प्रदेश सरकार बोझमात्रै : थापा- समाचार - कान्तिपुर समाचार

प्रदेश सरकार बोझमात्रै : थापा

कान्तिपुर संवाददाता

पाँचथर — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीय संरचनामा प्रदेश सरकार प्रत्युत्पादक र खर्च बढाउने थलोमात्रै भएको टिप्पणी गरेका छन् ।

फाइल फोटो

राप्रपा पाँचथरले बिहीबार सदरमुकाम फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् । स्थानीय सरकारलाई थप बजेट र अधिकार दिएर प्रादेशिक संरचना भंग गरे फरक नपर्ने उनको भनाइ थियो । ‘महामारी र प्राकृतिक विपत्तिमा स्थानीय सरकारको उपस्थिति महत्वपूर्ण रहँदै आएको छ, मुलुकभर आएका बाढी, पहिरो र महामारी नियन्त्रणमा प्रदेश सरकारको भूमिका नै देखिएन, प्रदेश सरकार,संसद् र अन्य संरचना मुलुकका लागि बोझ साबित भइसके त्यसैले खारेज गरे फरक पर्दैन,’ थापाले भने ।

अर्को एक प्रसंगमा थापाले कांग्रेस र कम्युनिष्ट पार्टीको अदूरदर्शिताकै कारण मुलुकमा संघीयता धरापमा पर्न थालेको उनको भनाइ थियो । कात्तिकमा हुने केन्द्रीय महाधिवेशनबाट पार्टीका सबै मुद्दा मिलाएर आगामी चुनावमा देशका प्रमुख शक्तिमध्येको एकमा पुर्‍याउने उनको दाबी थियो ।

प्रकाशित : आश्विन २१, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्

गैरकानुनी रुपमा बसेका श्रमिकलाई कतारमा आममाफी

कान्तिपुर संवाददाता

काठमाडौँ — कतार सरकारले गैरकानुनी रुपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकलाई कैद वा जरिवानाबिना वैध हुन पाउने घोषणा गरेको छ । आन्तरिक मन्त्रालयका अनुसार अक्टोबर १० देखि डिसेम्बर ३१ गतेभित्र आफ्नो गैरकानुनी हैसियतलाई वैध बनाउन पाउने भएको हो । यो श्रम (काम गर्न पाउने) भिसा र परिवार भ्रमण भिसाको अवधि समाप्त भएर बसेकाहरुको हकमा लागू हुनेछ ।

कतारले यसअघि २०१७ मा आममाफी दिएको थियो । यो समयभित्र आफ्नो कानुनी हैसियत वैध बनाउन मिल्ने मन्त्रालयको भनाइ छ । कतार सरकारले गैरकानुनी हैसियतमा बसेकाहरुले उम सलाल, सनैया, मिसैमिर, अल वर्का र अल रैयानस्थित सेवा केन्द्रमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । ती श्रमिकहरु सिधै सनैयास्थित खोज तथा अनुगमन विभाग (सीआईडी भनेर चिनिने कार्यालय)मा समेत जान पाउनेछन् ।

कम्पनीले भिसा नवीकरण नगरिदिएको वा कम्पनी छाडेर अन्यन्त्र काम गरिरहेका श्रमिकहरुले आफूलाई कानुनी हैसियत प्रदान गर्न सक्नेछ । कतारले कम्पनी परिवर्तन गर्न पाउने नियम ल्याएपछि मात्रै कम्पनी छाडेर भाग्ने प्रवृत्तिमा कमी आएको छ । त्यसअघि तलब नपाएका र बन्द भएका कम्पनीका कामदारहरु भाग्ने गरेका थिए ।

कतारमा गैरकानुनी हैसियतमा बसेका नेपाली श्रमिकको संख्या एकिन नभएको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित : आश्विन २१, २०७८ १८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×