महाकाली सिँचाइ : काम सक्दै भारत, नेपालको अवस्था बेहाल

भवानी भट्ट

कञ्चनपुर — महाकाली सिँचाइ आयोजनाअन्तर्गत भारततर्फको नहर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भारतले अबको एक/डेढ महिनामै नहरमा पानी सञ्चालन गर्नेछ । तर, नेपालतर्फ भने साढे १२ किलोमिटर मूल नहर निर्माणबाहेक अरू प्रगति हुन सकेको छैन ।

महाकाली सिँचाइ : काम सक्दै भारत, नेपालको अवस्था बेहाल

आर्थिक वर्ष ०६२/६३ देखि नहर निर्माणको काम सुरु भएको हो । नेपालतर्फ ब्रह्मदेवदेखि मुसेपानीसम्म १२.८ किलोमिटर नहर निर्माण भएको छ । नहरमा पनि झार बिरुवा उम्रिएका छन् । ‘भारतले डिसेम्बरमा पानी छाड्ने भनेको छ,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भने, ‘हामीले पनि यो वर्ष मुसेपानीसम्म पानी पुर्‍याउने लक्ष्य राखेका छौं ।’ उनका अनुसार त्यसकै तयारीका लागि नेपाल–भारत सीमा क्षेत्रमा अढाई सय मिटर नहर निर्माण सुरु भइसकेको छ । उक्त आयोजनामा हालसम्म ४ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ । तर भौतिक प्रगति भने १३ प्रतिशत मात्रै छ ।

नेदरल्यान्ड्सको नेडिको नामक कन्सल्टेन्सीले २००१ मा गरेको सर्भेअनुसार आयोजनाको कार्ययोजना २० वर्षको र लागत अनुमान ११ अर्ब थियो । यो कार्ययोजनालाई आधार मान्ने हो भने नहर निर्माण सुरु भएको डेढ दशकको अवधिमा भौतिक प्रगति ७५ प्रतिशत हुनुपर्ने हो । न्यून बजेट, प्राविधकको अभाव, मुआब्जा विवादलगायत थुप्रै समस्याका कारण आयोजनाले गति लिन सकेको छैन । निर्माण सुरु भएको १३ वर्षसम्म वार्षिक बजेट ३०/४० करोड मात्रै हुन्थ्यो ।

गत वर्षको बजेट भाषणमा यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपछि बजेट बढ्न थालेको हो । राष्ट्रिय गौरवको आयोजना घोषणा गरिए पनि गत आर्थिक वर्षमा ४१ करोड मात्रै बजेट आएको थियो । चालु आर्थिक वर्षमा १ अर्ब २२ करोड बजेट सुनिश्चित भएको आयोजना निर्देशक बमले बताए ।

२०११ मा गरिएको सर्भेअनुसार आयोजनाको काम सक्न ३५ अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ । अहिलेकै अवस्थामा एक/डेढ अर्ब बजेट आए पनि कम्तीमा ३५ वर्ष लाग्ने देखिन्छ । अबको १० वर्षमा आयोजनाको काम सक्ने लक्ष्य छ । गत आर्थिक वर्षदेखि ५ वर्षसम्म पहिलो चरणमा १४ हजार २९० हेक्टर र त्यसपछिको अर्को ५ वर्षमा १९ हजार ३१० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । यसका लागि ५ वर्षभित्र करिब सय किलोमिटर मूल नहरसँगै शाखा प्रशाखाहरू निर्माण गरिसक्नुपर्नेछ । त्यसैगरी अर्को ५ वर्षमा ५१ किलोमिटर नहरसँगै त्यसअन्तर्गतका शाखा प्रशाखाहरूको काम सक्नुपर्ने हुन्छ ।

आयोजनाको मूल नहर १५१ किलोमिटर, शाखाहरू १७२ किलोमिटर र प्रशाखाहरू १ हजार २४ किलोमिटर निर्माण हुनेछन् । जसअन्तर्गत झन्डै एक हजारजति पुल, साइफनलगायत संरचना निर्माण गर्नुपर्नेछ । ‘यो वर्ष मूल नहर निर्माण भएको क्षेत्रमा शाखा र प्रशाखा निर्माणको सर्भे सुरु गरिनेछ,’ आयोजना निर्देशक बमले भने, ‘शाखा प्रशाखाका लागि न्यूनतम जमिन अधिग्रहण गरेर जाने भन्ने हाम्रो लक्ष्य छ, शाखाहरूमा विगतको जस्तो बाटो बनाइने छैन, सकभर बाटो छेउमै शाखा बनाउने योजना छ ।’ उनका अनुसार २८ किलोमिटर मूल नहर क्षेत्रमा २२ वटा शाखाको डिजाइन इस्टिमेट र जमिन अधिग्रहणको काम यो वर्ष सुरु गरिनेछ । जसबाट ५ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

भारतीय पक्षले टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमासम्म १२ सय मिटर नहर निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएपछि नेपालतर्फ पनि दबाब बढेको छ । १२.८ किलोमिटरदेखि २८ दशमलव ८ किलोमिटरसम्मको नहर निर्माणको काम चलिरहेको छ । विगतमा सामुदायिक वन र ऐलानी जग्गा अधिग्रहणमा देखिएको समस्याका कारण उक्त क्षेत्रमा नहर निर्माणको कामले गति पाएको थिएन । मुआब्जा विवाद गत वर्ष टुंगिएपछि निर्माण कार्य अगाडि बढेको छ । आयोजना निर्माण सम्पन्न गर्नका लागि १२ सय हेक्टर जमिन अधिग्रहण गर्नुपर्छ । हालसम्म १६७ हेक्टर मात्रै अधिग्रहण भएको छ ।

टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि १ हजार क्युसेक पानी पाउने एकीकृत महाकाली सन्धिमा उल्लेख छ । यसैगरी महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत नै शारदा नहरबाट दोधारा–चाँदनीका लागि साढे ३ सय क्युसेक पानी पाउनेछ ।

टनकपुरतर्फ नहर निर्माणको काम सुरु भए पनि दोधारा–चाँदनीतर्फ भने तयारी नै छैन । उक्त क्षेत्रमा झन् नेपाल–भारतमध्ये कसले सीमासम्मको नहर बनाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

प्रकाशित : आश्विन २१, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?