१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दाउन्ने सडक दसैंमा पनि मर्मत नहुने

विभिन्न स्थानमा ढुंगा खस्दा र सडक भासिँदा सवारी जामको समस्या छ । एकतर्फी यातायात सञ्चालन हुने भएकाले यात्रुले सास्ती भोगिरहेका छन् ।
नवीन पौडेल

परासी — पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड यसपटकको दसैंमा पनि मर्मत नहुने भएको छ । बुटवल–नारायणगढ सडकको पूर्वी नवलपरासी खण्डमा मर्मत भए पनि पश्चिम खण्डमा भने अहिलेसम्म काम सुरु भएको छैन । बुटवल–नारायणगढ सडक विस्तार पश्चिम खण्डका योजना प्रमुख प्रदीपराज शाक्यले दसैंअगाडि मर्मत गर्न कठिनाइ रहेको बताए ।

दाउन्ने सडक दसैंमा पनि मर्मत नहुने

‘खाडल पुर्ने, पहिरो हटाउने काम भए पनि वर्षाका कारण कालोपत्र दसैंअगाडि गर्न कठिन देखिन्छ,’ उनले भने, ‘पहिरो पन्छाउन डोजर राखिएको छ । दसैंमा सवारी चाप उच्च हुने भएकाले तत्कालका लागि खाडल पुर्न र गिट्टी राख्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको छ ।’ सडक विस्तारका क्रममा रहेको यस खण्डमा चाइना स्टेट कम्पनीले मर्मत गर्ने भने पनि अहिलेसम्म दाउन्ने खण्डमा काम भएको छैन । डोजरले सामान्य खाडल पुरिए पनि पहिरो र सडक भासिँदा यातायात सञ्चालनमा निकै कठिनाइ छ । भदौ ९ गतेको वर्षाले दाउन्ने सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको थियो । पूर्ण रूपमा पहिरो हटाउन सडक विभागलाई एक साताभन्दा बढी लाग्यो । अहिले पनि विभिन्न स्थानमा ढुंगा खस्ने र सडक भासिने गरेकाले सवारी जामको समस्या छ ।

मोडमा सवारीसाधन बिग्रिंदा पनि घण्टौं एकतर्फी यातायात सञ्चालन हुने समस्याले यात्रुले सास्ती खेप्नुपरेको हो । भारतबाट सामान आयात हुने ठूला सवारी र ओभरलोडका कारण सडक जीर्ण बन्दै गएको छ ।

मंगलबार नारायणगढबाट बुटवल हिँडेका विवेक भण्डारी दाउन्ने खण्डमा २ घण्टा जाममा परे । कारण थियो, तीन स्थानमा सवारी साधन बिग्रिनु । एउटा सवारी साधन बिग्रिँदा पनि दुई–दुई घण्टा सडक जामको सास्ती भोग्न उनीजस्ता यात्रु विवश छन् । सवारी जाम भएपछि ओभरटेक गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दा जामको सास्ती भोग्नुपरेको भण्डारीले बताए । ‘एउटा सवारीसाधन बिग्रिँदा पनि घण्टौं सवारी एकतर्फी हुने रहेछ । दसैंमा गाउँ जाने र आउने यात्रुले यो खण्डमा सास्ती पाउने निश्चित छ,’ उनले भने, ‘दसैंमा चिल्ला सडकमा यात्रा गराउने भनेर सडक विभागदेखि मन्त्रीसम्मले वाचा गरेका थिए । तर, यो खण्ड मर्मत हुने छाँट देखिएन ।’

सडकको अवस्थाका कारण दाउन्नेका होटलमा पनि ग्राहक घटेका छन् । ‘पहिले सार्वजनिक र निजी सवारीका यात्रु खाजा, खाना खाएर जान्थे, अहिले यहाँ बस्दैनन्,’ दाउन्नेमा होटल सञ्चालन गरिरहेका कुलबहादुर गुरुङले भने, ‘कति बेला जाममा परिन्छ भन्ने चिन्ताले यात्रु सकेसम्म छिटोभन्दा छिटो यो खण्ड पार हुन खोन्छन् ।’ सडक जीर्ण हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या परेको छ । साँघुरो बाटोमा भारतीय ट्यांकर र ठूला सवारीसाधन उकालोमा गुड्दा सडकको अवस्था थप बिग्रिएको छ ।

ठूला सवारी बिग्रिएपछि किनारा लगाउने स्थान नहुँदा घण्टौं सवारी जाम हुने गरेको पश्चिम नवलपरासीका ट्राफिक प्रमुख वासुदेव नेपालले बताए । ‘कुन समय जाम हुन्छ निश्चित छैन । चौबीसै घण्टा प्रहरी परिचालन गरेर यातायात व्यवस्थापन गर्न खोज्दा पनि समस्या आउने गरेको छ,’ उनले भने, ‘नियमित मर्मत सम्भार नहुनु र पहाडबाट झर्ने पानीको निकास नहुँदा सडकबाट नै वर्षाको पानी बग्दा कठिनाइ भएको हो ।’

प्रकाशित : आश्विन २१, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?