर उपचार गर्ने अभियान चलाउनुपर्छ,’ उनले भने, ‘नभए फेरि बिरामी अचानक बढेर महामारीको अवस्था आउन सक्छ ।’

अस्पतालमा अहिले प्रदेश र जिल्लाबाट सात जना डाक्टर आएर उपचारमा खटिएका छन् । त्यस्तै कृष्णनगर र शिवराज नगरपालिका, जिल्ला अस्पतालबाट पनि स्वास्थ्यकर्मीको टोली खटिएको छ । प्रकोपबाट मंगलबार बिहान दुई जनाको मृत्यु भएको थियो । सुरुमा कृष्णनगर नगरपालिका–७, ८ र ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरागाउँका बासिन्दा बिरामी परेका थिए । पछि संक्रमण अन्य वडामा फैलिएको थियो ।

कपिलवस्तुमा फैलिएको प्रकोप हैजा भएको आशंका बढेपछि रूपन्देहीमा पनि उच्च सतर्कता अपनाइएको छ । कपिलवस्तुका गम्भीर बिरामी बुटवलका विभिन्न अस्पतालमा उपचारका लागि ल्याइएको छ । त्यसबाट पनि हैजाका जीवाणु फैलिन सक्ने भएकाले सतर्कता सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘त्यहाँ फैलिएको प्रकोपले हामी पनि जोखिममै छौं,’ उनले भने, ‘कपिलवस्तुका बिरामीमा कलेराको लक्षण देखिएपछि सतर्कता अपनाउनु जरुरी हुन्छ ।’

प्रकाशित : आश्विन २२, २०७८ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?