१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जटिल प्रकारको एलर्जिक रियाक्सनका कारण बालिकाको मृत्यु : पाँचथर अस्पताल

लक्ष्मी गौतम

पाँचथर — पाँचथर अस्पतालले जटिल प्रकारको ‘एलर्जिक रियाक्सन’ (एनाफ्याल्याक्सिस रियाक्सन) भएका कारण अस्पतालमा उपचाररत ३ वर्षीया बालिका क्रिस्टिना थाम्सुहाङको निधन भएको दाबी गरेको छ । बुधबार उपचारको क्रममा बालिकाको निधन भएपछि आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

जटिल प्रकारको एलर्जिक रियाक्सनका कारण बालिकाको मृत्यु : पाँचथर अस्पताल

अस्पताल प्रशासले बिहीबार एक विज्ञप्ति जारी गर्दै ज्वरोका कारण भर्ना भएकी ती बालिकालाई नियमित जाँचपछि असोज २० गते बिहान इन्जेक्सनबाट औषधि दिने क्रममा नशाबाट ‘सेफ्ट्राक्सोन’ नामक एन्टिबायोटिक दिएको र त्यसपछि पारासिटामोल लगाउने क्रममा बेहोस भएको जनाएको छ । विज्ञप्तिमा परासिटामोलको इन्जेक्सन लगाएपछि बेहोस भएकी ती बालिकाको मुटुको चालमा समस्या आएर निधन भएको दाबी गरिएको छ ।

अस्पताल प्रमुख डा. बुद्धीबहादुर थापाका अनुसार ती बालिकाको मुटुको चालमा समस्या आएपछि आधा घण्टासम्म ‘सीपीआर’सहित मुटु चलाउनका लागि अन्य औषधि समेत दिइएको थियो । तर, चिकित्सकहरुले सक्दो प्रयास गर्दासमेत पनि मुटुको चाल फिर्ता नआएपछि बालिकालाई मृत घोषणा गरिएको बताए ।

विज्ञप्ति अनुसार करिब एक सातादेखि ज्वरो आएकी ती बालिकालाई अभिभावकले पटक–पटक पाँचथर अस्पतालकै आकस्मिक विभागमा देखाँउदै एन्टिबायोटिक खुवाउँदै आएका थिए । त्यति गर्दा पनि ज्वरो नघटेपछि असोज १९ गते भर्ना गरी बालरोग विशेषज्ञको निगरानीमा भर्ना गरेर नशाबाट औषधि दिन थालिएको थियो ।

अस्पतालले उपचाररत बालिकाको निधनप्रति दुःख व्यक्त गर्दै घट्नापछि उनका आफन्तले चिकित्सकलाई गाली गलौज गर्दै अस्पताल तोडफोड गरेको विषयमा खेद् व्यक्त गरेको छ । सिमित जनशक्ति र स्रोत साधनका बावजुद बिरामीको उपचारमा अहोरात्र खट्ने स्वास्थकर्मीलाई गलत आरोप लगाएर अस्पताल तोडफोड गरिएका कारण आफूहरु त्रसित भएको समेत विज्ञप्तिमा उल्लेख छ । शान्ति सुरक्षाको प्रत्याभुति नभएसम्म अस्पतालका सबैखाले सेवा ठप्प पारिएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले बताए ।

बालिकाको मृत्युको घट्ना सार्वजनिक गर्न माग गर्दै आफन्तले गरेको प्रदर्शन भड्किएपछि बुधबार साँझ पाँचथर अस्पतालमा तोडफोड भएको थियो । तोडफोडका कारण अस्पताल भवनका विभिन्न संरचनामा क्षति पुगेको छ ।

यसैबीच बालिकाको शव पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएर अन्त्येष्टि गरेका छन् । बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय पाँचथरमा भएको सर्वपक्षीय वार्तामा घट्नाको छानबिनका लागि ५ सदस्यीय समिति गठन गर्नुका साथै अन्त्येष्टि खर्च वापत ४० हजार रुपैयाँ उपलब्ध गराइएपछि आफन्त शव बुझ्न तयार भएका थिए ।

बालिकाको मृत्युपछि पाँचथर जिल्ला अस्पतालमा तोडफोड

प्रकाशित : आश्विन २१, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?