कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९
टिप्पणी 

कांग्रेस-एमाले : को कति ‘मास बेस्ड’ ?

पार्टी सञ्चालन विधि, सदस्यता संख्या र नेतृत्वको सोच हेर्दा कांग्रेस–एमाले दुवै पार्टी ‘मास बेस्ड र ‘क्याडर बेस्ड’ दुबै अभ्यास गरिरहेका छन् ।
ध्रुव सिम्खडा

काठमाडौँ — एमाले विधान महाधिवेशन भर्खरै सकिएको छ । विधान महाधिवेशन भए पनि विधिका विषयमा बहस चाहिँ धेरै भएन । अध्यक्ष केपी शर्मा ओलीले राजनीति, महासचिव ईश्वर पोखरेलले संगठनात्मक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरे । केही असहमतिका बुँदाहरूलाई नरम शैलीमा परिमार्जन गरी विधान महाधिवेशन टुंग्याइयो । यही महाधिवेशनको जगमा अब मंसिरमा एमालेको राष्ट्रिय महाधिवेशन हुनेछ ।

कांग्रेस-एमाले : को कति ‘मास बेस्ड’ ?

यस्तै भदौ तेस्रो सातादेखि कांग्रेसले १४ औँ महाधिवेशनका लागि निर्वाचनका गतिविधि जारी राखेको छ । मंसिर ९–१३ सम्म काठमाडौँमा महाधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको छ । ८ लाख क्रियाशील सदस्यहरूबीच उसले वडादेखि अधिवेशनका कार्यक्रम गर्दै आइरहेको छ । ८ लाख क्रियाशील र ५ लाख सङ्गठित सदस्य भएका पार्टी ‘क्याडर बेस्ड’ हुन नसक्ने उल्लेख गर्दै राजनीतिशास्त्रका प्राध्यापक कृष्ण हाछेथु भन्छन्, ‘कांग्रेस–एमाले दुवै ‘मास बेस्ड’ पार्टी हुन् ।’

कुन राजनीतिक दल ‘मास बेस्ड’ हो र कुन होइन भनी छुट्याउने केही आधारहरू छन् । नेतृत्वको सोच, व्यक्तित्व, मास अपिल, सदस्यता संख्याले त्यो दल ‘मास बेस्ड’ हो/होइन भन्ने थाहा हुन्छ ।

तर राजनीतिशास्त्रकै अर्का विश्लेषक आफ्नो र पराय छुट्याउने, टाउका गनेर यो आफ्नो पार्टी निकट र त्यो अर्काको भनी छुट्याउने नेताले नेतृत्व गरेको पार्टीलाई ‘मास बेस्ड’ मान्न नसकिने तर्क गर्छन् । ‘मास बेस्ड’ नेताले मेरो र अरूको भनेर विभेदी दृष्टिकोण नराख्ने र सबैलाई समान ठान्ने उनको बुझाइ छ ।

मूलतः कम्युनिष्ट पार्टी ‘क्याडर बेस्ड’ हुन्छन् । पार्टी ‘हेडक्वाटर’को निर्देशनमा माथिदेखि तलसम्म नेता/कार्यकर्ता परिचालित हुन्छन् । जथाभावी पार्टी सदस्यता दिइँदैन । सङ्गठित सदस्यता प्राप्त गर्न पार्टीका विभिन्न तहमा रहेर धेरै वर्ष काम गरेको हुनुपर्छ । पार्टीले तोकेको ‘लेबी’ तिर्नुपर्छ । आफ्ना जनवर्गीय संगठनहरूबाट तोकिएको रकम लिएर ‘होल टाइमर’लाई ‘पे’ गरिन्छ । यस्तो पार्टी ‘क्याडर बेस्ड’ हुन्छ । यस आधारमा हेर्दा एमाले पनि अब ‘क्याडर बेस्ड’ मात्र रहेन । ऊ बिस्तारै–बिस्तारै ‘मास बेस्ड’ बन्ने जमर्को गर्दैछ । किनकि, विगतमा जस्तो अब ऊसित कार्यकर्ताको सानो घेरा छैन, पार्टी फैलिएको छ । सङ्गठित सदस्यको संख्या निकै बढेको छ । लेनिनको परिभाषामा यस्तो पार्टी ‘क्याडर बेस्ड’ हुन सक्दैन ।

केही वर्षअघिसम्म विश्वविद्यालय पदाधिकारी नियुक्तिदेखि अदालतमा न्यायाधीश नियुक्तिसम्म आफ्नो कार्यकर्ता छान्ने पार्टी अब त्यो सोचबाट बाहिर निस्कने जमर्को गरेको हो कि भन्ने आभास हुन थालेको छ ।

पछिल्लो आमनिर्वाचनपछि केपी शर्मा ओलीले माओवादीसँग एकीकरण गरेर नेकपा पुनर्गठन गरे । त्यसकै बलमा साढे दुई वर्ष आफ्नै अनुकूलको शासन चलाए । आफ्नो अनुकूल नहुने बित्तिकै फेरि एक्लै अघि बढे । संसद् भङ्ग गरे । सर्वोच्चको फैसलाका कारण नेकपाको एकता भंग भयो । तैपनि उनी पछि हटेनन् । एमालेभित्र उनले सामूहिक नेतृत्व चाहेनन् । पार्टी फुटेर माधवकुमार नेपाल समूह बाहिरिँदा पनि उनी किञ्चित कमजोर ठान्दैनन् । विधान महाधिवेशन गरेर सबै अधिकार आफैंमा केन्द्रित गर्न सफल भएका छन् । सामान्यतया कम्युनिष्ट पार्टीमा हुने सामूहिक छलफल र बहस पनि आजभोलि एमालेमा हुन छाडेको छ ।

