कोभिडको अर्को अँध्यारो पाटो : जीविका चलाउन यौनधन्दा

आर्थिक रुपले विपन्न, कमजोर परिवार तथा समुदायका किशोरीलाई लोभलालच र डरधम्की देखाएर देहव्यापारमा लगाइन्छ
विद्या राई

काठमाडौँ — उनी टुकुटुकु हिँड्न थालेकी थिइन्, घरखर्च टार्न बुबा विदेश लागे । १६ वर्ष भयो, फर्केका छैनन् । बुबा सम्पर्कविहीन भएपछि आमाले दोस्रो विवाह गरिन् । उनी पनि कहाँ पुगिन्, अत्तोपत्तो छैन । सिन्धुपाल्चोकमा भएको अलिकति पाखो बारीमा खेती गरेर पेट पाल्न सक्ने अवस्था नभएपछि हजुरआमा दुई वर्षकी नातिनी च्यापेर काठमाडौं छिरिन् ।

कोभिडको अर्को अँध्यारो पाटो : जीविका चलाउन यौनधन्दा

लुगा धुने, भाँडा माझ्ने काम गरिन् । सडकमा मकै पोलिन् । निकै दुःख गरेर नातिनीलाई हुर्काइन्, पढाइन् । कक्षा १० सम्म पढेपछि १४/१५ वर्षको उमेरमा नातिनी जेनिशा (नाम परिवर्तन) ले कपडा पसलमा काम गर्न थालिन् । हजुरआमाका हातगोडा लाग्न छाडिसकेकाले दुई जनाको छाक टार्ने जिम्मेवारी जेनिशाले सम्हाल्नुपर्‍यो ।

कोरोना महामारी फैलिएर देशभर लकडाउन भएपछि उनले काम गर्ने पसल बन्द भयो । महिनौंसम्म खुलेन । आयस्रोत गुमेपछि गुजारा चलाउन खेलौना बनाएर बेच्न थालिन् । खासै बिक्री हुँदैनथ्यो । बिहान–बेलुकी छाक टार्नै मुस्किल हुन थाल्यो । उनी नयाँ कामको खोजीमा थिइन्, चार महिनाअघि चिनेको एकजना साथीले केटाकेटीलाई ‘ट्युसन’ पढाउने काममा लगाइदिइन् । जोरपाटी बस्ने उनी मूलपानी, तिवारीटोलका रामशरण गोतामे र सीता गोतामेका तीन छोरालाई घरैमा गएर पढाउन थालिन् ।

१५ दिन पढाइसकेपछि सीताले धेरै पैसा कमाइ हुने भन्दै यौनधन्दा गर्न लोभ्याइन् । जेनिशाले मानिनन् । त्यसो नगरे १५ दिन पढाएको पैसा नदिने धम्की दिइन् । त्यसपछि जेनिशासँग विकल्प भएन । एक दिनमा चार जनासम्म पुरुषलाई झेल्नुपर्थ्यो । एक जनासँग सम्पर्क गरेबापत पाँच सय रुपैयाँ दिने सर्त थियो तर भनेअनुसार रकम पाइनन् ।

विस्तारै आफूले गरेको काम मन पर्न छाड्यो । केही ग्राहकले तीन हजार रुपैयाँ तिरेर किनेको भन्दै जबर्जस्ती गर्थे । महिनावारी भएका बेला, बिरामी भएका बेला पनि उनले छुट पाइनन् । रक्सी, चुरोटजस्ता नशालु पदार्थ सेवन गर्न दबाब दिइन्थ्यो । सर्तअनुसार पाउनुपर्ने पैसा माग्दा हिसाब गर्न नजानेको भनेर घरधनीले गाली गर्थिन् । पारिश्रमिक माग्दा ऋणका रूपमा लिनुपर्थ्यो, त्यसमा ब्याज जोडिन्थ्यो । घरधनीले ल्याएका कपडा महँगो तिरेर किनिदिनुपर्थ्यो । घरधनीको अत्याचार सहन नसकेपछि उनले यो काम नगर्ने भनेर झगडा गरिन् । घरधनीले ऋण नतिरी काम छोडेर अन्त गए मारिदिने धम्की दिन्थिन् । ‘अभावले गर्दा त्यो काम गर्न बाध्य भएँ, मार्ने धम्की दिन थालेपछि झन् डर लाग्यो,’ उनले भनिन् ।

