१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गोरखा दरबारको दसैंघरमा राखियो जमरा

हरिराम उप्रेती

गोरखा — हिन्दू नेपालीहरुको प्रमुख चाड दसैंको पहिलो दिन आज (बिहीबार) घरघरमा वैदिक विधिपूर्वक दियो कलश र गणेश स्थापना गरेर घटस्थापना गरिएको छ । ऐतिहासिक गोरखा दरबारमा पनि विधिपूर्वक पूजा गरी ११.४६ बजेको १४ घडी १८ पलाको उत्तम साइतमा जमरा राखियो ।

गोरखा दरबारको दसैंघरमा राखियो जमरा

घडी पला अनुसार उत्तम साइतमा विधिपूर्वक गोरखकाली मन्दिरको दसैं घर र जमरा कोठामा जमरा राखिएको गोरखा दरबारका पूजारी शारदा प्रसाद भट्टराईले बताए । दसैंघर र जमरा कोठामा २ पाथी ४ माना, गोरखनाथ गुफामा १ पाथी, उपल्लो कोटमा २ माना र तल्लो कोटमा १ माना जौको जमरा राखिएको उनले बताए ।

‘परापूर्वक कालदेखिको प्रचलनलाई निरन्तरता दिँदै आज जमरा राख्यौँ, घटस्थापना स्थापना गरेर आजै शैलिपुत्री भगवतिको पूजा भएको छ,’ भट्टराईले भने । नवरात्रभर गोरखा दरबारमा विशेष पूजा हुँदैआएको छ । गोरखा दरबारमा पूजाका लागि बिहीबार साँझबाटै सूसारेहरु सक्रिय थिए ।

बुधबार बिहान ५.४० को शुभ साइतमा हर्षबढाइँका साथ कैलाशकोठाबाट मूल पूजाकोठामा भगवति सवार गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए । ‘उज्यालो पनि होइन अँध्यारो पनि होइन, नाडीको रौँ देखिने उज्यालोमा देवता सार्ने उहिलेदेखिकै चलन हो,’ उनले भने, ‘गोरखा दरबार पुनर्निर्माणको क्रममा छ, पहिले जस्तै कैलाशकोठाबाट रंगमहल हुँदै कालीका मन्दिरको उपभोग गर्न सकेनौँ, स्थान यताउता भए पनि संस्कृति गतिविधिलाई भने निरन्तरता दियौँ ।’ बुधबार चित्रा नक्षर र बैघेटी योग परेकाले स्वस्ती पूजा पनि भएको उनले बताए ।

भुसालका अनुसार दसैंभर हुने विशेष पूजाका लागि कलह, भाडार्वत थरघरको परम्पराअनुसार सफा गरिएको छ । दसैंको पहिलो दिन १५ ब्राह्मण र १० सूसारे तथा भृकोटे पूजामा संलग्न छन् । नियमित पूजा बाहेक कालिका र गोरखनाथमा दुईवटा सरकारी बली पनि चढाइएको उनले बताए । नवरात्रभर पञ्चमीसम्म गोरखा दरबारमा परम्परादेखिको विशेष पूजालाई निरन्तरता दिन सबै तयारी गरिएको भुसालको भनाइ छ ।


प्रकाशित : आश्विन २१, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?