यसले ओलीलाई ‘मास बेस्ड’ नेता बनाउला कि एकाधिकारवादी ? प्रश्न उठेको छ । ‘मास बेस्ड’ नेता बन्ने चाहना हो भने पेलेर होइन, लोकतान्त्रिक विधि, पद्धति र संस्कार पालनाबाट मात्र त्यो वैधता प्राप्त गर्न सकिन्छ भन्ने हेक्का उनले राख्नु पर्छ । घोचपेच गर्ने र ठट्यौली पाराको बोलीले उनले ताली र गाली दुवै खाइरहेका छन्

हालै ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले ओलीलाई झनै शक्तिशाली बनाएको छ । यसबारे राजनीतिशास्त्रका प्राध्यापक कृष्ण हाछेथु भन्छन्, ‘राजनीतिशास्त्रले कुनै पनि पार्टीको विधान महाधिवेशनलाई चिन्दैन । केवल राष्ट्रिय महाधिवेशनलाई मात्र आधिकारिक मान्छ ।’

एकातिर आफ्नो आकार धेरै बढ्नु र अर्कोतिर कांग्रेस ले ‘मास’रूपमा धेरै तह र तप्कालाई आफूतिर आकर्षित गरेको देख्दै आएको एमाले पछिल्लो समय ‘क्याडर बेस्ड’ बाट ‘मास बेस्ड’ राजनीतितिर आकर्षित भएको र त्यतैतिर आफूलाई समाहित गर्दै अघि बढ्ने जमर्को गरेको बुझ्न सकिन्छ ।

एकथरी राजनीतिक विश्लेषकहरू २०६२/६३ सालको जनआन्दोलनअघिसम्म कांग्रेस ‘मास बेस्ड’ आधारमा चलेको बताउँछन् । आफ्ना सांसद तथा नेताहरूसित कुनै पनि प्रकारको ‘लेबी’ लिँदैनथ्यो । त्यसयता भने कांग्रेस ले पार्टी चलाउने वहानामा एमालेले जस्तै आफ्ना सांसद र नेताहरूबाट निश्चित ‘लेबी’ लिने गरेको छ । वकिल, शिक्षक, कर्मचारी, प्राध्यापक सबैतिर आफ्नो जनवर्गीय सङ्गठन खडा गरेको छ । आफू सत्तामा भएका बेला राज्यका विभिन्न निकायमा कार्यकर्ता छानेर नियुक्ति गर्छ । आफ्नो र पराय भनेर छुट्याउने कांग्रेस कसरी ‘मास बेस्ड’ ? तर्क गर्नेहरू पनि छन् ।

२००७ सालताका राणा शासनविरूद्ध क्रान्तिको बिगुल फुक्दा कांग्रेस ‘मास बेस्ड’ थियो । किनकि, उसले त्यसबेला सबैलाई अपील गरेको थियो । उसको अपीलमा मुलुकका सबै जातजाति, धर्म–सम्प्रदाय, क्षेत्र, महिला, पुरूष सहभागी भएका थिए ।

बीपी कोइराला, गणेशमान सिंहको ‘मास’ अपील थियो । उनीहरूलाई ‘मास’ले सुन्थ्यो । बीपी कोइरालामा करिस्मा र दृष्टिकोण दुवै थियो । पार्टीको साँघुरो घेराभन्दा माथि उठ्न सक्ने आँट र क्षमता थियो । २००१ सालमा राणाले थुनेको जेलको पर्खालबाट हाम्फाली ढलबाट छिरेर भाग्न सफल गणेशमान सिंह साँच्चै साहसी थिए । खतरा मोल्न डराउँदैनथे । ढलबाट छिर्ने गणेशमान एउटा ‘मिथ’ नै बनेका थिए । उनी ‘मास’लाई आफ्नो पछि लगाउन सक्थे तर कहिल्यै ‘मास’को पछि लाग्दैनथे । एक्लै हुँदा पनि आफ्नो अडानबाट विचलित हुँदैनथे ।

तर अहिले कांग्रेस मा राष्ट्रिय अपील भएको, ‘मिथ’ सिर्जना गर्नसक्ने र करिस्मा भएको नेता पाउन मुस्किल छ । विषयको बुझाइ र गाम्भीर्ययुक्त वक्तृत्वकला पनि ‘मास लिडर’को लागि चाहिने विशेषता हो ।

कांग्रेसका नेताहरू राज्यसंयन्त्रमा जताततै एमालेका ‘क्याडर’ देख्छन् । र, आफू पनि त्यस्तै पार्टी बनाउने सोच बनाउँछन् । तर कताकता ताल मिल्दैन । अनि ‘न हाँसको चाल न कुखुराको चाल’ हुन पुग्छ ।

पार्टी सञ्चालन विधि, सदस्यता सङ्ख्या र नेतृत्वको सोच हेर्दा कांग्रेस –एमाले दुवै ‘मास बेस्ड’ पार्टी हुन् । ‘क्याडर बेस्ड’ होइनन् । पछिल्लो समय विकसित मुलुकहरूमा ‘टेलिजेनिक’ नेताहरूले ‘मास’ लाई आफूतिर आकर्षित गर्दैछन् । बराक ओबामा र अंगेला मर्केल ‘मास’लाई आफूतिर आकर्षित गर्न सफल भए । नरेन्द्र मोदी र सी चिनफिङको वक्तृत्वकला र आकर्षक व्यक्तित्वले ‘मास’ आकर्षित गरिरहेको छ ।


प्रकाशित : आश्विन २१, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?