३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
नाटक समीक्षा

'ठूला माछा-साना माछा' : सत्तालाई सशक्त प्रश्‍न

रीना मोक्तान

काठमाडौँ — 'सर नमस्कार । हमर बेटीके स्टाफ नर्सके छात्रावृत्तिके फारम भरे पर्लो । ओकरा प्रमाण पत्रमे एकरा नाम छि । नागरिकतामे दोसर नाम । एकरा बनादेवे परले !' एक वृद्ध किसानले वडा कार्यालयको एउटा ढोकामा बिन्ती बिसाउन नपाउँदै उनकी छोरी बोल्छिन्, 'सर स्कुली प्रमाण पत्रनु रेणुका नामे रही, नागरिकतानु रेनुका रही । नामे मिलवा चा ना ।'

'ठूला माछा-साना माछा' : सत्तालाई सशक्त प्रश्‍न

कर्मचारीले उनलाई नागरिकता मिलाउनेबारे काम गर्ने कोठा देखाउँदै भने, 'ए ६ नम्बर जानुस् ।' बाबु-छोरी '६' नम्बर कोठामा पुगेर आफ्नो समस्या सुनाउँछन् । ती कर्मचारीले फेरि १० नम्बर कोठामा जान भने । बाबु-छोरी कार्यालयको कोठा चहारेको चाहार्‍यै हुन्छन् । अन्तमा उनीहरुलाई सीडीओ कार्यालय पठाइन्छ । सीडीओ कार्यालयले केही बेरको सोधपुछपछि फेरि वडा कार्यालयमै फिर्ता पठाइदियो ।

बाबु-छोरीले वडादेखि सीडीओ कार्यालयका सबै कोठा चहारिसकेपछि वडा कार्यालयको एक कर्मचारीले भन्छन्, 'प्रमाणपत्रमा रेणुका, नागरिकतामा रेनुका भन्ने व्यक्ति एउटै हो भनेर प्रमाणित गर्न सात जना छरछिमेक साक्षी चाहिन्छ । साक्षीहरुको नागरिकताको फोटोकपी र हस्ताक्षर पनि चाहिन्छ । अनि त काम बन्छ ।'

ती वृद्ध किसान भने 'यति कुरा पहिल्यै भन्नुर्थ्यो' भन्दै आक्रोशित बन्छन् । बिहीबार बसन्तपुरमा खुल्ला रंगमञ्च(डबली, सडक)मा प्रस्तुत गरिएको नाटक 'ठूला माछा-साना माछा'ले प्रस्तुत गरेको सुंवाद र दृश्य थिए ती ।

शिल्पी थियटरले आयोजना गरेको यो नाटक बृहत नागरिक आन्दोलनको नाटकमार्फत् प्रश्न पनि थियो । नाटकले सरकारी कार्यालयको ढिलासुस्ती, बिचौलिया प्रवृत्ति, शिक्षामा भएको व्यापार, स्वास्थ्यमा गरिने लापरवाहीलगायत समस्याहरुमाथि प्रश्न उठाउँदै भ्रष्टाचारविरुद्ध आवाज उठाएको छ । गरिब निमुखा जनताका लागि विकासको उपलब्धि नभएको, गरिबहरु रातदिन दु:ख गर्नुपर्ने तर शक्तिमा भएकाहरु शक्तिशाली बन्दैगएको समाजको ऐना नाटकमा देखिएको छ ।

किसान र मेयरको परिवारका दुई कथामार्फत् गरिब र धनीबीचको खाडल, गरिब कसरी हरेक दिन गरिब र धनी कसरी श्रमविना नै धनी बन्दैछ भन्ने तीतो यथार्थ पनि नाटकमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । नाटकले वर्तमान राजनीति र बेथितिका सवालमा पनि नागरिकलाई खबरदारी गरेको छ ।

किसान बाबु-छोरीले वडा कार्यालय धाएको दृश्य हेरेपछि त्यहाँ उपस्थित करिव २ सय दर्शकहरुमध्ये एक युवक भन्दै थिए, 'हो यस्तै हुन्छ सरकारी कार्यालयमा । कर्मचारीहरु यसरी नै झुलाउँछन् जनतालाई ।' ती युवकसँगै भीडका अधिकांश दर्शकले नाटकमा आफ्नो कथा, व्यथा पीडा र आक्रोशलाई देखेका थिए ।

५० मिनेट लामो नाटकलाई दर्शकले चाखपूर्वक हेरेका थिए । किसानको मलको समस्यादेखि सरकारी कार्यालयहरुको घुसखोर प्रवृत्तिसम्म नाटकले प्रहार गरेको छ । कलाकारहरुले शरीरको भावभंगिमाबाटै 'चामलको बोरा', 'एम्बुलेन्स' र 'थ्रेसर' बनाएका दृश्य उत्कृष्ट थिए । 'चरा' र 'कुकुर' बनेका पात्रले नाटकलाई थप रोमान्चक बनाएका थिए ।

नाटकको सबैभन्दा सशक्त पक्ष यसमा प्रयोग गरिएको संगीत हो । संगीतले कथा वाचनलाई कलात्मक बनाएको थियो । हरेक दृश्यपछि संगीत समूहले कथा वाचन गरेको दृश्यले नाटकलाई सांगीतिक बनाएको थियो । चलाखीपूर्ण ढंगले प्रप्सको प्रयोग गरिएको थियो । स्टेजमा रहने त्रिकोणात्मक दुई प्रप्समा साउन्ड पनि जोडिएको थियो ।

मेयर, चरालगायतको भूमिकामा देखिएका मानाहाङ राईको अभिनय बेजोड थियो । किसानकी छोरीको भूमिकामा संगीता उराँवले दमदार अभिनय प्रस्तुत गरिन् । उप-मेयरको भूमिकालाई पवित्रा खड्काले न्याय दिएकी थिइन् । नाटकमा १३ कलाकारको अभिनय थियो । घिमिरे युवराजको परिकल्पना र निर्देशनमा तयार भएको यस नाटकले सीमान्तकृत, किसान, स्वास्थ्य, विकास, सिंहदरबारको संकटलगायत मुद्दा उठाउँदै सत्तालाई प्रश्न गर्न सफल भएको छ । नाटकमा नेपाली, थारु र मैथली तीन भाषा प्रयोग गरिएको छ । शिल्पीको टिम यही नाटकलाई लिएर देश दौडाहमा जाने तयारीमा छ ।

प्रकाशित : आश्विन २१, २०७८ २२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?