गोतामेको घरमा उनीजस्तै अरू किशोरी पनि थिए, जसलाई जबर्जस्ती ‘काममा’ लगाइएको थियो । पहिलो तलाको दुईवटा कोठा यही कामका लागि प्रयोग गरिएको थियो । अरू कोठामा भाडामा बस्न आएकालाई पनि फकाइफुल्याई र डरत्रास देखाएर धन्दा गर्न बाध्य पारिएको थियो । रामेछापकी फूलमाया (नाम परिवर्तन) दिदी–भिनाजुसँग सोही घरमा बस्थिन् । उनी पहिले मासिक आठ हजार तलबमा रोदीघरमा भाँडा माझ्ने काम गर्थिन् । दुई–तीन महिनामा गाउँका बाआमालाई खर्च पठाउँथिन् । कोरोना महामारीले रोदीघर बन्द भएपछि दिदी–भिनाजुसँग बस्न थालेकी थिइन् ।

उनका दिदी–भिनाजु काममा गएका बेला घरधनीले जेनिशालाई जस्तै दबाब दिए । ‘सुटुक्कै गर्ने हो, नगरे दिदी–भिनाजुलाई भनिदिन्छु भनेर डर देखायो, कुटपिट गर्ने भनेर धम्क्यायो, कोठामा अरूलाई लिन पठाएर जबर्जस्ती गर्‍यो,’ उनले भनिन् । उनले दिदी–भिनाजु, परिवार, आफन्तलाई थाहा हुने डरले घरधनीले भनेको काम मानिन् । उक्त घरमा प्रहरीले छापा मार्थ्यो । प्रहरीलाई उनीहरूले वास्तविकता बताउन सकेनन् । ‘हामी घरभाडामा बसेको हो भनेर भन्नु, अरू कुरा भने जे पनि हुन सक्छ भनेर डर देखाएको थियो, हामीले ढाँट्थ्यौं,’ उनले भनिन् । प्रहरीले सोधपुछ गरेर छाडिदिन्थ्यो ।

यो क्रम पटक–पटक दोहोरिन थालेपछि यही आइतबार प्रहरी वृत्त बौद्ध र माइती नेपालले संयुक्त रूपमा उक्त घरमा छापा मारेर किशोरीहरूलाई उद्धार गरेको छ । उनीहरूलाई माइती नेपालको आश्रय गृहमा राखिएको छ । १६ देखि १९ वर्षका पाँचजना किशोरीहरूलाई लोभलालच, डरधम्कीमा पारेर धन्दामा लगाउने घरधनीविरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरेपछि सीता गोतामेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनका पति भने फरार रहेको बौद्ध प्रहरीका डीएसपी ढुन्डी न्यौपानेले बताए । ‘हामीलाई किशोरीहरू र माइती नेपालको तर्फबाट जाहेरी आएपछि घरधनी महिलालाई पक्राउ गरी हिरासतमा राखिएको छ, म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं, फरारको खोजी भइरहेको छ,’ उनले भने ।

देशभित्रै यो किसिमको मानव बेचबिखन फैलँदो क्रममा रहेको र कोरोना महामारीले गर्दा खासगरी किशोरीहरूलाई करकापमा पार्ने क्रम बढेको अधिवक्ता उमा तामाङले बताइन् । ‘इच्छाविपरीत यौन कार्यमा लगाउन किशोरीहरूलाई बढी उपयोग गरेको पाइन्छ, उनीहरूलाई फकाउन, धम्क्याउन सजिलो हुने भएकाले व्यवसायीको टार्गेटमा छन्,’ माइती नेपालका निर्देशक विश्व खड्काले भने, ‘पहिले खाजापसल, गेस्ट हाउसमा यस्तो हुन्थ्यो, अहिले घरैमा यस्तो अपराध मौलाएको छ ।’ सन् २०२० मा माइती नेपालले मानव बेचबिखनको सिकारमा परेका ६० जनाभन्दा बढीलाई देशका विभिन्न भागबाट उद्धार गरेको तथ्यांक छ ।

प्रकाशित : आश्विन २१, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?