३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भारतमा सहज, नाकामा सास्ती

मधु शाही

बाँके — बच्चा काखमा छटपटाइरहेको थियो । उनी कहिले हातले सुमसुमाएर चुप लगाउन खोज्थिन् त कहिले वरपर घुमाउँथिन् । दूध खुवाएर फकाउने मन भए पनि हिम्मत गर्न सकिरहेकी थिइनन् । जताततै मान्छेको भीड रहेकाले खुला सडकमा बच्चालाई दूध खुवाउन सुरक्षित थलो नपाएको सल्यानकी १९ वर्षीया सरिता विकले गुनासो गरिन् । ‘नानी रोइरहेछ, खुला ठाउँमा दूध चुसाउनै लाज लाग्छ,’ उनले भनिन् ।

भारतमा सहज, नाकामा सास्ती

बुधबार सरिताजस्ता थुप्रै नेपाली दसैं मनाउन जमुनाह नाकाबाट घर फर्किंदै थिए । नाकामा कोरोना जाँच गराउने हेल्थ डेस्क छ । भन्सार जाँच पनि गराउनुपर्ने हुँदा भारतबाट आएका नेपालीले कम्तीमा २ देखि ३ घण्टा नाकामै अलमलिनुपर्ने बाध्यता छ । यसले बालबालिकासहितका आमा र बच्चाले सबैभन्दा बढी सास्ती झेल्नुपरेको छ । सुरक्षित बस्ने थलो छैन । नजिकै धारा भए पनि पानी आउँदैन । सडकमै झोलाझाम्टा फालेर कोरोना जाँच गराउन घण्टौं बित्छ । भारतदेखि नाकासम्म आउँदा खासै समस्या नरहे पनि नाका प्रवेश गर्नासाथ दुःख सुरु हुने सर्वसाधारणको भनाइ छ ।

बुधबार बिहान ६ बजे नाका आइपुगेकी सल्यानकी २३ वर्षीया बिना विकले स–साना दुई छोराछोरी भुलाउन सास्ती खेप्नुपर्‍यो । कोरोना जाँच गराउन हेल्थ डेस्कमा पुगेका श्रीमान्लाई कुर्न उनले तीन घण्टा बिताएको बताइन् । काँधमा बोकेको छोरालाई उनले निर्धक्क दूध खुवाउने वातावरणसमेत थिएन । बच्चाले धेरै दुःख दिएपछि संकोच मान्दै पछ्यौरीले शरीर छोपेर स्तनपान गराउन बाध्य भइन् । प्रहरी बिटको छेउमै भुइँमा बसेर दूध चुसाएकी बिनाको अवस्था पीडादायी देखिन्थ्यो । दिल्लीदेखि दसैं मनाउन आएकी भारती जैशीले जमुनाह नाका लैंगिकमैत्री नभएको र आरामदायी स्थल नभएकोमा गुनासो गरिन् । एक वर्षको छोरा र श्रीमान्सहित उनी घर फर्किएकी हुन् । बिहान ६ बजे नाका आइपुग्दा पानी परेको थियो । ‘बच्चालाई समाएर सुरक्षित स्थानमा बस्ने थलो नहुँदा नेपाल–भारत सीमा गेटनजिक आश्रय लिनुपर्‍यो,’ उनले भनिन् ।

सुर्खेतका २१ वर्षीय खेमलाल खत्रीले तिर्खा लाग्दा पानीसमेत खाने व्यवस्था नाकामा नहुँदा मन निकै खिन्न भएको बताए । ‘हिजोदेखि खाना खाएको छैन, पानी किनेर खान पनि मनखत लाग्छ,’ उनले भने । बिरामी शरीर थेग्न नसकेर खेमकी श्रीमती कमलाले भुइँमै राखेका झोलाझाम्टामाथि टोउको अड्याएकी थिइन् ।

‘नाकामा धेरै बेर अल्झिनु भनेको खर्चमात्रै बढाउने होजस्तो लाग्छ,’ उनले भनिन्, ‘त्यसैले जतिसक्दो छिटो यहाँबाट उम्किन पाए हुन्थ्यो ।’ रिक्सावालादेखि होटलवालासम्मले आफूहरूलाई ठग्ने उनले बताइन् । भारतमा रोजगारीका लागि गएका व्यक्ति केही सातायता चाडपर्व मनाउन स्वदेश फर्किरहेकाले अहिले सीमामा भीड बढेको छ ।

प्रकाशित : आश्विन २१, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?